साझा दसैं
दसैंको महत्व र पहिचान आफ्नै छ। यो चाड हिन्दु धर्मको मात्र होइन। हो, ऐतिहासिकता रूपमा दसैं हिन्दुकै चाड थियो तर समयक्रमसँगै दसैं आम नेपालीको चाड बनिसकेको छ।
देश विदेश जहाँ भए पनि नेपालीले दसैं भव्यताका साथ मनाउने गरेका छन्। दुई जना मात्रै छन् भने पनि नेपालीले दसंै मनाउने गर्छन्। दसैंमा भेटघाटको विषयले निरन्तरता पाएको छ। बाध्यताबाहेक टाढाटाढा आउने प्रचलनमा कुनै कमी भएको जस्तो लाग्दैन।
विदेशमा रहेका नेपाली समेत दसैंको मौका छोपी गाउँघर आउने चलनमा कुनै कमी छैन। हो, केही बाध्यताले दसैं मुखमा विदेश गएका होलान तर त्यो दसैं नमनाउने भनेर गएका होइनन्। परिस्थीतिले दसैंको बेला उनीहरू बिदेसिनु परेको हो। उनीहरूलाई रोजगारीको लागि बाध्यतावस पो दसैंको मुखमा बाहिर गएका हुन् त उनीहरूमा दसैंप्रति उत्तिकै आस्था र विश्वास छ नि !
दसैंमा आफूभन्दा ठूला मान्यजनको टीका लगाउने परम्परा रहँदै आएको छ। दसैंमा आफ्ना नाता कुटुम्ब ठूला बडा र मान्यजनबाट टीका तथा जमरा लगाउने गरिन्छ। ठूलाबडाबाट आशीर्वाद प्राप्त गर्ने चलन छ। त्यस्तै नयाँ–नयाँ कपडाहरू लगाउने, आफ्नो क्षमताअनुसार मिठो खाना खाने–ख्वाउने गरिन्छ। यो चलनले नेपालीको बीचमा आत्मिय भावना सिर्जना गर्छ।
टीका नलगाउनेहरू पनि दसैंबाट टाढिएका छैनन्। उनीहरूले पनि आफ्नै तरिकाले दसैं मानिरहेका छन्। टीका नलगाउलान तर दसैं भने मनाउँछन नै। उनीहरू पनि दसैंमा भेटघाट गर्न एकै ठाँउ भेला हुने नै गर्छ, गाउँघर फर्किन्छन् । दसैंप्रति उनीहरूको पनि सद्भाव, विश्वास र आस्था उत्तिकै मैले देखेको छु। मनाउने तरिका फरक–फरक छ तर सबै नेपाली दसैं मनाउँछन्। अर्थात् सत प्रतिशत नेपालीले दसैं धुमधामका साथ मनाउँछन्।
दसैंको महत्व र पहिचान आफ्नै छ। यो चाड हिन्दु धर्मको मात्र होइन। हो, ऐतिहासिकता रूपमा दसैं हिन्दुकै चाड थियो तर समयक्रमसँगै दसैं आम नेपालीको चाड बनिसकेको छ। दसैं नमनाउने नेपाली कोही नै छैनन् जस्तो मलाई लाग्छ। पछिल्लो समयमा दसैंको रूप मात्रै फेरिएको छ। विकास र सूचना प्रविधिबाट कोही पनि अलग रहन सक्दैन। विकास र सूचना प्रविधिले दसैंको रूपमा केही परिवर्तन गर्दै लगेको हो। रुपमा मात्रै परिवर्तन भएको हो। दसैंमा मनाउनेको कमी भएको होइन।
दसैंलाई धार्मिक रूपमा मात्रै हेरिनु हँुदैन, त्यसलाई विस्तृत रूपमा हेरिनुपर्छ।। एउटै धर्मको चाडभन्दा तिक्तता हुन्छ, कहिलेकाहीँ त्यस्तो भएको पनि सुनिने गरेको छ। मैले भनिसकेको छु। दसैं एउटै धर्मको चाड नभएर आम नेपाली चाड भइसकेको छ। यसको फरक पहिचान र परिचय बनिसकेको छ। दसैंको सामाजिक महत्व उत्तिकै छ। धार्मिक, सामाजिक, सांस्कृतिक रूपमा दसैं नेपालीहरूका लागि महत्वपूर्ण बनेको छ।
दसैं हर्ष एवं उल्लास तथा विजयको पर्व हो। यो चाडले आम नेपालीमा सद्भाव कायम गरेको छ। दसैं महत्वमा कुनै कमी आएको छैन्। आउन पनि दिनु हुँदैन्। यसले आम नेपालीलाई एकताको सुत्रमा बाँधेको छ। नेपालीलाई एकताको सूत्रमा बाँध्ने यो चाडलाई अझ बृहत् बनाउँदै लैजानुपर्छ।
- गुरुङ, त्रिविवि जनसंख्या अध्ययन केन्द्रीय विभागका प्रमुख हुन्।