साधनाको पर्व दसैं
यो साधनाको पर्व हो। नवरात्रिमा गरिने साधनाले आफूलाई बुझ्ने, चिन्ने र जान्ने शक्तिको प्राप्ति हुन्छ।
विजयादशमी, बडादसैं, दसैं। नेपालीहरूले धुमधाम साथ मनाउने शारदीय दसैं इतिहासको कुन कालखण्डमा कहिलेदेखि चल्दैआयो ? यकिन गर्न गाहे छ। तर, एउटा कुरा सत्य हो, मानिस होस् या दानव। या, देवता नै किन नहुन। सबैलाई शक्तिको आवश्यकता पर्छ। शक्तिबिना जीवनको कल्पना पनि गर्न सकिन्न। बिनाशक्ति, तेज, बल, पुरुषार्थ शरीर त रहला। तर, जीवन्तता रहन्न। जीवन्त जीवन नै सार्थक जीवन हो।
जहिलेदेखि यस पृथ्वीमा मानिसको उद्भव भयो, त्यही बेलादेखि नै शक्तिको आभ्यन्तरिक कामना मनुष्यको स्वभाव बनेर आएको कुरामा कुनै शंका छैन। विभिन्न देवीदेवता, मठ–मन्दिर, गुम्बा–विहार, पूजास्थल–साधनास्थलको परिकल्पना यसैगरी हुँदै आएका हुन्।
देवताहरूको संगठित शक्ति नै महाशक्ति दुर्गा हुन्। चन्द्रमासअनुसार आश्विनशुक्ल पक्षको प्रतिपदादेखि दशमीसम्म शक्तिको उपासना गर्ने प्रक्रियालाई दसैं भनिन्छ। यो साधनाको पर्व हो। नवरात्रिमा गरिने साधनाले आफूलाई बुझ्ने, चिन्ने र जान्ने शक्तिको प्राप्ति हुन्छ। बाह्य रूपको साधनामा दीप, गणेश एवं घटको स्थापना तथा जमराको रोपण गरी ९ दिनसम्म नियमित पूजाआजाको क्रियाकर्म पर्दछ। आन्तरिक रूपको साधनामा ती सारा कुरालाई हृदयरूपी अन्तस्करणमा विराजमानी तुल्याइ आफ्नो आराध्यप्रतिको निष्ठा, भक्तिलाई सदैव उजागर तुल्याउने शक्तिआर्जन नै अभीष्ट बनेको हुन्छ।
वर्षमा चारवटा विशेष रात्रि पर्छन। भदौमा भगवान् श्रीकृष्णको जन्म भएको रात्रि कृष्णाजन्माअष्टमी, जसलाई मोहरात्रि पनि भनिन्छ। दोस्रो, असोजमा पर्ने नवरात्रि। यस रात्रिलाई साधकले शक्ति र सार्मथ्य प्राप्तिका लागि विशेष महत्वपूर्ण रहन्छ। तेस्रो, कात्तिकमा पर्ने ऐश्वर्यसँग सम्बन्धित लक्ष्मीपूजाको रात अथवा सुखरात्रि। चौथो फागुनमा पर्ने मोक्षसँग सम्बन्धित भगवान् शिवको रात अथवा शिवरात्रि। यी चारै रात्रि अन्धकारबाट उज्यालोतर्फ मानिसलाई अघि बढ्न प्रेरित गर्छन्। मानिसको जीवनमा अत्यधिक महत्व राखेका हुन्छन्।
पूर्व–मेचीदेखि पश्चिम महाकाली एवं उत्तरको हिमालपारिदेखि तराईसम्ममा मनाइने दशैँमा आ–आफ्नै किसिमका मौलिक छटाहरू हुन्छन। मुलुकको विविधता प्रकृतिमा मात्र होइन, संस्कृतिमा पनि त्यत्ति नै धेरै छन्। ‘अनेकताभित्र रहेको एकता’ ले नै आजसम्म नेपालमा धर्म, जाति, संस्कृतिको नाममा कुनै प्रकारको झैँझगडा छैन। सबै आ–आफ्नो प्रकृति र संस्कृतिअनुसार नङ–मासुझैँ मिलेर टपक्क बसेका छन्।
