आदिमवासी अभिषेक

समाज/संस्कार

आदिमवासी अभिषेक

विभेदको अन्त्य र समानता चाहनेहरूले पुरातन सोच सुधार अभियानको नेतृत्व गर्न सक्नुपर्छ। जातीय विभेद विश्वभर फैलिइरहेको छ।

नेपालको लिखित इतिहासभन्दा बाहिर भौगोलिक तथ्यप्रमाणका आधारमा रैथाने शिल्पी (कथित दलित) अनादिवासी–मूलवासी समुदाय हुन् भन्नेमा दुईमत देखिँदैन। समुदायको विगतमा पृथक् वंशपरम्परा, राजकाज, भूमि, भाषा, साहित्य, भेषभूषा, रीतिरिवाज, नाइके वा मुखियापरम्परा आदि भएकैले राज्यका सबै क्षेत्र र निकायमा बहिष्करण गरिएको महसुस हुँदै आएको छ।

सुदूरपश्चिम, कर्नाली–भेरी क्षेत्र र तराईमा १२औं शताब्दी अगाडिसम्म अर्थात् खससाम्राज्य विस्तारपूर्व एकछत्र राजकाज र शासनसत्ता रहेको अनादिवासी समुदायमाथि आन्तरिक उपनिवेश लादेर कमजोर पारेको पाइन्छ। मानवताविरुद्धको जघन्य अपराध जातीय विभेद र छुवाछूत लादेर पशुकरण गरियो। यो विगतको तथ्यगत, वस्तुगत प्रमाणलाई अन्देखा गरिँदा यस्तो अवस्था आएको सरोकारवालाको बुझाइ छ।

आदिमकालीन सामुदायिक तथ्य इतिहास : डा. राजाराम सुवेदीका अनुसार कर्नाली प्रसव क्षेत्रअन्तर्गतको डोटी प्रदेशमा मूल निवासीले किराँतीदेव शिवलाई अधिपति मान्दछन्। तिनलाई किन्नर वा किराँत पनि भनिन्थ्यो। किराँत र किन्नरको मूल उद्गम एउटै मानिएको छ। स्मरणीय के छ भने यक्ष, किन्नर, गन्धर्व र किराँत सँगसँगै विचरण गर्ने, बोलिने, लेखिने जाति हुन्। किराँतहरूलाई अपदस्थ गरी त्यस क्षेत्रमा नाग जातिले आफ्नो आवास कायम गरे। त्यही सिलसिलामा यक्ष, दस्यु र द्रविडहरू डोटी क्षेत्रमा बसोबास गर्दै थिए।

मध्यएसियाबाट खसहरूको डोटी प्रदेशमा प्रवेश भएकाले त्यो प्राचीन जातिहरूलाई अल्पमत संख्या बनायो। खसहरूकै हाराहारीमा बाहुन (आर्य)हरूले डोटीमा प्रवेशगरी प्राचीन जातिलाई आफ्नो प्रभावमा पारे। पूर्वमन्त्री एवं बौद्ध अभियन्ता डा. केशवमान शाक्यका अनुसार पश्चिम नेपालमा बाहुनको प्रवेश करिब ५/६ सय वर्षमात्र भएको छ। त्यसैगरी, खस समुदायको प्रवेश तथ्यका आधारमा करिब १५/१६ सय वर्ष भएको पाइन्छ। तर वर्तमानमा कथित दलित भनिएको अनादिवासी–मूलवासी समुदाय पश्चिम नेपालमा खस, बाहुनभन्दा धेरै अगाडि नै प्रवेश गरेर भूमि आवादी, राजकाजको अभ्यास, संस्कृति र सभ्यताको विकास गरेको प्रमाण पाइन्छ। यस आधारमा दलित समुदाय पश्चिम नेपाल र तराईमा आदिमकालदेखि नै अनादिवासी–मूलवासीको रूपमा रहेको प्रमाणित हुन्छ।

