‘पहलमानी मधेसको संस्कृति हो’

‘पहलमानी मधेसको संस्कृति हो’

मधेसका जिल्लाहरूमा भदौदेखि फागुनसम्म विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय पहलमानी भइरहन्छ। राष्ट्रिय खेलकुद परिषद्ले पहलमानीलाई ‘कुस्ती’ भन्छ। तर, मधेसको जनबोलीमा कुस्ती खेल्ने खेलाडीलाई ‘पहलमान’ अनि कुस्ती खेललाई ‘पहलमानी’ भनेर भनिन्छ। यस खेलको संरक्षण, सम्वर्द्धनमा सरकारको ध्यान पुग्न नसकेको खेलाडीको गुनासो छ। सोही विषयमा पूर्व राष्ट्रपति डाक्टर रामवरण यादवसँग अन्नपूर्णकर्मी राजकरण महतोले कुराकानी गरेका छन्।

पहलमानी भनेको के हो ? 

यो मल्ल युद्ध हो। तिघ्रामा धाप मार्दै एक युवाले अर्को युवालाई प्रतिस्पर्धा गर्न निम्तो दिन्छ । यो सिनेमामा देखेजस्तो होइन, यो परम्परागत हुन्छ। पहिला मधेसका गाउँ नै पिच्छे अखडा हुन्थ्यो। ठूलो गाउँको बीचमा एउटा अखडा हुन्थ्यो, हुन्थ्यो। जहाँ बिहान, बेलुका पहलमानी हुन्थ्यो। पहलमानी खेल मात्रै होइन, मधेसको संस्कृति नै हो। 

यसको सुरुवात कसरी भयो ? 

मेरो विचारमा युवाहरूले स्वास्थ र बलियो रहन कुस्ती खेल्न सुरु गरेका होलान्। पहिले त जंगल जानुपर्थ्यो। लकडी (काठ) बोकेर ल्याउनुपर्ने, खेतीमा काम गर्नुपर्ने, गाईवस्तु चराउनुपर्ने हुन्थ्यो। जंलगमा जाँदा जीवजन्तुसँग बच्नुपर्ने हुन्थ्यो। आफ्नो ज्यान र परिवारको सुरक्षाका लागि मधेसका मान्छेहरू पहलमानी सिक्थे। परेको खण्डमा आत्मरक्षाका लागि पहलमानीका कला कौशल प्रयोग गरिन्थ्यो।

यसबाट शक्ति आर्जन पनि गरिन्थ्यो ? 

गाउँमा सम्पन्न र धनी परिवारले आफ्नो सुरक्षाका लागि दुई-चार जनालाई पहलमानी सिकाउँथे। गाउँमा कुनै खतरा भएमा लड्न पहलमान राख्ने चलन थियो। यसलाई एक प्रकारले शक्ति आर्जन गरेको मानिन्थ्यो। गाउँमा पहिला डाँका लाग्थ्यो। यसबाट परिवारलाई सुरक्षित राख्न पहलमानी खेलिन्थ्यो। कसैको घरमा ५ वटा छोरो छ भने दुइटा छोरो पहलमान हुनै पर्ने परम्परा नै थियो। फेरि सबै जातिले पहलमानी खेल्दैन। बढी गरेर जादव (यादव) हरू बढी पहलमानी गर्छन् । 

यस्तो किन ? 

यादवहरू धेरै गाईवस्तु पाल्थे। वस्तुभाउ चराउन जंगल जानुपर्ने, खेतीकिसानी गर्नुपर्ने, एकअर्कासँग झैझग्डा भयो भने आफ्नो परिवारलाई बचाउन बढी पहलमानी खेल्ने चलन थियो। तराईमा जादव (यादव) पछि झा, अनि मुस्लिममा नट समुदायले कुस्ती खेल्छ। तर, कुस्तीमा ७० प्रतिशत यादव जातीको पहुँच छ। अब त अरूले पनि सिकेर खेल्न थाल्यो। 

पहलमानीलाई मधेसमा संस्कृति दर्जा दिइन्छ, किन ? 

