सिटामोल लिन ३ घण्टा पैदल

सिटामोल लिन ३ घण्टा पैदल
बिरामीलाई डोकोमा बोकेर अस्पतालतर्फ लैजाँदै स्थानीय । तस्बिर : शिव उप्रेती।

गोरखा : धार्चे गाउँपालिका—७ ठाँटीकी सूर्यमाया गुरुङ गत मंगलबार बिहान घाँस काटेर फर्कंदै गर्दा भीरबाट लडिन्। आफन्ती भेला भएर बोकेर घरमा ल्याए। हात चलाउनै नमिल्ने गरी दुख्यो। धेरै टाढा पर्ने हुँदा स्वास्थ्य संस्था लैजान सम्भव भएन। कुहिनोको जोर्नी फुस्किएको अनुमान गरी तानतुन गरे। तर झन्झन् सुन्नियो। सहनै नसक्ने गरी दुख्यो।

भोलिपल्ट बिहान युवाहरू जमघट भए। डोको काटेर बिरामी बोक्ने साधन बनाए। त्यसपछि आलोपालो गर्दै भीरपहराको बाटो बोकेर उपचारका लागि आरुघाटतिर लगे।

मध्यदसैंका बेला अर्की स्थानीय सन्तमाया गुरुङलाई पनि उस्तै स्वास्थ्य समस्या आइलाग्यो। तीन दिनदेखि आँखा रातो भएर दुख्यो। घरेलु जडीबुटी ओखतीमुलोले नछोएपछि उनी पनि आफन्त साथ लागेर आरुघाटतिर हिँडिन्।

‘गाउँमा सामान्य बिरामी भए पनि उपचार पाइँदैन। हामो वडाको स्वास्थ्यचौकी लापुमा छ। त्यहाँ पुग्न सातदेखि आठ घण्टा हिँड्नुपर्छ’, स्थानीय सूर्यमान गुरुङ भन्छन्, ‘भीरकुनामा गाउँघर क्लिनिक छ। त्यहाँ पुग्न पनि पाँच घण्टा हिँड्नुपर्छ। आरुघाट गाउँपालिकाको स्वाँरा गाउँको गाउँघर क्लिनिक पुग्न तीनघण्टा हिँड्नुपर्छ।’ गाउँमा स्वास्थ्य संस्था नहुँदा ठाँटी गाउँबासीले धेरै दुःख खेप्नु परेको उनको भनाइ छ।

उपचार त परको कुरा, सामान्य स्वास्थ्य समस्या पत्ता लगाउन पनि नसकिने स्थानीयको गुनासो छ। ‘गाउँमा जोरो नाप्ने थर्मोमिटर पनि छैन’, स्थानीय आइतमान गुरुङ भन्छन्, ‘जोरो आयो भने तिम्रो घरमा सिटामोल भए देऊ न भन्दै घरघर चहार्नुपर्छ। ओखतीको म्याद छ कि छैन, मतलव छैन। ट्याबलेट पाए खुसी भएर खानुपर्छ।’ स्वास्थ्य संस्थाको अभावमा गाउँले झाँक्रीको भर पर्न बाध्य भएको उनको भनाइ छ। ‘झाँक्रीको भर नपरे के गर्ने त ? अरू हामीसँग केही त छैन’, उनी भन्छन्, ‘जति सिकिस्त भए पनि चार पाँच दिनसम्म सहँदा सहँदै निको हुन्छ।’

स्वास्थ्यकर्मीले गाउँमा पोलियो थोपा, जुकाको औषधि, भिटामिन ए क्याम्पुल पनि अरूको हातमा पठाउने उनले बताए। ‘जुकाको दबाइ, भिटामिन ए क्याप्सुल भीरकुना हेल्थपोस्टमा जो भेट्यो उसकै हातमा पठाउने रहेछन्’, स्थानीय सुकुमारी गुरुङ भन्छिन्, ‘नियमित गर्भ जाँच गर्न, बच्चालाई नियमित खोप लगाउन पनि तीन, चार घण्टा हिँडेर स्वाँरा जानुपर्छ।’ गाउँमा र गाउँ नजिकै स्वास्थ्य चौकी र बर्थिङ सेन्टर नहुँदा सुत्केरी हुने महिना आएपछि गोरखा बजार अथवा आरूघाट बजारमा डेरा लिएर बस्ने गरेको उनको भनाइ छ।

ठाँटीगाउँ नजिकै अरू गाउँबस्ती छैनन्। वडाको केन्द्रबाट पनि यो धेरै टाढा पर्छ। मतदान गर्न पनि यहाँका मतदाता छन्, सात घण्टा पैदल हिँडेर जाने गर्छन्। जम्मा २१ घरधुरी रहेको यसलाई सडक सञ्जालले जोडेको छैन। कक्षा दुईसम्म मोबाइल नेटवर्क पनि अत्यन्त कमजोर हुँदा सञ्चार सुविधा पनि सहज छैन। थोरै घरधुरी र जनसंख्या कम भएकाले सेवासुविधाबाट वञ्चित हुनुपरेको स्थानीय युवा सूर्यमान गुरुङको गुनासो छ। ‘यहाँ थोरै घरधुरी छ। त्यसमा हाम्रो के दोष ? थोरै घरधुरी भयो भन्दैमा भएकाहरू सेवासुविधाबाट बञ्चित हुनु अन्याय हुन्छ’, उनी भन्छन्, ‘यहाँ ठूला मान्छेहरू आउने चुनावमा मात्र हो। हरेक पार्टीका नेतालाई यहाँको समस्या जस्ताको तस्तै सुनाउँछौं। तर जसले जिते पनि हाम्रो समस्या जस्ताको तस्तै छ।’


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.