इतिहासकै पुनर्लेखन गरिएमा रैथाने शिल्पी समुदायको गुमेको राष्ट्रिय पहिचान स्थापनामा कुनै अवरोधले छेक्ने छैन। हिमाल–पहाडमा कर्नाली–भेरी र तराईमा सहलेश–मधेस भौगोलिक प्रदेश स्थापना नै उनीहरूको वर्तमान राष्ट्रिय पहिचान हो। दार्शनिक एवं राजनेता रूपलाल विश्वकर्मा सामुदायिक राष्ट्र पहिचानमा स्पष्ट थिए। उनले दशकौं अघि नै अरू समुदायको जस्तै अनादिवासी–मूलवासी समुदाय पनि छुट्टाछुट्टै राष्ट्र भएका जाति हुन्, भनेका छन्। सामुदायिक जरो तथ्यगत, वस्तुगत इतिहास गहिरोसँग नबुझिकन यसो भन्न सकिँदैन। समकालीन राजनीतिमा रूपलाल विश्वकर्मा एकमात्र त्यस्तो पात्र हुन्, जसले सामुदायिक इतिहासको जरो पहिल्याएका थिए। पछिल्लोपटक इतिहासकार डिकबहादुर विश्वकर्मा र वरिष्ठ इतिहास, संस्कृतिविद् दानबहादुर विश्वकर्मा कोलीको नाम आउँछ।

कोलीका अनुसार रैथाने शिल्पी समुदाय इतिहासमा न कहिल्यै ब्राह्मण थियो, न क्षत्री थियो, न त वैश्य वा अन्य जनजातिको वंश नै थियो। यो समूह आदिमकालदेखि नै स्वतन्त्र, पृथक्, स्वाधीन, स्वावलम्बी र आफ्नै राजपाट व्यवस्था भएको वैभवपूर्ण, गौरवशाली, सुसंस्कृत र सभ्य महाजाति थियो। यसको तथ्य प्रमाणहरूमा विभिन्न धार्मिक ग्रन्थहरू, पुराताŒिवक, ऐतिहासिक, लेखक, इतिहासकार एवं अन्वेषकहरूको आधारमा प्रमाणित छ। ऐतिहासिक तथ्यका आधारमा गंगा, यमुना, शतलज र पञ्च नदीको पहाडी भेगमा प्रभावशाली राजपाट चलाई बसेका अनादिवासी समुदायका पूर्वजहरूलाई कश्मीरको बाटोहुँदै पूर्वतर्फ बढेका खसहरूले युद्धमा राजकाज खोसेर दास बनाए। खस र आर्य दुवै आक्रमक समूहले एकै नीति अपनाई पराजित समूहलाई भविष्यमा कहिल्यै शिर उठाउन नपाऊन् भन्ने उद्देश्यले अछूत बनाएको पाइन्छ।

जनकलाल शर्माका अनुसार आर्यहरू ईशापूर्व द्वितीय सहस्राब्दीको आसपास उत्तर–पश्चिम दिशाबाट हिन्दकुश पर्वतशृंखला पारगरी सप्तसिन्धुदेखि जमुनाको पश्चिमी भागसम्म फैलिएर बस्यो। उनीहरूले आफूभन्दा भिन्न जातिलाई अनार्य भन्ने जुन चलन आजसम्म कायम छ। त्यहाँका आदिवासीमाथि आर्यहरूले सयौं वर्षसम्मको युद्धमा पराजित गरेर आफ्नो दास, गुलाम बनाए। उनीहरूको समूहमा बुद्धिजीवी थिए, जसलाई ऋषि भनिन्थ्यो (पुरोहित)। तिनै ऋषिहरूको रचना वा संग्रहलाई ऋग्वेद भनिन्छ। त्यसैको परम्परामा पछि अरू वेद पनि बने। दस्यु वा दास (नागपूजक) नै कालान्तरमा शूद्र कहलिए, तिनैलाई वर्तमानमा दलित भनियो। पाणिनी र पतञ्जलीको कालमा आएर चण्डाललाई शूद्रमा राखियो। यसबाहेक अस्पृश्यताको अर्को कारण हो, म्लेच्छ वा अहिन्दु र अनार्य जाति। कुनै समय माझी, व्याधा, कसाई, धोबी, कामी, दमाईं, सार्की, मुसलमान, इसाई आदि सबै अस्पृश्य मानिन्थ्यो। तर पछि माझी अस्पृश्यमा गनिन छोडियो।

