दसैं गयो, गाउँ चकमन्न
गोरखा : दसैं आयो, केटाकेटी आए, गाउँ भरिभराउ भयो। दसैं गयो, केटाकेटी पनि गए, गाउँ सुनसान भयो। आरुघाट गाउँपालिका–३ स्याम्राङको अवस्था मात्र यस्तो होइन। नेपाली गाउँबस्ती सबैतिरको साझा दृश्य हो यो।
चाडबाडमा बालबालिकाले गाउँ भरिँदा गाउँको शोभा बढ्ने स्थानीयको भनाइ छ। ‘दसैं आउँछ, सहरबजारतिर पढ्न गएका केटाकेटीहरू लर्कन लाएर गाउँघर फर्किन्छन्। जताततै बालबालिका खेलेको, गाएको, नाचेको देखिन्छ। बुढाबूढीहरू पनि नातिनातिनासँग हाँस्न, बोल्न, खेल्न पाउँदा दंग हुन्छन्। गाउँघरको रुपरङ नै फेरिन्छ’, स्याम्राङका कुमार गुरुङ भन्छन्, ‘अब दसैं सकियो, केटाकेटी फेरि लर्कन लाएर सहर झर्न थालिसके। अब गाउँघर सुनसान हुन थालिसक्यो। अब फेरि उही चकमन्न।’ बालबालिका घरको मात्रै नभइ गाउँकै शोभा भएको भन्दै उनले बालबालिका नहुँदा गाउँको शोभा पनि नभएजस्तो हुने बताए।
कुल १ सय १९ घरधुरी रहेको स्याम्राङमा पाँच कक्षासम्म सञ्चालित आधारभूत विद्यालय छ। त्यहाँ जम्मा २९ जना मात्र विद्यार्थी छन्। गाउँमा बालबालिकाको संख्या नै कम भएकाले विद्यालयमा कम बालबालिका रहेको प्रधानाध्यापक निरबहादुर खड्काको भनाइ छ।
नेपालका अरू गाउँमा जस्तै यहाँका बालबालिका पनि सहरमा पढ्न जान्छन्। ‘बुबा कोही जागिरमा जान्छन्, कोही वैदेशिक रोजगारीमा जान्छन्। उनीहरूले बुढा बुवाआमालाई मात्र घरमा राखेर आफ्नी जहान र छोराछोरीलाई सहरमा डेरा गराएर राख्छन्’, स्थानीय मदन अधिकारी भन्छन्, ‘गाउँमा त मेलापात, ज्याला मजदुरी गर्नेका छोराछोरीहरू मात्र पढ्छन्।’ सयभन्दा धेरै घरधुरी भएको स्याम्राङमा कुनै–कुनै घरमा मात्र बालबालिका देख्न पाइने उनको भनाइ छ।
गाउँ नै मेलापात, ज्याला मजदुरी गर्नेहरूले धानेको वडाअध्यक्ष टेकबहादुर अधिकारीको भनाइ छ। ‘यहाँका प्रायजसो युवाहरू वैदेशिक रोजगारीमा छन्। अलिअलि कमाइ हुनेहरू सके बसाइँ सरेर सहर जान्छन्, नसके पनि डेरा लिएर सहरतिरै बस्छन्’, अधिकारी भन्छन्, ‘गाउँघर त उही खेती किसानी गर्ने, मेलापात गर्ने, ज्याला मजदुरी गर्नेहरूले मात्र धानेर राखेका छन्।’ यहाँका बालबालिका अधिकांश आरुघाट र आर्खेतमा र केही गोरखा बजार, केही काठमाडौं, चितवनमा पढ्न बसेको उनको भनाइ छ।