विद्यार्थी बनेर होस्टल पसेर चोरी गर्ने गिरोह सक्रिय
काठमाडौं : तपाईं होस्टल बस्नुहुन्छ ? कलेज जाँदा होस् या ट्युसन जाँदा होस्टलको कोठा खुल्ला राखेर हिँड्नुहुन्छ भने विचार गर्नुहोस् है। होस्टलमा पसेर ल्यापटप, गितार तथा महँगा सामान चोरी गर्ने गिरोह सक्रिय छ।
विद्यार्थी बनेर होस्टलमा पस्ने र खुल्ला कोठामा पसी ल्यापटप चोरेर भाग्ने दुई जनालाई प्रहरीले पक्राउ गरेको छ। उपत्यका अपराध अनुसन्धान कार्यालय र प्रहरी वृत्त बानेश्वरको टोलीले ल्यापटप चोरीमा संलग्न दुई जनालाई नियन्त्रणमा लिएको छ। उपत्यका अपराध अनुसन्धान कार्यालयका सूचना अधिकारी काजीकुमार आचार्यका अनुसार पक्राउ पर्नेमा छब्बिस पाथीभरा गाउँपालिका—३ बझाङ घर भई हाल काठमाडौं बस्ने २१ वर्षीय भीमबहादुर सिंह र सोही ठाउँका २१ वर्षीय कुम्भराज उपाध्याय छन्।
प्रहरी वृत्त बानेश्वरले दिएको जानकारीअनुसार यो समूह काठमाडौंमा ल्यापटप चोरीमा संलग्न छ। उनीहरूले विभिन्न होस्टलमा जाने र आफू त्यहाँ बस्ने विद्यार्थीको साथी तथा आफन्त भएको बताउँदै होस्टलको कोठामा प्रवेश गर्ने गर्थे। होस्टलमा साँचो नलगाई खुल्ला छाडेका कोठामा यिनीहरू प्रवेश गर्ने र त्यहाँ रहेको ल्यापटप, म्याकबुक, गितार, आइपड, मोबाइलजस्ता महँगा सामान लिएर हिँड्ने गरेका थिए। प्रहरीले यिनीहरूको साथबाट ७ वटा ल्यापटप, गितार, ३ वटा मोबाइल बरामद गरेको छ।
- उनीहरू विभिन्न होस्टलमा गएर आफू त्यहाँ बस्ने विद्यार्थीको साथी तथा आफन्त भएको बताउँदै होस्टलको कोठामा प्रवेश गर्थे।
- साँचो नलगाई खुला छाडेका कोठामा जाने र त्यहाँ रहेका ल्यापटप, म्याकबुक, गितार, आइपड, मोबाइलजस्ता महँगा सामान लिएर हिँड्ने गरेका थिए।
प्रहरीका अनुसार केही समयअघिदेखि होस्टलबाटै ल्यापटप चोरी भएको भन्दै प्रहरीकहाँ उजुरी आएको थियो। उजुरीको अनुसन्धान गर्ने क्रममा सम्बन्धित होस्टलको सीसीटीभी फुटेज चेक गर्ने क्रममा प्रहरी ल्यापटप चोर्ने गिरोहसम्म पुगेको हो।
प्रहरी वृत्त बानेश्वरका डीएसपी वीरेन्द्र गोदारका अनुसार होस्टलबाट चोरी गरेर ल्याएको ल्यापटप उनीहरूले अनलाइनमा सस्तो रकममा बेच्ने गर्थे। प्रहरीसँगको प्रारम्भिक बयानमा क्रममा पक्राउ परेका भीमबहादुर सिंहले चोरी गरेका पाँचवटा ल्यापटप बिक्री गरेको बताएका छन्। उनीहरूले अनलाइनका विभिन्न साइटमा गएर २० हजारदेखि ४० हजारसम्ममा ल्यापटप बिक्री गर्ने गरेका थिए।
उनीहरूले तीनकुने सुविधानगरमा रहेको सुभाषी ब्वाइज होस्टलमा एसर कम्पनीको ल्यापटप चोरी गरेका थिए। यस्तै तीनकुनेको बंगलामुखी होस्टलबाट एप्पलको म्याकबुक र गितार चोरी गरेका थिए। शंखमूलमा रहेको जेनेरेसन ब्वाइज होस्टलबाट दुई वटा ल्यापटप चोरी गरेका थिए। विभिन्न होस्टलबाट ल्यापटप हराएको निवेदन प्रहरीकहाँ आएकाले यो समूहले अन्य स्थानमा पनि चोरी गरेको हुन सक्ने प्रहरीको अनुमान छ।