उत्तरी गोरखामा घर र बिजुली प्रशारण लाइन पहिरोले लग्यो
गोरखा : अबिरल वर्षापछि आएको पहिरोले उत्तरी गोरखाको चुमनुब्री २ स्योमा एक घर बगाएको छ । शनिबार बिहान सात बजेतिर आएको पहिरोले स्यो रिपगाउँका छिरिङ लामाको घर बगाएको वडाअध्यक्ष मिङ्ग्यूर दोर्जे लामाले जानकारी दिए ।
पहिरोले घरभित्र रहेका सबै सामग्री पनि लगेको उनले बताए । त्यस्तै ल्हो र स्यालाको बीचमा झरेको पहिरोले विद्युत प्रशारण लाइनका चारवटा पोल र तार पनि क्षतिग्रस्त बनाएको छ । शुक्रबार साँझतिर पहिरोले पोल ढलाएपछि विद्युत प्रशारण लाइन अवरुद्ध बनाएको अध्यक्ष लामाले बताए । विद्युत अवरुद्ध भएपछि ल्हो, स्यो, ल्ही, स्याला र हिनाङका दुईसय भन्दा धेरै घरधुरी अन्धकारमा बस्न बाध्य भएका उनको भनाइ छ ।