खानेपानी मन्त्री यादव र भुटानी ऊर्जा तथा प्राकृतिक स्रोत मन्त्री छिरिङबीच भेटवार्ता

खानेपानी मन्त्री यादव र भुटानी ऊर्जा तथा प्राकृतिक स्रोत मन्त्री छिरिङबीच भेटवार्ता

काठमाडौं : नेपालका खानेपानी मन्त्री प्रदीप यादवसँग भुटानका ऊर्जा तथा प्राकृतिक स्रोत मन्त्री ल्योन्पो जेम छिरिङले आज शिष्टाचार भेट गरेका छन्।

‘इन्टरनेसनल सेन्टर फर इन्टिग्रेटेड माउन्टेन डेभलपमेन्ट’द्वारा आयोजित दोस्रो हिन्दूकुश हिमालय मन्त्री स्तरीय शिखर सम्मेलनमा सहभागी हुन् नेपाल आइपुग्नु भएका मन्त्री छिरिङले खानेपानी मन्त्री यादवसँग आज सिंहदरबारस्थित मन्त्रालयमा शिष्टाचार भेट गर्दै विभिन्न विषयमा विचार विमर्श गरे।

भेटका क्रममा मन्त्री यादवले नेपाल र भुटानबीच प्राचीन सामाजिक-सांस्कृतिक सम्बन्ध रहेको बताउँदै भूपरिवेष्टित हिमाली भूगोल, विकास चुनौती र जलवायु परिवर्तनका साझा मुद्दाहरूमा सहकार्यको सम्भावना औंल्याए। 'दुवै देशले पानी प्रशोधन र ढल व्यवस्थापनको क्षेत्रमा प्रभावकारी अनुभव र प्रविधिहरू आदानप्रदान गर्न सक्छन्,' उनले भने। उनले दुवै देशले पानीको नोक्सानी घटाउने, पानी प्रशोधन प्लान्ट र ढल प्रणाली सञ्चालनमा प्राविधिक सीप आदानप्रदान गर्ने संयुक्त कार्यक्रमको महत्त्वमा जोड दिए।

यसै सन्दर्भमा मन्त्री यादवले पानीको गुणस्तर अनुगमन र नदी तथा खोलामा प्रदूषकहरूको मूल्याङ्कन गर्ने संयुक्त कार्यक्रमहरू सञ्चालन गर्न नेपाल र भुटानबीच सहकार्य हुनुपर्ने बताए। उनले विशेष गरी ग्रामीण क्षेत्रमा सौर्य ऊर्जाबाट चल्ने पानी प्रशोधन प्रणाली र गुरुत्वआधारित प्रविधिहरूजस्ता कम लागतका समाधानहरू प्रवर्द्धन गर्न सहकार्यको प्रस्ताव राखे।

भुटानले वातावरणमैत्री ढल व्यवस्थापनमा गरेको प्रगति प्रशंसा गर्दै मन्त्री यादवले यस क्षेत्रका दिगो प्रविधिहरू नेपालमा पनि भित्र्याउन सकिने जिकिर गरे। उनले ढलबाट बायोग्यास उत्पादनजस्ता विधिहरूबाट दुवै देशले नवीकरणीय ऊर्जामा योगदान गर्न सक्ने सम्भावना औंल्याए।

भुटानी मन्त्री छिरिङले नेपाल र भुटानबीचको व्यापार सिधा हुनुपर्नेमा जोड दिँदै भारतको बाटो हुँदै व्यापार गर्दा भुटानी उत्पादन महँगो हुने गरेको उल्लेख गरे। उनले नेपालमा भुटानको चामल र आलु लोकप्रिय भएको तर महँगो पर्ने समस्या समाधानका लागि सिधा व्यापारको आवश्यकता औंल्याए। उनले धार्मिक पर्यटनमा भुटानी नागरिकलाई नेपाल भ्रमणका लागि सहजता प्रदान गर्नुपर्ने धारणा राखे।

नेपालको जलविद्युत् विकास, पर्यापर्यटन, र स्वच्छ पानी व्यवस्थापनको क्षेत्रमा भुटानसँग सहकार्य गर्ने प्रस्ताव राख्दै मन्त्री यादवले भुटानी अनुभवबाट नेपालले महत्त्वपूर्ण पाठ सिक्न सक्ने बताए। भेटका क्रममा भुटानी मन्त्री छिरिङले नेपाल र भुटानको पर्यटन र जलस्रोत क्षेत्रको प्रवर्द्धनका लागि सहकार्य गर्नुपर्नेमा जोड दिए र भ्रमणको निम्तो पनि दिए।

भुटानको अति कम विकसित राष्ट्रबाट स्तरोन्नतिको सफल यात्राका लागि मन्त्री यादवले भुटानी समकक्षीलाई बधाई ज्ञापन गर्दै, भुटानको अनुभवले नेपाललाई प्रेरणा दिने विश्वास व्यक्त गरे।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.