शिल्पकला सामुदायिक साझा पहिचान  : कुनै पनि जाति, समुदायको स्वत्व रक्षाका लागि तीन आधारशिला आवश्यकता पर्छ– अस्तित्व, इतिहास र पहिचान। समाजमा अस्तित्व स्वीकार्य भएमा इतिहास जीवित रहन्छ। इतिहास जीवित रहेमा पहिचान स्थापित हुन्छ।

नेपालका आम अनादिवासी–मूलवासी समुदाय यी तीनवटै कुराबाट वञ्चित छन्। उनीहरू शिल्पकला, संस्कृति, सम्पदा र सभ्यतामा निकै धनी छन्। जुन जाति, समुदायसँग शिल्पकलाको ज्ञान हुन्छ, उनीहरू नै संस्कृति, सम्पदा र सभ्यताका सिर्जनाकार र आविष्कारक हुन्छन्। शिल्पकला, हस्तकलाको विकासबाट संस्कृति निर्माणको सुरुवात हुन्छ। संस्कृतिको विकास र संक्रमणपछि सम्पदा निर्माण हुन्छ।

सम्पदाको विकास र संक्रमणपछि सभ्यताको आधार तयार हुन्छ। यसरी आदिमवासी शिल्पी समुदाय विगतदेखि वर्तमानसम्म शिल्पकला, संस्कृति, सम्पदा र सभ्यताका आधारशिला हुन्। उनीहरू शिल्प (मानव) सभ्यताका विकासकर्ता थिए। शिल्पसभ्यता भनेको आदिम सभ्यता हो, आदिम सभ्यता नै मानव सभ्यता हो। मानव सभ्यता द्रविड सभ्यतासँग जोडिएको छ। यस्तो पुख्र्यौली मौलिक ज्ञानपरम्परामा आधारित सीपकला, प्रविधि र आविष्कार भएका अनादिवासी समुदाय खसबाहुनहरूको वंश कहिल्यै थिएनन्/होइनन्।

माथिका केही अकाट्य तथ्यप्रमाणहरूका आधारमा हिमाल–पहाडका अनादिवासी–मूलवासी शिल्पी समुदाय र खस, बाहुन एउटै वंशका हुन् भन्नु उचित होइन। शिल्पी समुदायको थरहरू विगतमा शतप्रतिशत पुख्र्यौली ज्ञानपरम्परामा आधारित ज्ञानसीप, कलाप्रविधि, संस्कृति अर्थात् परम्परागत पेसा, व्यवसायसँग सम्बन्धित छन्। यस्ता मौलिक सीपकला प्रविधिसम्बन्धी ज्ञान कुनै जात विभाजनकारीले सिकाएको नभई हजारौं वर्षअघिबाट पुस्तान्तरण हुँदै आएको हो।

लुगाकपडा, हातहतियार, हलो, फालो, कुटोकोदालो, डोको, डालो, कृषिऔजार, गरगहना, छालाका सामग्री, काठ, बाँस, ढुंगा, माटोका सामग्री, घरमहल, मठ–मन्दिर, राजमुकुट, सिंहासनलगायतका भौतिक स्रोतसामग्रीको आविष्कार, विकास एवं नाचगान, वादन, कलासंस्कृतिको सुरुवात गर्दै वैभवशाली, गौरवपूर्ण राजकाजसमेत उनीहरूले चलाएको थुप्रै तथ्यप्रमाण पाइन्छ। यस्तो वंशानुगत ज्ञानपरम्पराको विकास उनीहरूले लामो समयसम्म प्रकृतिमै संघर्ष, अनुभव, भोगाइ, आवश्यकताबाट सिर्जना र आविष्कार गरेका हुन्। त्यसक्रममा निकैपछि शिल्पी समुदायसँग आदिवासी–मूलवासी र खस, बाहुनको सम्पर्क भएपछि मात्र केही प्रतिशत थर मिश्रित बनेको देखिन्छ। 