जब दसैं लाग्छ। वर्षा, गर्मी र धूलोमूलो हट्दै जान्छ। उज्यालो अनि, छ्याङ आकाश हुन्छ। मौसम पनि चिसिँदै जान्छ। बिहानैपख हुस्सुको प्रवेशसँगै मालसिरी धूनमा मन्दिर–मन्दिरमा बाजा–गाजा बज्न थाल्छन। अनि, अर्कै रौनक सुरु हुन्छ। बालबालिकाले लामो छुट्टी पाएकोमा रमाइलो, कर्मचारीहरूको आ–आफ्नै दसैं योजना, उद्योगी–व्यापारीको वर्षमा एक पटक राम्ररी व्यापार–धन्दा फस्टाउने, घरगृहस्थीको दसैंमा आउने पाहुनाका लागि नयाँ–नौलो के देखाउने, के खुवाउने भन्ने चटारो, घर–घर सफा सुग्घर कसरी राख्ने चटारो। देश–परदेश गएकाहरू पनि बल्ल–बल्ल घर सम्झेर आउने चाड। यसैले दसंैको आफ्नै किसिमको धार्मिक, सांस्कृतिक, सामाजिक महत्व छ ।
आश्विन शुक्ल प्रतिपदाको दिन घटस्थापना गरेर सुरु हुने यो पर्व आश्विन शुक्ल पूर्णिमाको दिनसम्म उल्लासमय वातावरणमा मनाइन्छ। आफन्तसँगको भेटघाट, नाता–कुलकुटुम्बसँगको पुनर्मिलन, आफूभन्दा ज्येष्ठ अग्रजहरूको हातबाट टीका एवं आशीर्वाद र उमेर र नाताले कनिष्ठहरूलाई टीका, जमरा र दक्षिणाले स्नेहाशक्ति गर्ने पर्व हो दसैं। घटस्थापनादेखि नवमीसम्म जगज्जननी देवी दुर्गाको विभिन्न स्वरूपहरूको पूजा गरिन्छ। नाता–आफन्तबीच सम्बन्ध नवीकरण हुने दशैको सुखद पक्ष हो। दशैमा टिका लगाउन जाँदा न कुनै पूर्व जानकारी, न कुनै हिच्किचाहट टिका–जमरा प्राप्त गरी सम्बन्धलाई प्रगाढ बनाउन सक्ने क्षमता राख्छ। विश्वमै दुर्लभ पर्व !
विश्वका अनेक देशहरूमा रोजगारी, व्यवसाय, अध्ययन–अध्यापनको सिलसिलामा जति पनि नेपालीहरू गइरहेका छन्, त्यति–त्यति दसैंको अन्तरराष्ट्रिय पहुँच र महत्व बढ्दै गएको छ। यसैकारण दसैंलाई अरू विशिष्टीकृत कसरी गर्न सकिन्छ ? कसरी शालीन र भव्य बनाउन सकिन्छ ? त्यसतर्फ विदेशमा बस्नेले ध्यान दिनुपर्छ।
दसंैको अवसरमा कोही सेतो टीका मन पराउँछन्, कोही रातो। कोही जमरामात्रै ग्रहण गर्छन्। कोही दुवै ग्रहण गर्दैनन्। तर दशैलाई आ–आफ्नै ढंगले मनाउँछन्। कहीँ एक दिनमात्र टीका हुन्छ। कहीँ पूर्णिमासम्मै टीका हुन्छ। आ–आफ्नो रुचि र आस्थाको कुरा हो। गोरखा, लमजुङ, बाग्लुङ, कास्की, गुल्मीतिर बसोबास गर्ने इस्लाम धर्मका अनुयायीहरू पनि दसंैलाई आफ्नै रीतिरिवाजअनुसार मनाउँछन्।
