देउडा गीतले देखाएको सांस्कृतिक बाटो

देउडा गीतले देखाएको सांस्कृतिक बाटो
फाइल तस्बिर।

सुदूरपश्चिम र कर्णालीको माटोबाट उत्पत्ति भएका देउडा गीतले मानव सम्पदालाई पनि उजागर गरेको पाइन्छ। ढुंगेयुगदेखिको मानव विकासक्रमलाई देउडा गीतले सुषुप्त रूपमा व्याख्या गरेकाले सभ्यता र संस्कारका गीत पनि हुन् देउडा गीत। रामायण र महाभारतका कथासँग पनि देउडा गीतको साइनो जोडिएको पाइन्छ भन्ने उदाहरण यो गीतले दिन्छ ः 

रामज्यूको ससुराली जनकपुर धाम
सीतालाई हरेर लान्या रावणको काम। 

नेपाल र भारतको सुमधुर सम्बन्ध मात्र नभएर कूटनीतिक सम्बन्ध पनि राम र सीताको जोडीले देखाएको पाइन्छ भने देहायको गीतले मानव सभ्यतालाई परिचित गराएको पाइन्छ :

काँचै मासु खान्या रै’छन् हाम्रा पुर्खा पनि 
नांगैभुंगै बस्न्या चलन हिमालका मुनि। 

हो, मानवशास्त्रीय दृष्टिकोणले हामी बाँदरका सन्तान रहेछौं। जो काँचो मासु खाने, ओडार, हिमालको काखमा रात बिताउने, रुखका बोक्रा लगाएर शरीर ढाक्ने रहेछन् भन्ने बोध गराउँछ माथिको गीतले। अब आउँछ गीत पहिले जन्मिए कि मानव सभ्यता ? यो प्रश्न पंक्तिकारले २०३७ सालमा बझाङका साहित्यकार एवं बुद्धिजीवी भक्तबहादुर खड्कालाई सोधेको थियो। प्रत्युत्तरमा उनले मानव सभ्यतासँगै देउडा गीतको पनि उत्पत्ति भएको मान्न सकिन्छ भन्ने तर्क दिएका थिए। सोही प्रश्न प्राज्ञ रत्नाकर देवकोटालाई पनि २०४१ सालमा दाङ जाने क्रममा सोधेको थिएँ, देवकोटाले पनि खड्काको जस्तै मिल्दोजुल्दो राय दिएका थिए।

देउडा गीतको इतिहाससम्बन्धी लेखरचना कहींकतै नभेटिएकाले यी गीतहरू श्रुतिप्रधान छन्। पुराना पिँढीका पाका व्यक्तिका कथन, अनुभव र उहाँहरूले पनि अझ पुराना पिँढीबाट सुनेका आधारमा यी गीतहरूको जन्म भएको मान्न सकिन्छ। मानवजीवनका लागि मनोरञ्जन नभै न हुने साधन हो। त्यसैले पनि मनोरञ्जनका लागि बनमा बस्ने, कन्दमूल खाने, रुखको बोक्राले नांगो शरीर ढाक्ने हाम्रा पुर्खालाई पनि गीत चाहिँदो रहेछ। विकासको क्रमसँगै सुदूरपश्चिमको ढुंगेयुगबाट क्रमिक रूपमा पुस्तापिच्छे अनुभव बटुल्दै पुराना भाकाहरूले संगीतमा ठाउँ ओगटेको पाइन्छ ः

रेशमी रुमालमुनि लाग्याको दाग छ कि 
सुब्राका सुनौली कोल मकन भाग्छ कि ? 

बाल्यकालमा सुनेको अर्थपूर्ण गीत हो यो। हाते रुमालमा प्रेमिकाले प्रेमरूपी चिह्न दाग पो लगाएकी छन् कि ? यस्तो प्रश्न छ। त्यतिमात्र नभएर तिमी बस्ने ठाउँ (सुनौली कोल)मा मलाई पनि भाग छ कि ? बडो सतर्कता अपनाउँदै जिन्दगीसँग तुलना गरिएको गीत हो यो ? साँच्चै कन्दरा र अनकन्टार बस्तीबाट सिंहदरबारस्थित रेडियो नेपालभित्र प्रवेश गराएका यी देउडा भाकाहरू रेडियो नेपालमार्फत देशभरि सुनाउने काम भयो। राजधानीको राष्ट्रिय सभागृह, प्रज्ञाप्रतिष्ठान, टुँडिखेलमा पनि प्रवेश गराएसँगै हालै अमेरिकाका आधुनिक सहरमा पनि जतनका साथ पु¥याइएको छ। देउडा गीतले देखाएको सरल बाटोमा हिँड्दा अवश्य पनि गन्तव्यमा पुग्न सकिन्छ।