पृथक् नश्ल एवं वंश परम्परा  : सिन्धुमैदानमा विजित गोरा आर्यहरूले पराजित अनार्य काला पराजित मूलवासीलाई रंगका आधारमा विभेद सुरुवात भएको थियो। समयक्रममा ऋग्वेदमा विराट पुरुषको परिकल्पनाले चार जातको वर्णव्यवस्थालाई संस्थागत गरेका हुन्। हिमाल–पहाड र तराईका दलितहरूलाई पछिल्लोपटक खस, आर्यकरण गर्न खोजिरहेका छन्। जो एकदमै भ्रामक, असत्य, षड्यन्त्र र असान्दर्भिक कुरा हो।

नेपालमा क्षेत्री, बाहुन अर्थात् खस, आर्य आउनुभन्दा धेरै पहिलेदेखि मानव सभ्यताको आदिमकालदेखि नै कामी (विश्वकर्मा, लोहार, सुनार, कोली), सार्की (चमार, मिझार), दमाईं (दर्जी, तन्तुवाय, तुत्रवुयु, स्वाङकक), गन्धर्व (गाइने), बादी, पोडे, च्यामे, धोबी, मोची, दुसाध, पासी, नट, खटिक, खत्वे, कोरी, तत्मा, डोम, मुसहर, चिडीमार, पत्थरकट्टा, ढाँढी, धनुकारलगायतका अनादिवासी समुदाय मानव सभ्यताको आदिमकालदेखि शिल्पकारितासम्बन्धी पेसा, व्यवसाय गर्दै आइरहेका जाति, समुदाय हुन्। उनीहरूको आआफ्नै छुट्टै वंशपरम्परा, राजकाज, संस्कृति र जातीय समूह छन्। मूलत : उनीहरू प्रकृति–कुलपितृ (भौतिकवादी–मानवतावादी) पूजक धर्मलाई मान्दै आएका छन्। यी समुदाय हिन्दुधर्म र वर्णव्यवस्थाभन्दा बाहिरका हुन्। अम्बेडकरका अनुसार पञ्चम वर्ण ! उनीहरूको संस्कृति र सभ्यता मानवतावाद र समतावादमा आधारित छ। 

आदिमवासी राजवंशका वंशज  : अनादिवासी–मूलवासी समुदायको जातीय नाममा भूमि, नदी र हिमालको समेत नामकरण भएकाले उनीहरूको आदिपना र प्राचीनता झल्किन्छ। गोरखा जिल्लाको हिमाली शृंखलामा रहेको चमार–सार्की (   श्रृंगी) हिमाल (७,१६५ मिटर), कास्की जिल्लामा पर्ने गन्धर्वचुली हिमाल (६,२४८ मिटर), ललितपुर जिल्लाको दमाईंटार, नुवाकोट जिल्लाको कामीटार, प्यूठानको बादीकोट, बागलुङको भुलकोट, सुर्खेतको डोमकोट, डोटीको डुमराजाकोट, जुम्लाको तिरुवाकोट, अछामको सुनारकोट, दर्नाकोट र लुहारकोटको जगगढी किल्ला, सल्यानको दार्माकोट, बझाङको सोनीकोट, जुम्लाकै सुर्वणनगर, सुनारगाउँ, कालीकोटको लुहारकोट (राजा देवजंग लुहार), डोटीको कुमालीकोट आदि रैथाने शिल्पी समुदायका राजाहरूले राजकाज गरेको ऐतिहासिक भूमि, थातथलो र पुराताŒिवक स्थल थुप्रै छन्। 

त्यसैगरी तराई, मधेसमा, लुम्बिनीको देवदहमा देवसिंह कोली र रामग्राममा रामसिंह कोली वंशका राजाहरूले राज्य गरेका थिए। सप्तरी, सिरहामा दुसाध राजा सहलेश सम्राट्ले लामो समय राजकाज गरेका थिए। लखनउ राजधानी बनाएर लाखनपासीलगायत पासी राजाहरूले नेपालको वर्तमान कैलाली, कञ्चनपुर, बाँके, बर्दिया र अवध क्षेत्रसम्म हजारौं वर्षसम्म राज्यशासन गरेको इतिहास गुमनाम छ।
 