विजयादशमीको वेला ठूला–बडाबाट पाइने आशीर्वादको निकै ठूलो महत्व हुन्छ। द्रोणपुत्र अस्वत्थामाको जस्तो दीर्घायु, दशरथ राजाको जस्तो श्रीसम्पत्ति प्राप्त होस्, भगवान् रामको जस्तो शत्रु नाश हुन्, नहुष राजाको जस्तो ऐश्वर्य, पवनसुत हनुमानको जस्तो गतिशीलता, दुर्योधनको जस्तो मान, सूर्यपुत्र कर्णको जस्तो दानवीरता, हलधर बलरामको जस्तो बल, कुन्तीपुत्र युधिष्ठिरको जस्तो सत्यवादिता, विदुरको जस्तो ज्ञान र भगवान् नारायणको जस्तो कीर्ति प्राप्त होस् भन्नेजस्तो भाव आशीर्वादमा समेटिने अपेक्षा गरिएको हुन्छ।
ठ्याक्कै त्यस्तै नभए पनि समय, परिस्थिति हेरेर त्यस्तै शुभभावका आशीर्वचनहरू मान्यजनले टीका लगाउने वेलामा आ–आफ्नो भाषा र बोलीले प्रदान गर्छन्। वर्षमा एक पटक आउने पर्व त्यसमाथि पनि यस्तो सौभाग्य फेरि पाइने हो वा होइन भन्ने सम्झी मान्यजनले टीकाग्रहण गर्न आउनेहरूलाई अन्तस्करणदेखि नै आशीर्वाद दिनुलाई महानता सम्झिने गरिन्छ। खानेकुरा, दक्षिणा गौण हुन्छन् आशीर्वचनको अघिल्तिर ! शक्तिआराधनाको लागि कुनै समय र साइत कुरेर बस्नु पर्दैन। तथापि शारदीय नवरात्रि शक्तिआराधनाको परमपावन समय मानिन्छ।
हामीले हरेक वर्ष मनाउँदै आएको दुर्गापूजाको लक्ष्य आत्मिक मानवको विकास गर्नु हो। सप्तशतीमा पनि यही चरित्रलाई प्राधान्यता दिई महादुर्गा, महालक्ष्मी एवं महासरस्वतीको उपासनामा जीवनको पूर्ण फलप्राप्ति निहित छ भन्ने संकेत गरिएको छ। यही आत्मशक्तिलाई जगाएर नै मानवले आफ्नो, परिवार, समाज, राष्ट्र र विश्वको कल्याण गर्न सक्ने क्षमता आर्जन गर्न सक्छ। उसका समस्त शक्तिस्रोतहरू त्यहीबाट प्रस्फुटित हुन्छन्। तर यति विशाल र गतिशील लक्ष्य लिएर अघि बढेको हाम्रो शक्ति–आराधना स्वरूपको दुर्गापूजा वा विजयादशमी वा दसैंले रूढरूप लिँदै गएको छ।
संस्कृतिको पक्षलाई छोडेर विकृत बन्दै गएको दुःखलाग्दो पक्ष छ। दसैं भन्नासाथ पशुबली, हिंसा र मारकाट मात्रै सम्झिदिनाले नवरात्रिभित्रको परमपावन साधना कता हो कता ओझेलमा परिरहेको छ। नवरात्रका प्रत्येक दिन चित्तको शोधन र आत्मशोधनका अनुपम मुहूर्त हुन्। आफंैले आफैंमाथि विजय गर्ने साधनाको परमपावन पर्व हो। असल लक्ष्य लिई व्रतानुष्ठान, पुरश्चरण, शास्त्रको आस्वादन, तप आदिका लागि महान् अवसर हो।
तर हामीकहाँ दसैं अहिले अधिकांशका लागि खाने, पिउने, मोजमस्ती गर्ने, पशुबलि गर्ने, मांसभक्षण गर्ने, जुवातास खेल्ने पर्वको रूपमा विकृत बन्दै गएको छ। जुन क्रियाकलापले आत्मोन्नति हुँदैन, चित्तशुद्धि हुँदैन। आत्मसाक्षात्कारको बाधक हुन्छ, त्यसले अपसंस्कृतिलाई मलजल गरिरहेको हुन्छ। सात्विक पूजा–आराधनाले संस्कृतिलाई प्रबद्र्धन गर्छ भने राजसी र तामसीले विकृतिलाई प्रोत्साहन दिएको हुन्छ। जहाँ काटमार र हिंसा हुन्छ, त्यस्तो पूजा तामसपूजाको ज्वलन्त उदाहरण हो । त्यस्तो पूजाले ईश्वरप्राप्ति हुँदैन, आत्मसाक्षात्कार हुँदैन, भगवद्धर्शन हुँदैन भनेर शास्त्रहरूले बताएका छन् ।
