ग्रामथानमा खस्यो ७१.३ प्रतिशत मत
विराटनगर : स्थानीय तह उपनिर्वाचनअन्तर्गत मोरङको ग्रामथान गाउँपालिकामा मतदान सकिएको छ। सहायक निर्वाचन अधिकृत रामराज पौडेलका अनुसार ७१.३ प्रतिशत मत खसेको छ। ७ वटा वडा रहेको ग्रामथानमा २६ हजार ४४ मतदाता थिए। तीमध्ये १८ हजार ५ सय ७७ जना मतदानमा सहभागी भएको पौडेलले बताए।
पुरुषभन्दा बढी महिला मतदानमा सहभागी भएका छन्। ९ हजार ६ सय ७७ जना महिला र ८ हजार ९ सय पुरुष मतदानमा सहभागी भएको जानकारी पौडेलले दिए। मतदाताको संख्या पनि पुरुषभन्दा महिलाको धेरै थियो। १३ हजार ४१ महिला र १३ हजार ३ पुरुष मतदाता रहेका थिए। मतदातामध्ये ७ हजार ४ सय ६७ जना मतदानमा सहभागी भएनन्।
आज (आइतबार) बिहान ७ बजेदेखि साँझ ५ बजेसम्म मतदानको समय तोकिएको थियो। ग्रामथानमा १२ मतदानस्थल र २९ मतदान केन्द्र कायम गरिएको थियो। विभिन्न दलबाट १५ र स्वतन्त्र १ सहित १६ जना उम्मेदवार चुनावी प्रतिस्पर्धामा थिए।
मतदान सकिएसँगै मतपेटिका संकलनको काम सुरु भएको मोरङका प्रमुख जिल्ला अधिकारी प्रेमप्रसाद भट्टराईले बताए। निर्वाचन शान्तिपूर्ण रूपमा सम्पन्न भएको भट्टराईले बताए। उनका अनुसार मतपेटिका संकलन सकिएपछि मतगणना सुरु गरिने छ। सर्वदलीय सहमति जुटेमा आजै रातिबाट मतगणना सुरु गर्ने तयारी छ। मतपेटिका संकलन सकिएपछि मुख्य निर्वाचन अधिकृतको कार्यालयले सर्वदलीय बैठक बोलाउने छ।