हेटौंडा १२ मा मतदान सकियो
मकवानपुर : स्थानीय तहको उपनिर्वाचन अन्तर्गत हेटौंडा १२ को वडा अध्यक्ष पदका लागि भएको निर्वाचनमा ६८.९ प्रतिशत मत खसेको छ। आइतबार बिहान ७ बजेटबाट साँझ ५ बजेसम्म सञ्चालन भएको मतदानमा ६८.९ प्रतिशत मत खसेको हो।
२ वटा मतदान स्थलमा तयार पारिएको ९ मतदान केन्द्रमा कुल ८ हजार ५६ मतदाता मध्ये ५ हजार ४८४ जनाले मतदान गरेको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ। ४ हजार ४२८ मतदाता रहेको प्रतिभा आधारभूत विद्यालयको ५ मतदान केन्द्रमा ३ हजार १० मत खसेको छ भने विष्णुज्योती आधारभूत विद्यालयमा रहेको ४ मतदान केन्द्रमा २ हजार ४७४ मत खसेको जनाइएको छ।
मतदान कार्यक्रममा महिला २ हजार ९४६ र पुरुष २ हजार ५३७ मतदाताले सहभागिता जनाएका छन्। प्रतिभा मतदान केन्द्रमा १ हजार ६३७ महिला र १ हजार ३७२ पुरुषले मतदान गरेका छन्। विष्णुज्योती मतदान केन्द्रमा महिला १ हजार ३०९ र पुरुष १ हजार १६५ मतदाताले मत खसालेका छन्।
उक्त वडाको वडा अध्यक्ष पदमा १२ जना उम्मेदवार चुनावी प्रतिस्पर्धामा रहेका छन्। निर्वाचनका लागि कांग्रेसका अर्जुनप्रसाद तिवारी, एमालेका राजेश नगरकोटी, माओवादी केन्द्रका रविकुमार प्रधान, रास्वपाका आशावीर बल, राप्रपाका प्रेमबहादुर भोलन, जसपाका छविलाल वाइबा, मंगोल नेशनल अर्गनाइजेशकी दीपा लामा, नेमकिपाकी फूलमाया तितुङ र एकीकृत समाजवादीका बलराम बल उम्मेदवार छन् भने स्वतन्त्रबाट अर्जुन घलान, गिताकुमारी नेवार र छत्रप्रकाश अधिकारी चुनावी मैदानमा छन्।