ककनी उपनिर्वाचन: ७१ प्रतिशत खस्यो मत
नुवाकोट : नुवाकोटको ककनी गाउँपालिका २ को वडाध्यक्ष पदको लागि मतदान सम्पन्न भएको छ। चार मतदान केन्द्रमा आइतबार निर्धारित समयसम्म ७१ प्रतिशत मत खसेको छ।
ककनी २ को वडाध्यक्षका लागि दुई स्थानमा राखिएको चार मतदान केन्द्र कायम गरिएका थिए। कुल तीनहजार एकसय ७३ जना मतदाता रहेको सो वडामा दुई हजार दुइसय ५५ जनाले मत खसेको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ। जिल्ला निर्वाचन अधिकारी होमबहादुर थापामगरले मतदाताले उत्साहजनक रूपमा मतदान गरेको बताए।
ककनी २ को वडामा गत २०७९ को स्थानीय तह निर्वाचनमा दुई हजार चारसय ५८ मत खसेको थियो। सो तुलनामा दुई सय तीन मत कम खसेको छ।
अहिलेको भन्दा पहिलेको मतदानमा सो वडामा ७६ प्रतिशत मत खसेको थियो। मतदान सकिएसँगै मतपेटिका रुजु, शिलवन्दीलगायत आवश्यक तयारी पूरा गरेर मतगणनास्थल ककनी २ को पुरानो काउलेदेवी आधारभूत विद्यालयमा मतपेटिका पुर्याइएको छ।
ककनीको उपनिर्वाचनमा चार वटा मतदान केन्द्र कायम गरिएका थिए। यससँगै ककनी गापा २ मा आइतबार वडाध्यक्ष पदका लागि स्थानीय तहअन्तर्गतको उपनिर्वाचनको मतदान सम्पन्न भएको छ भने मतदान सम्पन्न भएसँगै मतदान केन्द्रहरूबाट मतपेटिका संकलनको काम सकिएको छ। ककनी २ मा राखिएको चार मतदान केन्द्रबाट मतपेटिकाहरू मतगणनाका लागि मुख्य निर्वाचन अधिकृतको कार्यालय लगिएको छ।