कर्मचारीको सिंहदरबार मोह
काठमाडौं बाहिर गएर काम गर्ने कर्मचारीहरू कि उनीहरूको पहुँच कमजोर भएकाले काठमाडौं आउन सकेका छैनन कि त उनीहरूको घरपायकमै छन्। हाम्रो कमजोर प्रणाली भएको कारणले काठमाडौं– तराई– हिमाल पहाडमा सरुवा रोटेसन हुन सकेको छैन।
सिंहदरबार, देशको प्रमुख प्रशासनिक केन्द्र । जहाँ सबैजसो संघीय मन्त्रालय तथा विभागलगायतका कार्यालय छन् । विकासका गुरुयोजना, नीति निर्माण सिंहदरबारभित्र नै हुने गर्छन् । प्रदेश वा स्थानीय तहबाट आएका योजना आवश्यक अध्ययन गरी छनोट गर्ने, बजेटमा समावेश गर्ने, नागरिक हितका कार्यक्रम कार्यान्वयनका लागि आवश्यक निर्देशन वा यस्ता धेरै काम हुन्छन् ।
देशको प्रमुख प्रशासनिक केन्द्र भएकोले पनि सिंहदरबारमा कर्मचारीको मोह नहुने कुरै भएन । सिंहदरबारमा रहने कर्मचारी पहुँच राजनीतिक नेतृत्वदेखि उच्च प्रशासनिक नेतृत्वसँग हुन्छ । वृत्ति विकासदेखि हरेक अवसरमा उनीहरूकै पहुँच हुन्छ । कतिपयले वैकल्पिक पेसा व्यवसाय पनि अपनाएको पाइन्छ । सिंहदरबारमा कार्यरत धेरै कर्मचारीहरू सेयरको कारोबार गर्छन् । यही भएर हालै सरकारले कार्यालय समयमा कर्मचारीले सेयर कारोबार गर्न प्रतिबन्ध लगाएको छ । तर अहिले पनि यो प्रतिबन्ध पूर्ण रूपमा कार्यान्वयनमा छैन । थोरै तलब भएका कारण जीवन यापनका लागि बाध्यता सेयर कारोबार गर्नु परेको कतिपय कर्मचारीको गुनासो गर्छन् । तर त्यो तर्कमा खासै दम छैन ।
अर्कोतिर सिंहदरबारमा बस्दा काम कम हुने भएका कारण कतिपय लोकसेवा तयारी गर्न सजिलो हुन्छ । उच्च शिक्षा हासिल गर्न सहज हुन्छ । सिंहदरबारभित्र काम गर्ने धेरै कर्मचारी लोकसेवाकै तयारीमा व्यस्त देखिन्छ । वृत्ति विकासका लागि लोकसेवा आयोगको तयारी कक्षाहरू काठमाडौं बाहेक अन्यत्र सञ्चालन भएको कमै पाइन्छ । लोकसेवा आयोगको तयारीका लागि सिंहदरबारको वातावरण मलिलो छ । पढ्नेमात्रै होइन लोकसेवा पढाउन कर्मचारी पनि सिंहदरबारमा त्यतिकै छन् ।
कतिपयले लोकसेवाको तयारी कक्षा नै सञ्चालन गर्छन् । सिंहदरबारबाट भच्र्युअल रूपमा पनि तयारी कक्षाहरू चलाउँछन् । कतिपय सचिवहरू अनलाइनबाट तयारी कक्षाहरूमा पढाउँछन् ।लोकसेवाका तयारी कक्षामा पढाउन जाने शाखा अधिकृतदेखि सहसचिवसम्मका छन् । कतिपय व्यापार व्यवसाय गर्छन् । अर्कोतिर काठमाडौं बाहिर जाँदा दुःख हुन्छ । दबाबमा काम गर्नुपर्ने हुन सक्छ । अख्तियारको फन्दामा कतिखेर परिन्छ भन्ने टुंगो हुँदैन । त्यही भएर सिंहदरबार नै बस्न मन पराउँछन् ।
काठमाडौं बाहिर गएर काम गर्ने कर्मचारीहरू कि उनीहरूको पहुँच कमजोर भएकाले काठमाडौं आउन सकेका छैनन कि त उनीहरूको घरपायकमै छन् । हाम्रो कमजोर प्रणाली भएको कारणले काठमाडौं– तराई– हिमाल पहाडमा सरुवा रोटेसन हुन सकेको छैन । पहुँचका आधारमा दुर्गम स्थानमा पदस्थापन वा सरुवा गर्दा पनि जान्न भन्न पाइने अवस्था रहेको छ । कतिपय कर्मचारी वर्षौंवर्षसम्म सिंहदरबारमा नै छन् । शक्ति केन्द्रहरूको पहुँच हुँदा कोही कर्मचारी सिंहदरबारभित्रैका निकायमै पनि एक वर्षमा ३।४ पटक सरुवा भएको देख्न सकिन्छ । कर्मचारीहरूको पारि श्रमिक कम रहेको हुँदा कर्मचारीहरू आफ्नो परिवारसँगै बस्न चाहन्छन् । तसर्थ काठमाडौं केन्द्रित भई बसेकाका लागि बाहिरको जागिर त्यति रुचिकर रहँदैन । सिंहदरवारमा मोहभन्दा पछि तर सुरक्षा रहेको कर्मचारीको बताउँछन् । संघीयताको जति नै गफ गरे पनि शिक्षा, स्वास्थ्य, वृत्ति विकासदेखि हरेक अवसरमा काठमाडौंमा केन्द्रित छ । संघीयताको पूर्ण कार्यान्वयन नहुँदा पनि कर्मचारीको सिंहदरबार मोह बढेको हो ।
