पीडामा रहेकालाई सहयोग गर्ने नेपालीको संस्कृति हो, यसलाई बढाउनुपर्छ : प्रचण्ड
काठमाडौं : नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले समाजमा दुःख पीडामा रहेकाहरुलाई सहयोग गर्नु नेपाली समाजको संस्कृति भएको बताएका छन्। गत कात्तिक २८ गते प्रकाश भुजेलले चलाएको गाडीको ठक्करबाट ज्यान गुमाएका नारायण नगरकोटी र श्रीमती सानुमाया नगरकोटीका दुई छोरीलाई शैक्षिक सामग्री सहयोग घोषणा तथा हस्तान्तरण कार्यक्रममा उनले सहयोग गर्ने संस्कृतिलाई बढाएर लैजानुपर्ने बताएका हुन्।
उनले भने, ‘समाजमा पीडामा भएका र सेवा आवश्यक रहेका व्यक्तिहरुलाई सहयोग गर्ने भावना नेपाली समाजको संस्कृति नै हो, यसलाई बढाएर लैजानुपर्छ ।’
समाजमा पीडामा रहेकाहरुको अभिभावकत्व सरकारले लिनुपर्ने भएपनि अहिले सरकार एउटा भन्ने र अर्को गर्ने अवस्थामा रहेको टिप्पणी गर्दै सकेसम्म समाजका पीडाहरुलाई नदेखेजस्तो गर्ने र गरे पनि आफ्नाहरुलाई मात्र गर्ने अवस्था रहेको बताए । यो बेलामा असक्त र पीडितहरुको पक्षमा समाजले नै बढी जिम्मेवारी लिनुपर्ने आवश्कयता रहेको उनको भनाई छ।
प्रचण्डले भने,‘मेरो घोषणालाई सुनेर सहयोग गर्ने भावना पैदा हुनु महत्वपूर्ण छ, यो एउटा घटना विशेष सहयोग भए पनि दुःख पीडामा परेकाहरुलाई सबैले हातेमालो गरेर सहयोग गर्नुपर्छ भन्ने यो देशैभरिका जनताका लागि एउटा सन्देश पनि हो ।’
पार्टीले बालिकाहरूको अभिभावकत्व लिने प्रतिबद्धता व्यक्त गरिसकेको उल्लेख गर्दै उहाँले त्यसलाई पूरा गर्ने र कक्षा १२ सम्म पार्टीले नै अभिभावकत्व लिएर पठनपाठनको व्यवस्था मिलाउने बताए।