जापान काण्ड

मानव तस्करीमा आरोपित कोशीका पूर्वमन्त्री अधिकारीलाई अनुसन्धानका लागि काठमाडौं ल्याइयो

मानव तस्करीमा आरोपित कोशीका पूर्वमन्त्री अधिकारीलाई अनुसन्धानका लागि काठमाडौं ल्याइयो

काठमाडौं : कोशी प्रदेशका पूर्व आन्तरिक मामिला तथा कानुन मन्त्री लिलाबल्लभ अधिकारीलाई प्रहरीले विराटनगरबाट पक्राउ गरेर काठमाडौं ल्याएको छ।

मानव तस्करीको आरोप लगाएका अधिकारीलाई मोरङ प्रहरीले आइतबार उनकै निवासबाट पक्राउ गरी यति एयरलाइन्सको जहाजबाट काठमाडौं ल्याइएको हो। प्रदेश प्रहरी कार्यालयका प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक भीम दाहालले काठमाण्डौ जिल्ला अदालतले पक्राउ पूर्जी जारी गरेको र सोही आधारमा पक्राउ गरी काठमाडौं पठाइएको जानकारी दिए। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट अधिकारीलाई काठमाडौं प्रहरी परिसर लगिएको छ। 

नक्कली कागजात बनाएर जापान पुगेपछि डिपोर्ट भएका तीन जनाले जापान जान प्रतिव्यक्ति रु १० लाख बुझाएको प्रहरीको आरोप छ। कात्तिक १४ गते अधिकारीसँगै टोकियो विमानस्थलबाट खोटाङका ३६ वर्षीय दावा शेर्पा, खोटाङकै जनक राई र रसुवाका २२ वर्षीय कञ्चन देवकोटा डिपोर्ट भएका थिए।

नक्कली परिचयपत्र बनाई संगठित गिरोहलाई रकम बुझाएर गत साता जापान पुगेका तीन युवालाई जापानको अध्यागमनबाट फिर्ता गरिएलगत्तै त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पक्राउ गरेर प्रहरीले अनुसन्धानको दायरामा ल्याएको छ। अधिकारी सहभागी हुने कार्यक्रममै हिँडेको भन्दै जापान पुगेका उनीहरुलाई उनले नै फिर्ता ल्याएर नेपाल प्रहरीको जिम्मा लगाएका थिए। 

शंकास्पद कागजातका कारण जापानबाट फर्काइएपछि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अघिल्लो शनिबार आइपुगेका चारै जनालाई अध्यागमन कार्यालयले अनुसन्धानका लागि प्रहरीको जिम्मा लगाउने तयारी गरेको थियो। तर, यस घटनाको सूचना आफैंले पहिले प्रहरीलाई दिएको बताएपछि अधिकारीलाई छाडिएको थियो। मन्त्रि भएकाले र आफैंले सूचना दिएकाले एयरपोर्टबाट फुत्किएपनि थप अनुसन्धानका लागि भन्दै प्रहरीले आज पक्राउ गरेको छ।

नक्कली कागजात बनाएर जापान पुगेका रसुवाका कञ्चन देवकोटा खोटाङका दावा शेर्पा र जनक राईलाई प्रहरीले पक्राउ गरेर अनुसन्धान गरिरहेको छ। तत्कालीन मन्त्री अधिकारी आर्ट्स काउन्सिल टोकियोले अक्टोबर २९ देखि नोभेम्बर ३ सम्मका लागि आयोजना गरिएको ‘कल्चर एट होट’ कार्यक्रममा भाग लिन भनेर जापान गएका थिए। 

अधिकारीले भने तीन जनालाई आफूले हङकङमा भेटेको र फिर्ता ल्याएर नेपाल प्रहरीको जिम्मा लगाएको बताउँदै आएका छन्। तीन जनामध्ये शेर्पासँग खोटाङको ऐंसेलुखर्क–२ को वडा सदस्यको नक्कली परिचयपत्र थियो भने देवकोटा र राईले कोशी प्रदेशको आन्तरिक मामिला तथा कानुन मन्त्रालयको कर्मचारीको परिचयपत्र बोकेका थिए । 

कर्मचारीको नक्कली परिचयपत्रमा ‘निमित्त कार्यालय प्रमुख’ का रूपमा अधिकारीकै हस्ताक्षर छ । नक्कली परिचयपत्र प्रहरीले बरामद गरिसकेको छ । परिचयपत्रमा रहेको हस्ताक्षर किर्ते गरेर राखिएको अधिकारीको जिकिर छ । तीन जनाको बयानका आधारमा प्रहरीले नुवाकोटको विदुरका जुगल रिजाल, दोलखाको जिरीका वीरबहादुर सुनुवार र धादिङको त्रिपुरासुन्दरीका महेशविक्रम पाण्डेलाई पनि पक्राउ गरिसकेको छ। 

आज पक्राउ परेपछि कोशीका पूर्वमन्त्री लिलाबल्लभ अधिकारीले प्रहरीको अनुसन्धानमा आफूले सहयोग गर्ने बताएका छन्। अधिकारीले मानव तस्करहरूले आफूलाई उपयोग गरी जापान भ्रमण गराउन खोजेको र आफूले नै सूचक भई मानव तस्करको गिरोहलाई पक्राउ गराउन सहयोग गरेको बताउँदै आएका छन्।  प्रदेश र संघीय सरकारबाट अनुमति नलिई जापान भ्रमण गरेको र सो घटनामा मानव तस्करी गरेको आरोप लागेपछि अधिकारीले मन्त्रीबाट राजिनामा दिएका थिए। भ्रमण विवादमा परेपछि उनलाई नेकपा एमाले कोशी प्रदेश कमिटीले संगठित सदस्यबाट समेत निलम्बन गरिसकेको छ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.