गाउँघर गुल्जार बनाऊ
नेपालीका महान् चाड दसैंतिहार भर्खरै सकिए। वर्षको एकपल्ट आउने पर्वहरूमा प्रायः गाउँमा युवा भेटिँदैनन्। गाउँ युवाविहीन छन्। वृद्धवृद्धा र बालबालिकाले मात्र धानेका छन्। केही गाउँ त यस्ता छन्, जहाँ बिहेमा जन्ती र मृत्युमा मलामी जानेसमेत युवा छैनन्। विरक्तलाग्दा बनेका छन् हाम्रा गाउँघर।
करिब २२ लाख नेपाली युवा विदेशी भूमिमा छन्। दिनप्रतिदिन देश छाड्ने जमात बढ्दो छ। दसैं र भाइटीकाको दिनसमेत युवा काँधमा झोला बोकेर देश छाड्न बाध्य भए। कतिपय रहरले विदेश पुगे भने बहुसंख्यक घरखर्च धान्नकै लागि देश छाड्न विवश छन्।
भाइटीकाको दिन धेरै दिदीबहिनीलाई खल्लो भयो। विदेशमा भएका दाजुभाइको पनि निधार खाली भयो। यो बाध्यता कहिलेसम्म रहने हो ? देशमै गरिखाने वातावरण कहिले बन्छ ? यो आम नेपालीको प्रश्न हो।
सन्तान साथमा नहुने बुवाआमा र जन्म गाउँ छाडेर मुग्लान छिरेका युवालाई मात्र यो पीडा थाहा छ। हुर्कंदै गरेका कलिला सन्तान। गर्भवती र सुत्केरी श्रीमती। बुढ्यौली लागेका बुवाआमा र साथीसंगीलाई छाडेर विदेशी भूमिमा पसिना बगाएकाले साँच्चिकै पीडा अनुभूत गरेका छन्। यस्तो अवस्थालाई रोक्न राज्यले विशेष ध्यान दिनुपर्छ। सरकारले नगरेको पनि होइन। तर, त्यो पर्याप्त कदापि छैन।
देशमा तीन तहका सरकार छन्। इच्छाशक्ति हुने हो भने गर्न सकिन्छ। गाउँमै रोजगारी दिने खालका गतिविधि सिर्जना गर्न सकिन्छ। तर, तीनै तहका सरकारको नेतृत्व गरिरहेकाहरूले देशको समृृद्धि, विकास र आर्थिक गतिविधि बढाउनेभन्दा भद्रगोल राजनीतिमै समय खेर फालिरहेका छन्। गालीगलौजको राजनीति हाबी छ। समृद्धि र विकासका एजेन्डाले प्राथमिकता पाउन सकेको छैन।
देशको विकास कसरी गर्न सकिन्छ भनेर बहसै चल्दैन। सडक आन्दोलन। गालीगलौज। टीकाटिप्पणी। अस्वच्छ राजनीतिको खिचातानीजस्ता कुराले मात्र प्र श्रय पाइरहे। अब यो रोक्नैपर्छ। देशको मुहार कसरी फर्ने ? रोजगारीको अवसर कसरी सिर्जना गर्ने ? दिनानुदिन बिदेसिएका युवालाई कसरी फिर्ता गर्ने ? यस्ता एजेन्डामा बहस र योजना ल्याउनुपर्छ।
चाडवाडको बेलामा बर्सेनि विरक्तलाग्दा देखिने गाउँघर अब दिनहुँ गुल्जार हुनैपर्छ। यसतर्फ सरकारको ध्यान जाओस्।