सामुदायिक थर निर्माणका आधार  : कुनै पनि जाति, समुदायको थर निर्माण स्थानविशेष, कामविशेष, घटनाविशेष र अन्य विभिन्न कारणका आधारमा बनेका हुन्छन्। नेपालमा वर्णाव्यवस्था लादेर अनार्य, अहिन्दु, अनादिवासी समुदायलाई थरको माला भिराइएका हो। जस्तै–तिमिल्सैनमा बस्नेहरूले आफ्नो थर तिमिल्सिना लेख्छन्। ती बाहुन र क्षेत्री दुवै छन्। कामी, दमाई, बादी र गाइने पनि हुन सक्छन्। त्यसैगरी दहलेखमा बस्ने दाहाल, घोडासैनमा बस्ने घोडासैनी, कोइरालाको बोटमुनि बस्ने कोइराला, पुडासैनमा बस्ने पुडासैनी, पोखरामा बस्ने पोख्रेल अर्थात् पोखरी बनाउने मान्छे पोख्रेल आदि, इत्यादि थर कायम भएको देखिन्छ।

त्यस्ता स्थानविशेषको थर बाहुन, क्षेत्रीको मात्रै पेवा होइनन्। आदिवासी, जनजाति समुदायसँग पनि शिल्पी समुदायको धेरै थरहरू मिल्छन्। जस्तै घले थर दमाईं र गुरुङमा, दर्नाल, दर्लामी र बराल थर कामी, दमाईं र मगरमा, लाखे थर नेवार र दमाईंमा, लौहरिया थारू, चमरा थारू थर कामी र सार्कीबाट कायम भएको छ। यस्ता मि ि  श्रत जनजाति थरहरू अरू सयौं छन्। तर खस, बाहुनसँग मात्र थर मिलेजस्तो एकोहोरो कुप्रचार गरिन्छ। null

पूर्णप्रकाश नेपाल यात्रीका अनुसार नेपालमा अहिले करिब पाँच सयभन्दा बढी थर अस्तित्वमा छन्। तीमध्ये ८५ प्रतिशतभन्दा बढी थर    श्रीपालीवंशको उदय अवधिभित्र सिर्जना भएको मानिन्छ। शिल्पी समुदायको पुर्खाको साइनो, जरो सिन्धुघाँटी सभ्यता, नेपालको सुदूरपश्चिम, कर्नाली–भेरी, लुम्बिनीका कोली वंश र तराईका सहलेश, डोम सम्राट्सम्म पुग्छ। उनीहरूको सामुदायिक चिनारी–अनादिवासी–मूलवासी, नश्ल वा वंश–अस्ट्रोद्रविड (आज द्रविड र अन्य जातिका बीचमा निकै मि   श्रण भएको छ)। तर सर हक्सलेका अनुसार आस्ट्रेलियन प्रजातिका मानिस नै द्रविड हुन्। यिनीहरूको रूपरंग कालो, फाँटिलो र चौडा नाक, होचो कद र अनुहार केही भद्दा, फराकिला हुन्छ)। यस प्रकारका जातिको वर्णन ऋग्वेदमा पटकपटक आइरहन्छ।

धर्म–प्रकृतिपूजक, भाषा–हिमाल–पहाडमा कलौंती लिपि (कलात्मक नेवारी रञ्जना लिपि र कलौंती लिपि हुबहु मिल्दोजुल्दो छ), पिंगुल लिपि (स्रोतसम्म पुगियो, प्राप्त हुन् बाँकी) र कामी लिपि (आफ्नै मौलिक लिपि रहेको जानकारी), तराई–मधेसमा–मगही, मैथिली, भोजपुरी र अविधि, भेषभूषा–हरेक शिल्पी समुदायको आ–आफ्नै मौलिक जातीय पोसाक रहेको तर हालसम्म प्रयोगमा नल्याइएको पाइन्छ। संस्कृति–जन्मदेखि मृत्युसम्म आफ्नै समुदायका अगुवा, मुखिया, नाइके वा धामीझाँक्री मन्त्रतन्त्र परम्पराबाट सम्पन्न गरिने, सभ्यता–शिल्प (मानव) सभ्यता, जातीय समूह–हिन्दु वर्णव्यवस्थाभित्र नपर्ने अनार्य, नेपालमा पहिलो शताब्दीदेखि नै राजकाज र शासनसत्ता भएको छुट्टै मानव समूह, इतिहास–औपचारिक कुनै लिखित इतिहास छैन। तर    श्रुतिस्मृति, किवंदन्ती, मौखिक परम्परा र भौगोलिक तथ्यहरूमा जीवित रहेको पाइन्छ। यस तथ्यका आधारमा शिल्पी समुदायको विगत पृथक्, गौरवशाली र समृद्धशाली जाति रहेको प्रमाणित हुन्छ। 