सदियौंदेखि मधेसको भूमि कृषि, पशुपालनमा अघि रहँदै आएको छ। उर्बरभूमिमा धान, गहुँ, दलहन, तेलन सबै हुन्छ। पहाडलाई मधेसले खच्चड र डोकोमा अन्न पठाउँथ्यो। पहिले पहाड–मधेसको पहुँच मार्ग ‘गोरेटो’ र ‘घोरेटो’ मात्रै थियो। २०२४ सालसम्म मधेसले बाहिर अन्न पठाउँथ्यो। शिक्षाको अवस्था कमजोर थियो। गाउँको मान्छेको पहुँच सहरमा थिएन। मट्टी तेल, नुन, कपडा र सुनचाँदी किन्न मात्रै सहर—बजार गइन्थ्यो। दुर्गा पूजा, रामनवी, विवाह पञ्चमी, झुलोनोत्सवसम्म मात्रै गाउँको मानिसको पहुँच थियो। 

उहीले गाउँले जीवन कस्तो हुन्थ्यो ? 

जेठ, असार, साउन, भदौ, असोजसम्म खेतीकिसानीमा सबै व्यस्त हुन्थे। त्यसपछि कात्तिक, मंसीरमा धान भिœयाउने चलन थियो। कामले कहिले फुर्सद हुँदैन्थ्यो। त्यसैले हाम्रा पुर्खाहरूले आमोदप्रमोदका सिजन अनुसारको चाडपर्व र खेलहरू विकास गरेका थिए। तर, सबै पर्वले गाउँका मानिसको पहुँच भने हुँदैन थियो। विशेष गरी श्रीकृष्ण जन्माष्टमी, दुर्गा पूजा, दीपावाली, छठ, रामनवमी, विवाह पञ्चमी, झुलोनोत्सव, कमला मेला, सलहेस मेला, सोनामाई मेला(भूतमेला), सम्म मात्रै समाजको पहुँच थियो। मानिस एक दिनमा १० कोससम्म पैदल जान्थे। 

मधेसमा के—कस्ता खेलहरू हुन्थ्यो ? 

आमोद प्रमोदका लागि कात्तिकमा हुर्रा–हुर्री खेल हुन्थ्यो। कवड्डी, सुरचार्ट(सुररा), पुलीडन्डा, पहलमानीजस्ता खेल हुन्थ्यो। सिजन अनुसार अनेको खेल, मेला, पर्व हुन्थ्यो। यी खेलहरूमा बालबालिका, गोठाला, हली, वृद्धवृद्धा कुनै न कुनै रूपमा चाडपर्व र खेलमा रमाउँथे। १८–३५ वर्षसम्मका युवाहरू मुख्य रूपमा पहलमानी खेल्थे। गाउँगाउँमा अखडा हुन्थ्यो। खासगरी पोखरीको डिलमा, नदीको किनारमा, गाउँभन्दा बाहिर अखडा हुन्थ्यो। पहलमानी मधेसको खेल मात्रै होइन संस्कृति हो। 

कुस्तीको मुख्य सिजन कहिले ? 

विशेषगरी शरद ऋतुमा कुस्ती खेलिन्थ्यो। अहिले त प्रतियोगितामा सीमित भयो। असोज, कात्तिक, मंसिर, पुस, माघसम्म गाउँहरूमा पहलमानी हुन्थ्यो। युवाहरूले तुरिया(उमेर समूह) मिलाएर कुस्ती खेल्थे। म १४ वर्षको उमेरमा पहलमानी खेलेको हुँ। १८ वर्षको उमेरपछि पढ्न बाहिर गएपछि कुस्ती खेल्न छुट्यो। 

खेल खेल्ने तालिम दिइन्थ्यो ? 

