पाँचथरका ६८ घर बाढी पहिरो प्रभावितलाई राहत प्रदान
फिदिम : पाँचथरका ६८ घर बाढी पहिरो प्रभावित र ७ जना मृतकका परिवारलाई पहिलो चरणको राहत प्रदान गरिएको छ। गत असोज १२ गतेको बाढीपहिरोबाट विस्थापित भएका र ज्यान गुमाएका परिवारलाई राहत प्रदान गरिएको हो।
जिल्ला विपद् व्यवस्थापन समिति र रेडक्रस सोसाइटीले बाढी पहिरोबाट पूर्ण क्षति भएका र ज्यान गुमाएका परिवारलाई राहत प्रदान गर्दै आएको छ। ‘राहत वितरणको काम धमाधम भइरहेको छ,’ प्रमुख जिल्ला अधिकारी विष्णु कोइरालाले भने, ‘पहिलो चरणमा ज्यान गुमाएका र पूर्णरूपमा क्षति भएका घर परिवारलाई राहत प्रदान गरिएको हो।’ विपद् व्यवस्थापन समितिले मृतकका परिवारलाई २ लाख र विस्थापित परिवारलाई १५ र २० हजारका दरले राहत प्रदान गरेको हो। पाँच जना सदस्य संख्या भएको परिवारले १५ हजार र पाँच जनाभन्दा धेरै सदस्य संख्या भएको परिवारलाई २० हजारका दरले राहत प्रदान गरिएको कोइरालाले जानकारी दिए। एक जना मृतकको परिवारलाई राहत उपलब्ध गराउन बाँकी छ।
पाँचथरमा बाढीपहिरोमा परी ८ जनाले ज्यान गुमाएका थिए भने तीन जना बेपत्ता छन्। बेपत्ताको परिवारलाई पनि प्रक्रिया पु¥याएर राहत प्रदान गर्ने तयारी छ। रेडक्रसले पनि प्रभावित परिवारलाई ‘नन् फुड आइटम प्रदान’ गरिरहेको छ। ‘राहत प्रदानको काम चलिरहेको छ,’ रेडक्रस पाँचथरका कार्यकारी अधिकृत गुरुराज तिम्सिनाले भने, ‘अझै केही परिवारलाई राहत दिन बाँकी छ।’
पाँचथरको फिदिम नगरपालिका, फालेलुङ र फाल्गुनन्द गाउँपालिकामा बाढीपहिरोले ठूलो क्षति पुर्याएको छ। तीन पालिकामा ठूलो संख्यामा प्रभावित भएका छन्। उक्त क्षेत्रका प्रभावितहरूलाई राहत प्रदान गरिएको हो। फिदिम नगरपालिका र फालेलुङ पालिकालाई हेल्भेटास नेपालले पनि राहत सामग्री उपलब्ध गराएको छ। उक्त सामग्री प्रभावितहरूलाई प्रदान गरिएको फालेलुङ गाउँपालिकाका अध्यक्ष वीरविक्रम थाम्सुहाङले जानकारी दिए।
मृतकका परिवार र प्रभावितहरूलाई हाम्रो सहारा पाँचथरले पनि राहत प्रदान गरिरहेको छ। संस्थाको राहत कोषमा जम्मा भएको बजेटबाट राहत प्रदान गरिएको संस्थाका अध्यक्ष गजेन्द्र राईले जानकारी दिए।