झापाको मेचीनगरमा चाइनिज लसुन र सुपारी बरामद गर्न खोज्दा विवाद
![झापाको मेचीनगरमा चाइनिज लसुन र सुपारी बरामद गर्न खोज्दा विवाद](https://annapurnapost.prixacdn.net/media/albums/Untitled-1_UZvM1UbVf3_miI2d2mH7h.jpg)
झापा : पूर्वी नाका झापाको मेचीनगरस्थित सतीघट्टादेखि बाहुण्डाँगीहुँदै तिरिङ पुग्नेसम्मका नाकाहरूबाट खुलेआम तस्करी हुने गरेको छ।
सो नाकाहरूबाट ठूलो परिमाणमा चाइनिज लाइटर, सुख्खा सुपारी, लसुन भारत निकासी भइरहेको छ भने लत्ताकपडा, हार्डवेयर, मोटरपार्टस, मोबाइल पार्टस्, इलेकट्रोनिक्सदेखि खाद्यान्न सामग्रीहरू भन्सार छलेर दिनहुँ नेपाल भित्रिरहेको स्रोतको दाबी छ।
प्रहरीकै सेटिङमा भारत निकासी हुन लागेको सुक्खा सुपारी र चाइनिज लसुन सशस्त्र प्रहरी बल नेपाल नम्बर २ गणबाट इन्स्पेक्टर दिवस न्यौपाने नेतृत्वमा खटिएको एलआरपीको टोलीले बुधबार साँझ ५ बजेर १० मिनेटमा बरामद गरेको थियो।
मेचीनगर नगरपालिका–६ काँकडभिट्टास्थित मेचीडाँडामा भारत लैजाने प्रयास गर्दै गरेको लसुन र सुपारी सशस्त्रले बरामद गर्न खोज्दा विवाद भएको थियो।
सशस्त्र स्रोतका अनुसार कुमार लिम्बु भान्जाको गोदामबाट दुई वटा सिटी सफारीमा सुपारी र लसुन लोड गरी मेचीडाँडा पुर्याएर अनलोड गरिरहेका थिए। त्यही बेला गणको एलआरपी टोली त्यहाँ पुगेपछि सिटी सफारी चालकहरू सामान छाडेर भागेका थिए। सो सामान सशस्त्रले बरामद गर्न खोज्दा त्यहाँका स्थानीयहरूले सशस्त्रमाथि हातपात गर्न खोज्दा विवाद भएको सशस्त्र प्रहरी बल नेपाल नम्बर २ गणका एसपी कवीन्द्र राईले जानकारी दिए।
सशस्त्रमाथि छुरा हान्न खोज्दा विवाद भएको विषयमा जिज्ञासा राख्दा एसपी राईले भने, ‘महिलाहरू हातपात चाहिँ गर्न खोजेको हो, भीडमा अरू के के भयो त्यो रिपोर्टिङ आफूलाई प्राप्त भएको छैन।’ सामान बरामद गरी सशस्त्रले ल्याएको उनले बताए। सशस्त्रले डेढ लाख मूल्य बराबरको सामान बरामद गरेको थियो।
गत फागुन १९ गते मेचीनगर–७ स्थित नेपाल–भारत सीमानजिकको गैरीगाउँमा स्थानीय र सशस्त्र प्रहरीबीच खुकुरी हानाहान भएको थियो। भारतबाट भन्सार छलेर ल्याइएको लत्ताकपडा बरामद गर्न खोज्दा खुकुरी प्रहारबाट सशस्त्र र केही स्थानीय घाइते समेत भएका थिए। पटक पटक सशस्त्रमाथि धारिलो हतियार प्रहारका घटना भइरहँदा पनि तस्करी गतिविधि रोक्नुको साटो उल्टै मौलाउँदै गएको छ।
