धोबीघाट फोहोर पानी प्रशोधन केन्द्रको काम समयमै सम्पन्न गर्न मन्त्री यादवको निर्देशन
काठमाडौं : खानेपानी मन्त्री प्रदीप यादवले ललितपुरको धोबीघाट फोहोर पानी प्रशोधन केन्द्र निर्माण समयमै सम्पन्न गर्न निर्देशन दिएका छन्।
काठमाडौं उपत्यका खानेपानी लिमिटेडको आयोजना कार्यान्वयन निर्देशनालयअन्तर्गत निर्माणाधीन ललितपुरको धोबीघाट फोहोर पानी प्रशोधन केन्द्रको स्थलगत निरीक्षण गर्दै मन्त्री यादवले परियोजना समयमै सम्पन्न गरी सञ्चालनमा ल्याउनुपर्ने बताए। काठमाडौं उपत्यकामा सहरीकरणसँगै बढ्दै गएकाले फोहोर पानीको व्यवस्थापनका लागि अत्यन्त महत्वपूर्ण परियोजना भएको उनको भनाइ छ।
'फोहोर पानी प्रशोधन केन्द्रहरूको प्रभावकारी सञ्चालनले काठमाडौं उपत्यकामा पानीको गुणस्तर सुधार र वातावरणीय स्वच्छता कायम गर्न महत्वपूर्ण योगदान पुर्याउँछ,' उनले भने, 'यी परियोजनाहरूले वातावरणीय प्रभाव न्यूनीकरण गर्दै जनस्वास्थ्यमा सुधार ल्याउनेछन्।'
परियोजनाहरू समयमै सम्पन्न भए उपत्यकाका मुख्य नदीहरूमा प्रवाह हुने फोहोर पानीको प्रभावकारी व्यवस्थापन हुनुका साथै, स्वच्छता र स्वास्थ्यसम्बन्धी सेवाहरूमा दीर्घकालीन सुधार आउने मन्त्री यादवले बताए। उनले मन्त्रालयले आवश्यक सम्पूर्ण सहयोग उपलब्ध गराउने प्रतिबद्धता जनाउँदै अनुगमनलाई उच्च प्राथमिकतामा राखेर परियोजनाहरूको समयमै कार्यान्वयन सुनिश्चित गरिने बताए।
सरकारले वातावरणीय संरक्षण र जनस्वास्थ्यको सुधारका लागि यस्ता फोहोर पानी प्रशोधन केन्द्रहरूको निर्माणलाई निरन्तर प्राथमिकतामा राखेको मन्त्री यादवको भनाइ छ। उनले निर्माण कम्पनीहरूलाई जिम्मेवारी निष्ठापूर्वक पालना गर्दै तोकिएको समय सीमाभित्र काम सम्पन्न गर्न समेत निर्देशन दिए।