जुट्दै विपक्षी, साना दल फुट्ने भय

जुट्दै विपक्षी, साना दल फुट्ने भय

काठमाडौं : विपक्षी दलहरू सरकारविरुद्ध एक ढिक्का भएका छन्। सरकारले साना दल विभाजन गर्ने, तर्साउने, धम्क्याउँदै कार्य गरिरहेको भन्दै विपक्षी एकजुट भएका हुन्।  संसद् भवन बानेश्वरमा प्रमुख विपक्षी दल नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले बोलाएको बैठकमा शुक्रबार सबै विपक्षी दल सहभागी भए। 

सरकारले राजनीतिक दल विभाजनसम्बन्धी अध्यादेश ल्याउन लागेको भन्दै विपक्ष दल हच्किएर बैठक बोलाएको देखिएको छ। नेकपा एकीकृत समाजवादीलगायत साना दल विभाजनको लागि एकथरी नेताहरू लागेको चर्चा छ। एकीकृत समाजवादीभित्र महाधिवेशनदेखि नै व्यापक विवाद रहँदै आएको छ। 

त्यसलाई सहजीकरण गर्न सरकारले अध्यादेश ल्याउने तयारी गरेको छ। अध्यादेशमार्फत विगतमा पनि ओलीले सरकार चलाएको भन्दै विपक्षीहरूले त्यसका विरुद्ध व्यापक जनदबाबसमेत सिर्जना गर्नुपर्नेमा एकमत भएका छन्। उनीहरू संगठित रूपमा नै राजनीतिक विभाजनसम्बन्धी अध्यादेशको प्रतिवाद गर्नेमा सहमत भएका छन्।  नेकपा एकीकृत समाजवादीका  वरिष्ठ उपाध्यक्ष राजेन्द्रप्रसाद पाण्डेले साना दललाई कमजोर बनाउन अध्यादेश ल्याए त्यसको प्रतिवाद गर्ने बताए। ‘बेलाबेलामा प्रधानमन्त्रीको बोलेको पनि सुन्ने गरिन्छ। दुईवटा पार्टीमात्रै रहनुपर्छ भनेर हामीले संविधान बनाउँदा दुई पार्टी सिस्टमको राज्य व्यवस्था बनाएका थिएनौं,’ उनले भने, ‘त्यो संविधानको बर्खिलापमा अध्यादेश ल्याएर साना दलहरूलाई कमजोर बनाउन टुक्र्याउने भूमिका हुन खोज्दै छ भन्ने चर्चा छ। त्यसको विरोध गर्छौं। उनले साना दललाई फुटाउन अध्यादेश ल्याउन गतिविधिबारे के हो भनेर प्रधानमन्त्रीलाई ध्यानाकर्षण गराउने पनि बताए। पाण्डेले सरकारलाई खबरदारी गर्नको विपक्षीको बैठक बसेको जानकारी दिए। 

बैठकमा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको पक्राउ गर्ने विषय पनि उठेको थियो। तर यो समाचार तयार पार्दासम्म लामिछाने पक्राउ परिसकेका छन्। संक्रमणकालीन न्यायसम्बन्धी छलफल गर्न बिहीबार बालुवाटारमा बसेको शीर्ष तीन दलको नेताको बैठकमा पनि प्रचण्डले लामिछानेको विषय उठाएका थिए। संसदीय छानबिन समितिको प्रतिवेदन कार्यान्वयन हुन्छ, लामिछानेलाई के हुन्छ भन्ने प्रचण्डले प्रधानमन्त्री केपी शर्मा ओलीलाई सोधेको थिए। ओली भनेका थिए, ‘मैले नमान्दा मान्दै तपाईंहरूको नै जोडबलमा होइन संसदीय समिति बनेको, म त यो समिति बनाउने पक्षमा नै थिइनँ नि, समिति बनेर काम गरिसक्यो, अब  समितिले दिएको सुझावअनुसार त हुनै परेन र, समितिले जे भनेको छ, त्यही हुन्छ।’ यही विषयको खुलासा पनि प्रचण्डले विपक्षी दलकै बैठकमा गरेका थिए। 