  • मध्यएसियाबाट खसहरूको डोटी प्रदेशमा प्रवेश भएकाले त्यो प्राचीन जातिहरूलाई अल्पमत संख्या बनायो।
  • इतिहासकै पुनर्लेखन गरिएमा रैथाने शिल्पी समुदायको गुमेको राष्ट्रिय पहिचान स्थापनामा कुनै अवरोधले छेक्ने छैन। हिमाल–पहाडमा कर्नाली–भेरी र तराईमा सहलेश–मधेस भौगोलिक प्रदेश स्थापना नै उनीहरूको वर्तमान राष्ट्रिय पहिचान हो।

शासकहरूले शिक्षा लिन पाउने जन्मसिद्ध अधिकारबाट समेत वञ्चित गरिदिए। उनीहरूले पढ्न पाएका करिब ५५ वर्ष जति भयो। जसले शिल्पी समुदायको बारेमा जे, जसो इतिहास लेखिदिए, त्यो शासकीय पक्षधरतामा थियो। भारतमा अम्बेडकरले जस्तो सामुदायिक इतिहासको उत्खनन गरेर स्थापित गर्ने नेपालमा कोही देखिएनन्। नेपाली मानवशास्त्रका पिता मानिने डोरबहादुर विष्टको लेखाइले शिल्पी समुदायको स्वतन्त्र अस्तित्व मेटाउने अस्त्र बन्यो। उनैलाई पढेर विद्वान, विश्लेषक बनेकाहरूबाट फरक के आशा गर्ने ?  जानकारको संज्ञा पाएर समुदायलाई केही समय गुमराहमा राख्न सकिएला, तर सधैं ढाँट्न सकिँदैन। समुदायको जरो इतिहाससम्म पुग्नेहरूमा डिकबहादुर विश्वकर्मा, दानबहादुर विश्वकर्मा कोली र रूपलाल विश्वकर्मालाई मान्न सकिन्छ। आहुतीले शास्त्रीय जडसूत्रवादी माक्र्सवादलाई निकै पढे तर समुदायको आदिम इतिहासलाई पढेनन्। एक समय भारत, मध्य र पश्चिम नेपालमा शक्तिशाली सार्की/चमार राजवंशहरूको वैभवशाली, गौरवपूर्ण इतिहासबारे उनी पूरै बेखबर छन्।

समुदायको जातीय इतिहासको ठोस आधारशिला नै तयार नभएकाले समुदाय दिग्भ्रमित छन्। समुदायको एकता, गौरव र आत्मसम्मानका लागि इतिहास एक माइलस्टोन हो। सामुदायिक ठोस इतिहासले समुदायको शिरलाई माथि उठाइदिन्छ भने अस्तित्व र पहिचानले एकता, आत्मसम्मान र गौरव बढाइदिन्छ। यी कुराबिना समुदायको एकता, मुक्ति, स्वाभिमान र विभेद अन्त्य सम्भव छैन। आफू जस्तै अरूलाई हुबहु त्यस्तै बनाउँछु भन्ने कथित उच्च जातीय अहंकारी अभियानहरू पानीको फोका समान भ्रम हो।

समानताका पक्षधर अग्रज अभियन्ता  : जातीय छुवाछूतबाट मुक्त गर्छु भनेर कसैले सार्वजनिक स्थलमा पानी खाँदैमा समुदायमाथिको विभेद हट्छ त ? पृथ्वीनारायण शाहको पालामा जातीय भेदभाव र छुवाछूत हटाउन जोसमनी धर्मका सन्त शशिधर पौडेल जो बाहुन थिए। त्यस्तै सन्त ज्ञान दिलदास उनी लामिछाने बाहुन थिए। सन्त शक्तिमाई जो कोइराला थरकी बाहुनी थिइन्, उनले सबै जातका मानिसको हातको भात, पानी खाएर हिँडेकै हुन्। स्वामी निर्गुणानन्द (   श्री ५ रणबहादुर शाह) जो नेपालको राजा भएर जातीय विभेद र छुवाछूत हटाउन काठमाडौंमा जगन्नाथको मन्दिर बनाएर सबै जातका मानिसलाई बोलाएर दलित समुदायले पकाएको खाना आफूसहित सबैलाई खाना लगाएकै हुन्। 