सिंहदरबारमा बस्न खोज्नाका कारण : सिंहदरबारमा रहेका मन्त्रालय वा निकायमा जागिर खाँदा त्यहाँ हस्ताक्षर गरेको विषयले जागिर जाने सम्भावना न्यून हुन्छ । जोखिम युक्त काम गर्नु पर्दैन । सबै अवसर र पहुँच पनि हुन्छ । सीमित काम गरेर पनि जागिर खान पाइन्छ । दुर्गममा गई काम गर्नेहरूका लागि थप प्रोत्साहन नहुँदा किन बाहिर जाने भन्ने आम कर्मचारीहरूको प्रश्न गर्छन् । विगत वर्षसम्म शाखा अधिकृतबाट उपसचिवमा र उपसचिवबाट सहसचिवमा १०।११ वर्षमै भौगोलिक क्षेत्रमा काम गरेबापतको १६ नं प्राप्त गरेपछि बढुवा हुने अवस्था रहेको थियो । तर अब बढुवा ढिला हुन थाल्यो अब १३।१४ वर्ष नभई बढुवा हुँदैन । यदि कुनै कर्मचारी १२ वर्ष ८ महिना काठमाडौंमै बसेर नोकरी गर्छ भने पनि उसको १६ नं प्याक हुन्छ । अब भूगोलको नं लिन किन दुर्गम स्थानमा जाने ? त्यही भएर कर्मचारीको सिंहदरबार मोह बढी छ ।
छोराछोरीको गुणस्तरीय शिक्षाको लागि पनि धेरै कर्मचारीहरू काठमाडौंमै बस्न चाहन्छन् । स्वास्थ्य उपचारको व्यवस्था पनि काठमाडौं जत्तिको राम्रो अन्य स्थानमा छैन । स्वास्थ्य शिक्षाको कारणले सिंहदरबामा कर्मचारीको आकर्षण रहेको देखिन्छ । सिंहदरबारमा जागिर खाँदा विभिन्न तहका कर्मचारीहरूको राम्रो नेटवर्क बन्दछ । राजनीतिमा आस्थावान् कर्मचारीहरू त सिंहदरबारबाहेक अन्यत्र जानै चाहदैनन् । अध्ययन, तालिम, गोष्ठी, सेमिनारको लागि विदेश जान पनि सिंहदरबार रहँदा जति अन्य स्थानमा हुँदैन ।
सिंहदरबार मोह हटाउनको कर्मचारीको सरुवा प्रणालीलाई व्यवस्थित गर्नुपर्छ । सचिवबाहेकका कर्मचारी सिंहदरबारमा दुई वर्षभन्दा बढी राख्नु हँुदैन । त्यसको मतलव सरुवा गरेको गरै पनि गर्ने होइन । कर्मचारीको अनिवार्र्य रूपमा दुई वर्षमा सरुवा गर्ने व्यवस्था गर्नुपर्छ । वृत्ति विकासको हकमा समानुपातिक वितरण हुनुपर्छ । सिंहदरबार वा काठमाडौंलगायतका सुगम स्थानमा रहेका कर्मचारीलाई मात्रै अवसर प्रदान गर्ने काम रोकिनु पर्छ । बरु दुर्गम र विकट क्षेत्रमा खटिने कर्मचारीलाई वृत्ति विकासमा प्राथमिकता दिनु पर्छ । अध्ययन, तालिमदेखि बढुवासम्ममा दुर्गम र विकटमा खटिने कर्मचारीलाई उच्च प्राथमिकतामा राख्नुपर्छ ।
सिंहदरबारमा कर्मचारीको अनावश्यक दरबन्दी छ । अधिकांश कर्मचारी कामविहीन जस्तै छन् । अनावश्यक दरबन्दी कटौती गरेर आवश्यक ठाउँमा कर्मचारी खटाउनु पर्छ । सार्वजनिक सेवा प्रवाह हुने कार्यालयहरू कर्मचारीको अभाव छ । त्यस्ता कार्यालय दरबन्दी थपेर सिंहदरबारलगायतका अनावश्यक ठाउँका दरबन्दी घटाउनुको विकल्प छैन । लोकसेवा तयारी कक्षा पढाउन, व्यापारदेखि सेयर कारोबार गर्न कर्मचारीलाई कार्यालय समय पूर्णरूपमा प्रतिबन्ध लगाउनु पर्छ । भ्रष्टाचार, अनियमितता गर्ने कडाभन्दा कडा कारवाही गर्नुपर्छ । कर्मचारी तलबमान र बढुवामा अंक पनि दुर्गमबाट सुगम हुँदै काठमाडौं, सिंहदरबारको खटिनेहरूको क्रमशः घटाउँदै लैजानुपर्छ । अख्तियारको धङधङ्गी देखाएर पनि कर्मचारी सिंहदरबारमा बस्न चाहन्छन् । त्यो धङधङ्गीबाट कर्मचारी मुक्त गराउनु पर्छ ।