स्थिति बदलिएको छ, परिस्थिति परिवर्तन भएको छ, वातावरण फेरिएको छ। दसैंलाई सबै नेपालीको महान् चाड बनाउँदै यसलाई दिव्य बनाउने हो भने केही न केही नवीन कार्यहरू गर्नै पर्ने हुन्छ। नवीन सोच र सुधार गर्दै विकृतिहरूलाई हटाउँदै, घटाउँदै, पन्छाउँदै नौरथाको नौ दिन विद्यार्थी र जिज्ञासुहरूलाई विभिन्न धार्मिक–आध्यात्मिक, विज्ञानसम्मत ज्ञान सिक्ने÷सिकाउने, योग, ध्यान, प्राणायामजस्ता आत्मिक साधना बढाउन मद्दत पु¥याउने अवसरहरू प्रदान गर्नुपर्छ।
यस्तै, नवीन आविष्कार र चेतना अभिवृध्दिका अनेक कार्यहरूलाई प्रस्तुत गर्दै रचनात्मकता, सिर्जनशीलता र मानवीय मूल्य र मान्यताका असल कर्महरूको संबद्र्धन हुने किसिमका आयोजनहरू पनि गर्नेतर्फ ध्यान दिनुपर्छ। साधनास्थलमा एकआपसमा सद्भाव, मैत्री, आत्मीयता बढाउने किसिमका जीवनोपयोगी कार्यक्रमहरू देशभर सञ्चालनमा प्रोत्साहन दिने, शिक्षण संस्थालगायत, त्यससँग सम्बन्धित इन्स्टिच्युट, शैक्षिक संस्था, आध्यात्मिक केन्द्रहरूमा स्वदेशी र विदेशीहरूलाई आकर्षण गर्ने, आत्मिक लाभ हुने किसिमका साधनाका कार्यक्रमहरू दसंैको महत्व, टीका–जमरा आदिको ज्ञान, दसैंलाई अविस्मरणीय के कसरी बनाउन सकिन्छ जस्ता कुराहरू नयाँ पुस्तालाई कसरी हस्तान्तरण गर्ने ? यस विषयमा पनि चर्चा–परिचर्चा आवश्यक भइसकेको छ।
समाजका दिग्गज, बुद्धिजीवीले दसैंमा के–कस्तो साधना गर्छन्, जीवनलाई कसरी बुझेका छन् जस्ता विषयहरू सर्वसामान्यका लागि प्रेरक बन्न सक्छन। तर, हामीकहाँ त्यस्ता विषयहरूभन्दा भिन्न बाहिरी कुराहरू– के खाइयो, के लाइयो जस्ता विषयमै अलमिएको देखिन्छ।
महान् उद्देश्यको प्राप्तिमा पहिले जीवनमा समरसता, दिव्यता, नम्रता, शिष्टता, सात्विकतालाई अवलम्बन गर्नुपर्दछ। तब मात्रै आत्मिक मनुष्यको प्रकटीकरण सम्भव छ। हाम्रो जीवनमा शक्तिको अवतरण आफ्नै प्रयत्नमा छ।शक्ति–आराधनाको यस पावन पर्वको महत्वलाई नबुझेर निरीह पशुपन्छीको रगतले जति रक्तरञ्जित तुल्याउँछौँ, त्यत्ति नै अन्धकारमा हुन्छौं। अज्ञानतामा ग्रस्त हुन्छौं। मानवीयतालाई बुझेका छैनौँ भन्ने अर्थ लाग्छ। पशुको बलिभन्दा हामीभित्र रहेको पशुता हटाउन जरुरी छ।