आपसेआप देखासिकीबाट कुस्ती खेल्न युवाहरू सिक्थे। गाउँमा परम्परागत रुपमा कोही न कोही कुस्तीमा अलि बढी रुची राख्ने हुन्थे। कुस्ती प्रति गाउँका अधिकांस युवाहरूको आकर्षण हुन्थ्यो। खेलबाटै पहलमान हुन्थे। उसले आफ्ना चेलाहरूलाई सालभरी खेलाउँथे। महोत्तरीको बगरा, धनुषाको बनिनियाँ, जमुनियामा कुस्तीको अखडा नै थियो। हर जिल्लामा यस्तो थियो। महोत्तरी, सर्लाही, रौतहट, बारा, पर्सा, सिरहा, सप्तरी, धनुषा कुस्तीका लागि नामी थियो। 

हेर्न लायक कुस्ती प्रतियोगिता कहिले हुन्थ्यो ? 

धनुषाको सबैला र महोत्तरीको लोहारपट्टीमा पहिले दसैंमा ठूलो दुर्गा मेला लाग्थ्यो। त्यहाँ महिनो दिनसम्म पहलमानी चल्थ्यो। त्यहाँ नेपाल र भारत दुवै देशका पहलमानहरू आउँथ्यो। जोडी मिलाएर पहलमानी गर्थे। दुर्गा मेलामा मुख्य रूपमा पहलमानी हेर्न मान्छेहरू जान्थे। पूर्वी तराईदेखि पश्चिम तराईसम्म पहलमानी हुन्थ्यो। अहिले पनि हुन्छ।

खेलाडीहरूलाई खेलका लागि कसरी निम्तो पठाइन्थ्यो ? 

अहिलेजस्तो सञ्चारको साधन उहिले थिएन। पैदल गएर पहलमानहरूलाई निमन्त्रणा गरिन्थ्यो। स्वदेश तथा भारततिर सबैका आफन्त छन्। कुन गाउँमा पहलमान छ सबैलाई थाहा हुन्छ। आयोजकले चिठी काटेर पहलमानहरूलाई अखडामा जुटाउँथे। पहिला पहलमानहरूको नामले गाउँहरू चिनिन्थ्यो। खेल्दा खेल्दै पहलमानहरू रेफ्री हुन्थे। यो खेलमा एक अर्कासँग जुध्छ। अनि पछारिन्छ। उतानो पर्ने खेलाडी हार्छ, पछार्ने चाहिँ जित्छ। 

पहलमानी संस्कृति किन हराउँदै गयो ? 

गाउँ चलायमान भयो। नपढेका युवाहरू अरब, मलेसिया गइरहेका छन्, पढ्नेहरू गाउँबाट सहर हुँदै अमेरिका पसिरहेका छन्। व्यवसाय र पढाइका लागि गाउँका युवाहरू सहर आएका छन्। तराईका गाउँहरू उजाड भइरहेको छ। पहिले जुन माहौल थियो त्यो अहिले छैन।

कुस्तीको संरक्षण कसरी गर्ने ? 

हाम्रो सिस्टमले तीन तहको सरकारको परिकल्पना गरेको छ। स्थानीय सरकारले रैथाने संस्कृति, परम्परा, रहनसहन संरक्षण, सम्वर्द्धन गर्नुपर्छ। शिक्षा, स्वास्थ्य, बिजुली, सरसफाइजस्ता आधारभूत आवश्यकता हो। यसबाहेक आमोद प्रमोदका लागि पहलमानी जोगाउनुपर्छ। पहलमानको शारीरिक तौल बढी हुने भएकाले बुढेशकालमा हड्डीका जोर्नी दुख्छन्। पहिले वैज्ञानिक रूपमा पहलमानी हुँदैनथ्यो। अब न तालिमहरू हुन थाल्यो। पहलमानीमा जीवन बिताएका र यसमा भविष्य देख्नेहरूलाई लक्षित गरेर सरकारकाले काम गर्न जरुरी छ।


 

यो पनि पढ्नुहोस

 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.