कोशीका मुख्यमन्त्री र मन्त्रीको सम्पत्ति विवरण सार्वजनिक

कोशीका मुख्यमन्त्री र मन्त्रीको सम्पत्ति विवरण सार्वजनिक
सुन्नुहोस्

विराटनगर : कोशी प्रदेशका मुख्यमन्त्री र मन्त्रीहरुले शुक्रबार आफ्नो सम्पत्ति विवरण सार्वजनिक गरेका छन्। मुख्यमन्त्री हिक्मतकुमार कार्की र अन्य मन्त्रीले सम्पत्ति विवरण सार्वजनिक गरेका हुन्। सम्पत्ति विवरण सार्वजनिक गर्न ढिलाइ गरेको भनेर उनीहरुको आलोचना भइरहेको थियो। मुख्यमन्त्री कार्कीको सम्पत्ति विवरण अनुसार उनका झापामा २ र ललितपुरमा ३ वटा घर छन्। 

झापाको गौरादह नगरपालिका–१ र ३ मा रहेका घर दाजु दीपक कार्कीसँगको संयुक्त हो। उक्त घर र जग्गाको स्रोत पैत्रिक सम्पत्ति भनेर कार्कीले उल्लेख गरेका छन्। ललितपुरको महालक्ष्मी नगरपालिका–४ स्थित घर र जग्गा भने श्रीमती अन्जना पाण्डे कार्कीको नाममा छ। घरसँगै २३२ र २८६ वर्गमिटर जग्गा छ। 

उक्त घर र जग्गा २०७७ सालमा १ करोड ४० लाखमा खरिद गरेको कार्कीले उल्लेख गरेका छन्। एभरेष्ट बैंकबाट ९० लाख रुपैयाँ ऋण लिएर र बाँकी रकम अन्य लगानीबाट घर जग्गा खरिद गरेको उनले देखाएका हुन्। मुख्यमन्त्री कार्कीले २०७७ साल असोजमा ऋण लिएको उल्लेख गरेका छन्। 

मुख्यमन्त्री कार्कीको हाउजिङ कम्पनी, अस्पताल र निजी विद्यालयमा लगानी छ। उनका अनुसार ड्रिमल्याण्ड हाउजिङ कम्पनीमा १० हजार कित्ता सेयर छ। काठमाडौंको कलंकीस्थित सहिद मेमोरियल अस्पतालमा १ हजार ५ सय कित्ता सेयर छ। श्रीमती अञ्जनाको नाममा लिभरपुल एजुकेशन नेटवर्क प्रा.लिमा २१ लाख ३८ हजार लगानी छ। 

मुख्यमन्त्री कार्कीले सम्पत्ति विवरणमा सवारीसाधनका बारेमा खुलाएका छैनन्। जसबाट उनीसँग सवारीसाधन भए/नभएको यकिन हुन सकेन। मुख्यमन्त्री कार्कीले ६ तोला सुन र १० तोला चाँदी रहेको विवरण सार्वजनिक गरेका छन्। 

अरु मन्त्रीको यस्तो छ विवरण 
प्रदेशको भौतिक पूर्वाधार विकासमन्त्री भूपेन्द्र राईले २ वटा घरसहित जग्गैजग्गा रहेको विवरण सार्वजनिक गरेका छन्। राई प्रदेशको स्वास्थ्यमन्त्रीसमेत हुन्। सम्पत्ति विवरण अनुसार राईको नाममा खोटाङको दिप्रुङ चुइचुम्मा गाउँपालिकामा २ वटा घर छन्। 

खोटाङमा १५ वटा छुट्टाछुट्टै कित्ता नम्बरको जग्गा छ। राईले घरजग्गाको स्रोत पैतृक देखाएका छन्। उनीसँग १५ तोल सुन र १० तोला चाँदी छ।

सामाजिक विकासमन्त्री पाँचकर्ण राईसँग २ वटा घर छन्। खोटाङ र भक्तपुरमा घर रहेको उनले सम्पत्ति विवरणमा खुलाएका छन्। राईले खोटाङको दिक्तेल–रुपाकोट–मझुवागढी नगरपालिकामा पुर्खौली स्रोतबाट एउटा घर जोडेको विवरण पेस गरेका छन्। भक्तपुरको मध्यपुर थिमीमा भने आफ्नै स्रोतबाट खरिद गरेको उल्लेख गरेका छन्। मन्त्री राईले खोटाङमा ६६ रोपनी जग्गा र १० तोल सुन रहेको सम्पत्ति विवरण सार्वजनिक गरेका छन्। 

आर्थिक मामिला तथा योजनामन्त्री रामबहादुर मगरको नाममा एउटा घर छ। इलामको ६ ठाउँमा जग्गा रहेको देखाएका उनले ३ वटा कम्पनीमा सेयर छ। उनले ३८ लाख ऋण देखाएका छन्। 

खानेपानी सिँचाइ तथा उर्जामन्त्री एकराज कार्कीले झापाको बिर्तामोडमा एउटा घर रहेको सम्पत्ति विवरण सार्वजनिक गरेका छन्। उनले श्रीमती र आफ्नो नाममा छुट्टाछुट्टै ८ वटा कित्ता नम्बरको जग्गा रहेको देखाएका छन्। मन्त्री कार्कीले साढे १० तोल सुन, एउटा गाडी रहेको सम्पत्ति देखाएका छन्। बैंक र व्यक्तिबाट १ करोड ५ लाख रुपैयाँ ऋण लिएको उल्लेख गरेका छन्। 

उद्योग कृषि तथा सहकारीमन्त्री खगेनसिंह हाङगामको नाममा ताप्लेजुङको मेरिङदेन गाउँपालिका– ४ मा घरजग्गा छ। ४५ तोल सुन र ४० तोला चाँदी आफूसँग रहेको विवरण उनले सार्वजनिक गरेका छन्। हाङगामको विभिन्न ७ वटा हाइड्रो पावरमा लगानी छ। 

पर्यटन, वन तथा वातावरणमन्त्री सदानन्द मण्डलले सुनसरीमा ६ बिघा जग्गा र घर रहेको विवरण सार्वजनिक गरेका छन्। उनले ३ करोड १९ लाखमा जग्गा खरिद गरेको उल्लेख गरे। उक्त जग्गा खरिदका लागि आफ्नो ११ बिघा जग्गा बिक्री गरेको मण्डलले खुलाएका छन्। त्यसबाहेक ३ स्थानमा खेती योग्य जमिन छ। 

कोशी प्रदेशकी राज्यमन्त्री सृजना राईको नाममा भोजपुरको भोजपुर नगरपालिका–८ मा एउटा घर र जग्गा छ।  ४ तोला सुन र २५ तोला चाँदी रहेको सम्पत्ति विवरण उनले सार्वजनिक गरेकी छन्। युनिक एण्ड युनाइडेट पब्लिक एकेडेमीमा पनि उनको लगानी छ। ७४ लाख रुपैयाँ ऋण रहेको राईले उल्लेख गरेकी छन्। 

भौतिक पूर्वाधार विकास राज्यमन्त्री भूमिप्रसाद राजवंशीसँग झापाको केचनकलमा एउटा घर छ। ठाउँठाउँमा जग्गा र ३० लाख बैंक मौज्दात रहेको सम्पत्ति विवरण उनले सार्वजनिक गरेका छन्। राजवंशीले २० तोला सुन र १ सय २४ तोला चाँदी खुलाएका छन्। राज्यमन्त्री राजवंशीले सम्पत्तिमा एउटा भरुवा बन्दुक आफूसँग रहेको खुलाएका छन्। 
 


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.