माओवादी केन्द्रमा उपमहासचिव शक्तिबहादुर बस्नेतले शीर्ष नेताको बिहीबारको बैठकमा अध्यक्ष प्रचण्डले यो विषयमा कुरा उठाएको बताए। ‘यसलाई हामीले गम्भीरतापूर्वक उठाइरहेका छौं। हिजो अध्यक्षले प्रधानमन्त्री र गृहमन्त्रीसमक्ष पनि राख्नुभएको थियो,’ उनले भने। बैठकमा बाढीपहिरो, डुबान पीडितको समस्यामा सरकारको ध्यान नदिएको विपक्षीको आरोप छ। केही दिनमा नै यस विषयमा सरकारलाई ज्ञापनपत्र दिने भएको पाण्डेले जानकारी दिए।  

सरकार असफल 

विपक्ष दलको बैठकले सरकार तीन महिनामा नै असफल भएको निष्कर्ष पनि निकालेको छ। सुशासनको विषयमा सरकार चुकेको विपक्षीहरूको आरोप छ। 

एकीकृत समाजवादीका उपाध्यक्ष पाण्डेले विभिन्न काण्डमा मुछिएका व्यक्तिसँग सहयोगमा पार्टी कार्यालय बनाउन  सहयोग लिनुमा आशंका भएको  बताए। ‘विभिन्न प्रकरणमा मुछिएका मान्छेसँग प्रधानमन्त्रीले आफ्नो पार्टीको भवन निर्माणका लागि ठूलो धनराशि त्यसै स्वीकार गर्ने काम भएको छैन। त्यहाँ कुनै सौदाबाजी भएको छैन भन्न सक्ने अवस्था छैन’, उनले भने।

कांग्रेस एमाले नेतृत्वको सरकार बनेको तीन महिनामा मात्रै भएको छ। विपक्ष दलसँग एकतिहाइ संख्या पुग्नसमेत हम्मे छ। २ सय ७५ सदस्यीय प्रतिनिधिसभामा प्रमुख विपक्ष दल माओवादी केन्द्रको ३२, रास्वपाको २१, राप्रपाको १४, नेकपा एकीकृत समाजवादीको १० र आम जनता पार्टीको १ सिट गरी ७८ सिट छ। 

यसैबीच, बैठकले नेकपा एकीकृत समाजवादीबाट राजेन्द्रप्रसाद पाण्डे, माओवादीबाट  शक्तिबहादुर बस्नेत र रास्वपाबाट शिशिर खनाल रहेको तीनदलीय संयन्त्र गठन पनि गठन गरेको छ। 

बैठकमा रास्वपा सभापति रवि लामिछाने, उपसभापतिद्वय स्वर्णिम वाग्ले र डोलप्रसाद अर्याल, सांसदहरू विराजभक्त       श्रेष्ठ, सुमना       श्रेष्ठ र शिशिर खनाल सहभागी थिए। बैठकमा माओवादीका अध्यक्ष प्रचण्ड र उपमहासचिव शक्तिबहादुर  बस्नेत तथा नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल, राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देन, आजपाका अध्यक्ष प्रभु साह सहभागी थियो।  

 लोसपा र नाउपा पनि 

विपक्षी दलको बैठकमा सत्तारूढ लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) र नागरिक उन्मुक्ति पार्टीका नेताको सहभागिता रहेको थियो। लोसपाका अध्यक्ष महन्थ ठाकुर र नाउपाका अध्यक्ष रञ्जिता चौधरीको बैठकमा सहभागिता थियो। लोसपाबाट ओली सरकारमा       श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री शरतसंह भण्डारी छन् भने नाउपाबाट संस्कृति पर्यटन तथा नागरिक उड्डयन अरुण चौधरी छन।।  लोसपाले बैठकमा झुक्याएर बोलाएको बताएको छ।  प्रचण्डकी स्वकीय सचिव एवं छोरी गंगा दाहालले प्रचण्डको फोनमार्फत ठाकुरलाई बोलाएकी थिइन्।  महासचिव सुरेन्द्र झाले  झुक्किएर अध्यक्ष ठाकुर विपक्षी दलको बैठकमा पुगेको बताए। 
 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.