तर टुँडिखेलमा संस्कृतिलाई राजनीतीकरण गर्ने मनशायले जम्मा भएका व्यक्तिका हकमा उक्त उपस्थितिले शुभ लक्षण देखिँदैन। समय बदलियो, मानिसको चेतनाको स्तर बदलियो, त्यसैले होला अल्छी, छिट्टै नाम कमाउन सिपालु केही छट्टु देउडा गायक मानिएकाले आफूखुसी पुराना पिँढीका कलाकारले गाएका गीतहरू बंग्याउँदै नयाँ शैलीले गाएको सुनिन्छ। जुन देउडा संगीतको अपमानको बाटो हो।

गाई गोठा वल्लीको घाणो बज्छ किटीकिटी
यो हाम्रो सुनौलो जोवन आईझाऊ रिटीरिटी। 

सुदूर र कर्णाली प्रदेशको भाषा फरक छ। लवाइखवाइ पनि फरकफरक छ। भाषाविद् बालकृष्ण पोख्रेलले भन्नु भएजस्तै एक गाउँबाट अर्को गाउँ जाँदा बोलीको लवज नै फरक पाइन्छ। गोरुलाई यो प्रदेशमा ‘बल्ल’ भनिन्छ, घण्टीलाई ‘घाँणो’, बस्ने ठाउँलाई प्रेमका शब्दमा ‘सुनौली कोल’ भनिन्छ। गीतले हराभरा जिन्दगी ओइलाएर न जावस् जसरी गाईबस्तु बाँध्ने गोठमा बल्लले लगातार घाँणो बजाएर मालिकलाई ब्युँझाइरहन्छन्। यदि समय बितिहाले पनि हाम्रो जिन्दगीमा वसन्त ऋतुले राज गरोस् भन्ने माथिको गीतले कामना गरेको पाइन्छ।

देउडा आदर्श समाजमा गाइने र खेलिने मर्यादित गीत हुन्। सबैलाई स्वीकार्य हुने श्रवणीय र दर्शनीय खेल हुन्। कुनै बेला गीत गाएकोलाई लज्जाबोधका रूपमा लिइन्थ्यो, देउडा खेललाई जातीयताका हिसाबले पतीत मानिन्थ्यो। २०३४ सालमा देउडा गीतले रेडियोमा प्रवेश पाएपछि सञ्चार जगत्ले यी गीतहरू गाउँबस्तीमा पु¥यायो। घरघरका मानिसले अपनत्वबोध गरे। भाँण र वादी जातिको पगरी गुथेका कलाकारलाई देउडा सम्राट्को पदवी दिलाएपछि क्रमिकरूपमा गाउँका कलाकारले अव्यक्त पीडालाई गीत र खेलका माध्यमले बाहिर निकाले।

जनमानसमा गीत र संगीतप्रतिको मोह दिनप्रतिदिन बढ्दै गयो। अनि अग्रजको बाटो पछ्याउँदै स्वरजीवीहरू गीत रेकर्ड गर्नतिर लम्के। गीतका आँसुकविहरू देउडा खेल खेल्न पटांगिनी र खुल्ला चौरतिर लागे। पूरै वातावरण देउडामय भयो। समाज संगीतमय बन्यो। ढुंगेयुगको संस्कृतिले अहिले सभ्य र विकसित सहरका गल्लीगल्लीमा प्रवेश पायो। लागिपरेपछि र गरेपछि न हुने काम केही रहेनछ। त्यसैले पनि देउडा गीत संगीतले देखाएको सांस्कृतिक बाटो मर्यादित छ, अविस्मरणीय छ ः

धानबाली पहेँलो भयो पीपलु छायाले 
त्याँ रैवार पुगन्या हो कि यो मेरा मायाले। 

अहिले शरदकालीन समय हो। गाउँघरका खेतबारीमा जताततै पहेँला धानका बालाहरू लहलहाउँदा छन्। धानका बाला झुलेको देखेर नरमाउने मानिस को होलान् र ? परदेशीले खेतबारीमा धान पाकेको, कोदोले गाना ‘कोदाको डल्ला’ले रूप फेरेको पहेलो घामको बर्कोले ढकमक्कै पृथ्वीलाई छोपेको सम्झेर रैवार (खबर) पठाउँछ, बिहानको बताससँगै। यो मायाको बतास पीपलका पातहरू हल्लेको धानका खेतहरूमा बाला नाचिरहेको दृश्य पुनः परदेशमा ल्याइपु¥याउँछ कि ल्याइपु¥याउँदैन ? दोधारमा छ परदेशी भन्ने आशयको देउडा गीतको शब्द हो माथिको। मानव सभ्यताको क्रमसँगै विस्तारित रूप लिएर केवल देउडामात्र होइन, मारुनी, सेब्रो, झिन्झिया, टप्पा, सालैजो, सोरठी आदि जस्ता मौलिक संस्कृतिको सभ्य तरिकाले सेवा गर्दै जानु नवपिँढीका संस्कृतिकर्मीको इमान्दार कर्तव्य हुन आउँछ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.