बझाङी राजा जयपृथ्वीबहादुर सिंहले जातीय विभेदबाट मुक्त गर्ने भनेर विभेदको विरोध गरेकाले उनकै ससुरा प्रधानमन्त्री चन्द्रशमशरले पानी अचल गरेका थिए। २००८/०९ सालतिर डँडेलधुरा कारी गाउँका भीमदत्त पन्त, जो बाहुन थिए। उनले जातीय विभेद र छुवाछूत हटाउन सार्वजनिक रूपमै कमेनी, दमेनी, सर्केनी, बदेनीलाई भात पकाउन लगाएर भान्से तिनैलाई बनाएर खाएका थिए। उनलाई जातीय विभेद विरोधी कार्य गरेको भन्दै सरकारले नै मार्न लगाएको थियो। २०३२ सालमा तत्कालीन शिक्षा सहायक मन्त्री हीरालाल विश्वकर्माकी छोरीको विवाहमा राजा वीरेन्द्र र रानी ऐश्वर्यले सार्वजनिक विवाहभोज खाएकै हुन्। सांसद तोसिमा कार्कीले डोटीमा एक अनादिवासी महिलाको हातबाट पानी पिएकै हुन्। यस्ता तमाम् अभियानहरूको बीचमा आजसम्म समुदायको अवस्था जस्ताको तस्तै छ। बीसको उन्नाइस भएको देखिँदैन। 

गणतन्त्र आएपछि २०६७ सालमा तत्कालीन प्रधानमन्त्री डा. बाबुराम भट्टराईले जातीय विभेद र छुवाछूत अन्त्य गर्ने भन्दै जुम्लाका एक सार्की र सिरहाको एक मुसहरको घरमा बास बसेर खाना खाएका थिए। यसरी बाहुन, क्षेत्रीले अनादिवासी समुदायको घरमा र उनीहरूको हातबाट खाएका उदाहरण अनगिन्ती छन्। तर अवस्था ज्यूँको त्यूँ छ।

निष्कर्ष  : २१औं शताब्दीको युगमा जातीय विभेद र असमानता लज्जाको विषय हो। छोरी, चेली जल्ने त्रासले सतीप्रथा हटाइयो। तर शासकहरूको प्राथमिकतामा नपरेको जातीय विभेद विश्वभर फैलिइरहेको छ। राजा पृथ्वीनारायण शाहका पालादेखि आजका मितिसम्म बाहुनदेखि राजा रंकसम्मका मानिसले अनादिवासी समुदायका मानिसले पकाएको खाना नखाएका होइनन्।

२००७ सालमा राणाशासनको अन्त्यपश्चात् आजसम्म जति व्यवस्था आए, जति सरकार बन्छन्, सबैका नीति, कार्यक्रममा, संविधान, ऐन, कानुनहरूमा जातीय विभेद र छुवाछूत हटाउने कुरा गर्दै आएका छन्। तर व्यवहारमा लागू भएको खोइ त ?    विभेदको अन्त्य र समानता चाहनेहरूले पुरातन सोच सुधार अभियानको नेतृत्व गर्न सक्नुपर्छ। अनादिवासी–मूलवासी समुदायले अस्तित्व, इतिहास, पहिचानसहितको आत्मसम्मान र समानता चाहेको हो। आफ्नो जातिकै अन्त्य खोजेको होइन, असमानता र विभेदको अन्त्य मात्र चाहेको हो।

त्यसैले धार्मिक र सामाजिक सुधार आन्दोलनको नेतृत्व सरकार र खसबाहुन समुदायले नै गर्नुपर्ने अपरिहार्य खाँचो छ। अरू समुदायको सामाजिक रूपान्तरणमा सहायक भूमिका रहन्छ। अनादिवासी समुदायको आदिम इतिहासका आधारमा स्वतन्त्र अस्तित्व कायम रहनुपर्छ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.