कहिले बनिसक्ला थासाङको बेवारिसे (लेते-कुञ्जो) मोटरेबल पुल
जोमसोम : मुस्ताङको थासाङ गाउँपालिका स्थित (लेते-कुञ्जो) जोड्ने सस्पेन्सन मोटरेबल विगत २ वर्षदेखि बेवारिसे बनेको छ। २०७४ साल फागुनमा साबिक जिल्ला विकास समिति मुस्ताङले ठेक्का सम्झौता गरेको यो पुल ७ वर्ष पुग्न लाग्दा एक चौथाई पनि प्रगति भएको देखिँदैन।
थासाङको कालिगण्डकी पारीको कुञ्जो, ताक्लुङ, छयो, टिटी र झिप्रा देउराली लगायतका आधा दर्जन गाउँलाई लक्षित गरी निर्माण सुरु गरिएको (लेते-कुञ्जो) सस्पेन्सन मोटरेबल पुल पिल्लरमात्र ठडिएको अवस्थामा छ। कालिगण्डकी पारी ग्रामीण सडकलाई जोड्दै त्यस क्षेत्रका स्थानीय नागरिकहरू र त्यहाँ उत्पादन हुने कृषि उपजको सहज बजारीकरण गर्ने उद्देश्यले (लेते-कुञ्जो) जोड्ने मोटरबल पुलको योजना त्यहाँ परेको थियो। तर, त्यहाँ पुल निर्माण थालिएको वर्षौं बितिसक्दासमेत पुल नबेनपछि त्यस क्षेत्रका स्थानीय नागरिकहरूमा पुल बन्ने झिनो आशासमेत मरिसकेको छ। पुल बन्ला र सहज सडक आवतजावत गर्न पाइएला भन्ने उनीहरूको त्यो सपना समाप्त भइसकेको छ।
त्यससमय पुलको ठेक्का सम्झौता लगाउँदा पुल सुरक्षित राख्ने नदी प्रोटेक्सन र पुलको स्टक्चर स्टिल पार्टको लागत राख्न छुटेको थियो।
पुल निर्माणको काम सुरु हुँदै गर्दा कालिगण्डकी नदीको बाढीले पुलको बिममा क्षति पुर्यायो। पुलको भौतिक प्रगति करिब १५ प्रतिशत हुँदा पुल क्षति भएपछि पुलको दीर्घकालीन हुने गरी प्राविधिक सर्वेका लागि विदेशी प्राविधिक झिकाएर निर्माण स्थलको अनगुमन गर्यो। उक्त टोलीले त्यस समयमा पुलको प्रि-डिजाइन गर्नुपर्ने र लम्बाइ वृद्धि गर्नुपर्ने सुझावसहितको प्रतिवेदन पेश गर्यो। पुल जोखिममा पर्ने महसुस गरिएपछि अलपत्र परेको (लेते-कुञ्जो) पुलको काम अघि बढ्न सकेन। त्यसपछि २०७७ सालसम्म आइपुग्दा पुलको काम थप १२ प्रतिशत वृद्धि भइ २७ प्रतिशतमा पुग्यो। त्यसपछि भने उक्त पुलको भौतिक प्रगति शून्य अवस्थामा छ।
संघीय आयोजना अन्तर्गत निर्माण सुरु गरिएको (लेते-कुञ्जो)पुलको २०७७ सालमा संघीय आयोजनाबाट प्रदेश सरकारलाई स्वामित्व हस्तान्तरण भयो। गण्डकी प्रदेशले पुल बनाउने अख्तियारी प्राप्त गरेसँगै (लेते-कुञ्जो)पुल निर्माणलाई अघि बढाउने गरी भौतिक पूर्वाधार मन्त्रालय गण्डकीले सक्रियता देखायो।
