धनी र गरिबबीचको खाडल
काठमाडौं : नेपालले देखेको सपना समृद्धिको सपना हो । त्यो भनेको विकास निर्माणका पूर्वाधारको निर्माणमात्रै होइन, नागरिकहरूको जीवनस्तर वृद्धि पनि हो । तर पछिल्लो समय भने नेपालीहरू गरिब र धनीबीचको खाडल झन् गहिरो हुँदै गइरहेको छ । नेपाल जीवनस्तर सर्वेक्षण प्रतिवेदनअनुसार धनी र गरिबीको आम्दानीमा ३ लाख ५ हजार ३७ रुपैयाँको अन्तर छ ।
गरिबीको रेखामुनिका परिवारको औसत आम्दानी २ लाख ९८ हजार १८ रुपैयाँ छ । गरिबीको रेखामाथि रहेका परिवारको औसत आम्दानी ६ लाख ३ हजार ५५ रुपैयाँ छ । मुलुकमा राजनीतिक अस्थिरता लामो समयदेखि रहँदै आएको छ । त्यसबीचमै जग्गा कारोबार र मूल्य अस्वाभाविक रूपमा बढ्यो । टाठाबाठाले त्यसैबाट कमाए । मुलुकमा सुशासन नभएकाले नै हुनेखानेहरूलाई धेरै फलिपाप भएकै छ, दुःख पाउने निमुखाहरू नै हुन् ।
नेपालीको आम्दानीको मुख्य स्रोत कृषि, तलब ज्याला र रेमिट्यान्स हो । धेरै खेतीयोग्य जमिन बाझै छ । त्यसैले पनि कृषि आय घटेको छ । पारि श्रमिक र ज्यालामा पनि धनीमानी र गरिबको खाडल ठूलो छ । प्रतिवर्ष प्रतिव्यक्ति जम्मा ७२ हजार ९ सय ८ रुपैयाँभन्दा कम खर्च गर्ने व्यक्तिलाई गरिब मानिन्छ । गरिबीको नयाँ रेखाअनुसार नेपालमा करिब २० दशमलव २७ प्रतिशत जनसंख्या गरिबीको रेखामुनि छ ।
मुलुकमा कानुनी राज नभएकै हुँदा यो असमानता वृद्धि भएको हो । स्रोतहरूको समान वितरण भएन भने कोही धनी हुँदै जाने र अर्कोथरी गरिब हुँदै
जाने हुन्छ नै । त्यसमाथि मुलुकमा धेरै कानुनी छिद्रहरू छन्, जसको दुरुपयोग पहुँचवालाले सजिलै गरिदिन्छ । कर प्रणालीमा पनि असमानता छ । थोरै कमाउनेहरूमाथि धेरै भार र धेरै कमाउनेहरूलाई त्यस्तो अनुपातको कर छैन । गरिबी घटाउने एजेन्डा राजनीतिक दलहरूको प्राथमिकतामा देखिन्न । मात्र विकास उनीहरूको जिब्रोमा झुन्डिएको हुन्छ, तर विकास भनेको नागरिकको जीवनस्तर उकास्नु हो र नागरिकमा समानता कायम गर्नु पनि हो भन्ने बुझाइकै अभाव छ । पञ्चवर्षीय योजना बनाउँदा जहिल्यै गरिबी निवारणको कुरा आउँछ, तर अझै पनि ६० लाख जनता गरिबी रहनु भनेको राज्यले सही वितरण प्रणाली निर्माण गर्न नसक्नु हो र विकास निर्माण गर्दा त्यसले पार्ने प्रभावको आकलन गर्न नसक्नु हो ।