असोज १९ गते बिहानको राती २ बजेतिर लसुन बोकेर भारततर्फ जाँदै गरेकी मेचीनगर–७ गैरीगाउँ बस्ने भुवन खरेलकी श्रीमती अन्दाजी ३५ वर्षीया हिमा पोखरेल खरेलको अकालै मृत्यु भएको छ। मेची नदीले बगाउँदा उनको मृत्यु भएको थियो। उनले जिरे लिम्बुको लसुन बोकेर भारत जाँदै थिइन्। सो घटना प्रहरी र कारोबारीले परिवारसँग भित्रभित्रै मिलाउँदा बाहिरै आएन।
सशस्त्र प्रहरी नम्बर १ बाहिनीका प्रमुख सशस्त्र प्रहरी नायब महानिरीक्षक (डीआइजी) अञ्जनीकुमार पोखरेलको सरुवा भई डीआइजी शम्भु सुवेदीले पूर्वको कमान्ड सम्हालेदेखि नै मेचीनगरका विभिन्न नाकाबाट तस्करीको लाइन खुलेको हो। सो नाकाहरूबाट चाइनिज लाइटर, सुख्खा सुपारी, लसुन भारत लगे बापत मोटो रकमको लाइन चौकी, इलाका, जिल्लादेखि प्रदेश प्रमुखसम्मलाई दिइएको छ।
चाइनिज लाइटर, सुख्खा सुपारी, लसुनको काम गर्नेहरू जिरे लिम्बु, राम राई, कुमार लिम्बु, अम्बर पराजुली, उमेश श्रेष्ठ, राजन खड्का, रञ्जित कट्टेल र श्याम थापा रहेका छन्। ‘उनीहरू सबै मिलेर दिनमा तीनदेखि चार कन्टेनरसम्म काम गर्दो रहेछ,’ स्रोतले भन्यो, ‘काम गरे बापत मासिक ५० हजारदेखि चार लाखसम्मको लाइन खर्च तिरेको रहेछ।’ मेचीडाँडामा दिनभरि सुपारी, लसुन र लाइट ल्याएर थुपारिन्छ। ‘राती भएपछि सुरु हुन्छ भारत पठाउने काम,’ उनले थपे।
सशस्त्रले कडाइ गरेको जिज्ञासामा उनले भने, ‘अहिले बाहुण्डागीमा रहेका सशस्त्रका इन्स्पेक्टरले सबै जनाको कामको जिम्मा लिएको रहेछ, नेपाल प्रहरी त पहिलादेखि नै मिलेकै हो।’
सशस्त्र एसपी राईसँग मेचीनगरबाट चाइनिज लाइटर, सुक्खा सुपारी, लसुनको व्यापक तस्करी भइरहेको छ भन्ने बारेमा जिज्ञासा राख्दा उनले भने, यस बारेमा आफूलाई थाहा छैन, ‘तुरुन्तै काँकडभिट्टा गुल्म इन्चार्ज डीएसपीलाई सो बारेमा जानकारी गराएर त्यस्ता अवैध गतिविधि रोक्छु।’
गणबाट असई राजकुमार म्याङबोलाई सादा पोसाकमा खटाइएको छ। असई म्याङबो ६ महिनादेखि सादा पोसाकमा खटिए पनि अवैध गतिविधि भने रोकिएको छैन। उल्टै तस्करहरूलाई सहज चाहिँ भएको छ।
साथै गैरीगाउँ, मेचीडाँडा, मेची पुल लगायतको क्षेत्रबाट लत्ताकपडा, हार्डवेयर, मोटरपार्टस, मोबाइल पार्र्टस, इलेकट्रोनिक्स र खाद्यान्न सामग्रीहरू भित्रिरहेको छ। काँकडभिट्टा भित्राउन सो सामान धुलाबारी, बिर्तामोड, दमक र इटहरीसम्मका बजार सम्म पुर्याइन्छ।
प्रतिक्रिया दिनुहोस !
![Unity](https://annapurnapost.prixacdn.net/static/assets/images/unity-logo.png)