जलवायु परिवर्तनले भौगोलिक बनावट नै जोखिमयुक्त : मन्त्री सिंह
काठमाडौं : उपप्रधान तथा शहरी विकासमन्त्री प्रकाशमान सिंहले जोखिमयुक्त भौगोलिक बनावटलाई बलियो बनाउनका लागि ध्यान केन्द्रीत गर्नुपर्ने बताएका छन्।
बिहीबार काठमाडौंमा दिगो पूर्वाधारका लागि जियोटेक्निक्स सम्मेलनको उद्घाटन गर्दै सिंहले जलवायु परिवर्तनको असरका कारण भौगोलिक बनावट जोखिमयुक्त हुँदै गएकाले यसलाई नविनतम प्रविधिद्वारा बलियो बनाउनका लागि ध्यान केन्द्रीत गर्नुपर्ने बताए।
नेपालको भौगोलिक बनावटका कारण धेरै प्राकृतिक प्रकोपका घटनाहरू भएकाले अब नविनतम जियोटेक्निक्सको प्रयोग गर्नुपर्नेमा उनले जोड दिए। नेपालमा विज्ञान, इन्जिनियरिङ र जियोइन्जिनियरिङको क्षेत्रमा धेरै चुनौतीहरू देखिएको उनले बताए।
त्यस्तै उनले अव्यवस्थित सहरीकरण,नदी किनारको अतिक्रमण,गलत संरचना निर्माणले पनि बेला बेलामा नागरिकहरु प्रभावित हुनुपरेको जिकिर गरे। सम्मेलनमा २५ भन्दा बढी देशका १ सय ५० भन्दा बढी अन्तर्राष्ट्रिय प्रतिनिधिहरू र ३ सय भन्दा बढी सहभागी रहेको आयोजक नेपाल जियोटेक्निलकल सोसाइटीले जनाएको छ ।