सुरुवाती ठेक्का लगाउँदा छुटेको लागत समावेश गर्ने र पुल निर्माण सम्पन्न गर्ने गरी रिभर प्रोटेक्सन तथा एङ्करेज स्टील पार्टको लागि ३ करोड भिओ स्वीकृत गण्डकी मन्त्रिपरिषदको क्याबिनेटले गर्यो। कुनै पनि ठेक्का सम्झौता २५ प्रतिशतसम्म भिओ स्वीकृत गर्न क्याबिनेटबाट पास गर्नुपर्ने हुन्छ। सोही प्रावधान अनुसार (लेते-कुञ्जो) सस्पेन्सन मोटरेबल पुलको लागि वृद्धि भइ १४ करोड १९ लाख पुग्यो।
गण्डकी क्याबिनेटले भिओ स्वीकृत गरेसँगै २०७९ मा पुलको काम गर्न निर्माण कम्पनी स्वच्छन्द निर्माणसम्म कार्यस्थलमा फर्कियो। निर्माण कम्पनीले कालिगण्डकीमा रिभर प्रोटेक्सन लगायत एङ्करेज फाउन्डेसन लगायतको काम सुरु गर्यो। तर काम सुरु भएको सोही वर्ष कालिगण्डकी नदीको बाढीले नदी प्रोटेक्सन संरचनामा क्षति बनायो। त्यसपछि भने निर्माण कम्पनीका प्रतिनिधि र कामदार कार्यस्थलमा देखिन छाडी सम्पर्कबाहिर भए।
पुलको सुरुवाती २५ प्रतिशत भिओ स्वीकृत भइसकेको पुलका लागि निर्माण कम्पनी स्वच्छन्द निर्माणले सेवाले दोस्रो पटक १७ प्रतिशत भिओ स्वीकृतिको लागि कार्यालयलाई कागजपत्र पेश गरेको पूर्वाधार विकास कार्यालय मुस्ताङका प्रमुख अजय श्रेष्ठले जानकारी दिए।
कार्यालय प्रमुख श्रेष्ठका अनुसार कार्यालयबाट पत्रचार गरी माथिल्लो निकायमा निर्माण कम्पनीको पत्र पेश भएको र प्राप्त निर्देशन अनुसार कार्यालयले वर्कसप ड्रोईङ(नक्सा) पेश गर्न निर्माण व्यवसायीलाई पत्रचार गरिएको बताए । उनले हालसम्म पनि निर्माण कम्पनीले वर्कशप ड्रोईङ पेश नगरेको कार्यालय प्रमुख श्रेष्ठको भनाइ छ।
‘पुलको लागि आवश्यक एङक्रेज स्टिल पार्टको ठेक्का सम्झौतामा नभएकाले १७ प्रतिशत अर्थात करिव २ करोडको भिओ सिफारिस गर्न लिखत पत्र पेश भएको छ, हामीले पनि कार्यालयबाट गर्नपर्ने डकुमेन्ट सम्बन्धित निकायमा फरवार्ड गरिसकेका छौं, माथिबाट कुनै ठोस निर्णय आइसकेको छैन ’, कार्यालय प्रमुख श्रेष्ठले भने।
लेते-कुञ्जो पुल निर्माण अपूरो अवस्थामा रहँदा गतवर्षको मंसिरमा पूर्व वाणिज्य मन्त्री रोमी गौचन थकाली, संघीय प्रतिनिधि सदस्य योगेश गौचन थकाली, निर्माण कम्पनीका प्रतिनिधि अजय लामिछाने, पूर्वाधार विकास कार्यालय प्रमुख अजय श्रेष्ठ लगायतका स्थानीयवासीहरूको संयुक्त छलफल भएको थियो। पुल निर्माण स्थलमा भएको छलफलमा स्वच्छन्द निर्माण सेवाका प्रतिनिधि अजय लामिछाने पुलको अधरोकार्य एक साता भित्रै सुरु गर्ने प्रतिबद्धता जनाएका थिए। तर त्यसयता पुल निर्माणको कार्य अघि बढ्न सकेको छैन।