फूलखेतीको गाउँ तिथली
काठमाडौं : तिहार नजिकिएसँगै गुन्डुको तिथलीका फूल खेती गर्ने किसानहरू मखमली फूलको माला बनाएर बेच्न व्यस्त छन् । पुर्खौली रूपमा चल्दै आएको फूल खेतीलाई तिथलीलगायत वरिपरिका गाउँका किसानहरूले व्यवसायको रूपमा नै फुल खेतीलाई अंगालेका छन् ।
तिथलीका पूरै गाउँले नै आफ्नो खेत र बारीहरूमा मखमली र सयपत्रीलगायतका फूलहरू बाह्रै महिना रोपेर राम्रो आम्दानी गरिरहेका छन् । यसमध्येकी एक हुन्, सबिना सुवेदी । उनी आफूले जम्मा साढे तीन आना जग्गामा गरेको मखमली फूलको माला व्यापार गरेर नै असारको अन्तिम हप्तादेखि तिहारको एक हप्ता अगाडिसम्ममा ५०–६० हजार आम्दानी गरिसकेको बताउँछिन् । फूलको माला व्यापार गरेर भएको आम्दानीले परिवारलाई वर्षदिन आनन्दले खान पुग्ने बताइन् । उनकाअनुसार एउटा फूलको माला अघिल्लो वर्ष २८ रुपैयाँमा समेत बिक्री गरेको स्मरण गर्छिन् तर यो वर्ष भने पानी परेर फूल बिग्रिएकाले २० रुपैयाँमा बिक्री गरियो ।
‘बुढाबूढीदेखि भुराभुरीसम्मले यो समयमा फूल उन्ने काम गर्छन्, कोही पनि खाली हुँदैनन्’ सुवेदी भन्छिन्, ‘मैले पनि सुरुमा यो गाउँमा आउँदा माला उन्ने काम मात्र गरेकी थिए तर पछि भने आफैंले सिकेर फूल खेती गर्न थाले ।’ सुवेदी मात्रै विगत तीन वर्षदेखि तिथलीमा मखमली फूल खेती गर्दै आएकी छन् । उनी हरेक वर्ष शिवरात्रीको दिनमा आफैं मखमली फूलको दल राख्ने गर्छिन् । उनले फूलको स्याहारबारे बताउँदै भनिन्, ‘उम्रिएको बिरुवालाई वैशाखको पहिलो हप्तामा रोप्ने र हप्ताहप्तामा भिटामिन लगायतको औषधिहरू छर्किनुपर्छ । गोडमेल गरेर हुर्काएको फूल असारको अन्तिम हप्तादेखि नै व्यापार गर्न सुरु गरिन्छ ।’
फूलको माला किन्न व्यापारी घर आँगनमै
तिथली गाउँमा उनेर राखिएको माला किन्न व्यापारीहरू घर आगँनमै आइपुग्छन् । ‘फूल कतिको राम्रो छ भन्ने हेरेर त्यहीँ अनुसारले दाम तोकिन्छ तर फूल धेरै सेतो भयो भने त ५ रुपैयाँ पनि पाउन गाह्रो हुन्छ नि’ त्यँही गाँउमा विगत ३० वर्षदेखि मखमली फूल खेती गर्दै आइरहेकी रेनु थापा भन्छिन् ।
घाममा फूलको रङ चाँडै खुइलिने हुँदा हावामा झुन्डाएर फूलको माला राम्ररी सुकाउनुपर्ने र पूर्णरूपमा सुकिसकेपछि मात्र व्यापारीहरूले माला लैजाने थापाले जनाइन् । व्यापारीहरूले तिथली गाउँको घरघरबाट लिएको फूल विभिन्न देश र नेपालकै विभिन्न जिल्लाहरूमा पु¥याउने थापाको भनाइ छ ।
बाँकी भएको फूल छठमा घर सजाउन प्रयोग हुने
सुवेदीले तिहारमा पनि बिक्री नभएको फूलहरू छठमा घर सजाउनका लागि मधेससम्म पुग्ने जानकारी दिइन् । सकेसम्म तिहार अगाडि नै मालाहरू सबै पठाउने प्रयास गरिने तर पछिको फूल वा उनिएका मालाहरू बाँकी रहेमा फेरि व्यापारीहरूले छठका लागि लैजाने हुँदा हरेक कोणबाट फूल खेतीमा फाइदा नै हुने सुवेदीको अनुभव छ ।
‘व्यापार भयो भने मज्जाले फाइदा उठ्छ तर व्यापार नै भएन भने त सबै मेहनत खेर जान्छ’ सन्जु खत्री भन्छिन्,‘फेरि अलिकति पनि सेतो देखिएको छ भने व्यापारीले १० रुपैयाँमा पनि लाँदैनन् ।’ अघिल्लो वर्ष राम्रै नाफा भएको तर यो वर्ष भने पानीले फूल ढल्दा अलिअलि सेतो भएकाले व्यापारीले लग्नका लागि गाह्रो मानेको खत्रीको भनाइ छ । दिनरात गरेर उनेको मालाहरू बिक्री नभएर घरमै थन्किरहेको खत्रीले बताइन् ।
ज्यालामा माला उन्न लगाउँदा अरूले एउटा माला उनेको ५ रुपैयाँ लिने हुँदा जग्गाको भाँडा र ज्याला तिर्न पर्दा केही घाटा हुने खत्रीले जनाइन् । धेरैले त्यस गाँउमा आएर फूल खेती गरी आर्थिक प्रगति गरिसकेको भए पनि फुल नसप्रिँदा भने गाह्रो हुने खत्रीको भनाइ छ । ‘स्याहार नपुग्दा फुल बिग्रिन पनि सक्छ तर जे भएपनि खटेर मेहेनत गर्न सकियो भने त निकै फाइदा हुन्छ ।’ तरकारी खेतीमा भन्दा फूल खेतीमा बढी फाइदा हुने खत्रीको अनुभव छ ।