गोरखामा मतगणना सुरु
गोरखा : गोरखा नगरपालिका –५ को उपनिर्वाचनको मतगणना सुरु भएको छ। वडाध्यक्ष पदका लागि आइतवार सम्पन्न मतदानको बेलुका आठबजेबाट मतगणना सुरु भएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ। ‘सर्बदलीय बैठक बसेर मतगणना सुरु गर्यौँ’, मुख्य निर्वाचन अधिकृत शिवबहादुर रानाभाटले भने।
वडा नम्बर ५ को कार्यालयमा स्थापना गरिएको निर्वाचन कार्यालयमा मतगणना सुरु गरिएको उनले बताए। तारजालीले बारेर स्थललाई सुरक्षित गरिएको छ भने निगरानीका लागि सीसीटीभी समेत जडान गरिएको छ। कुल १ हजार ३७३ मत खसेकाले मतगणना केही घण्टाभित्रै सम्पन्न गर्ने गरी गणना सुरु गरिएको कार्यालयले जनाएको छ।
गोरखा नगरपालिका ५ मा आइतबार सम्पन्न उपनिर्वाचनमा ६१ दशमलव ७१ प्रतिशत मत खसेको थियो। २२ सय २५ मतदातामध्य १३ सय ७३ मत खसेको निर्वाचन कार्यालयले जनाएको छ। ७२४ मतदाता रहेको गोरखकाली आधारभूत विद्यालय केन्द्रमा मतदान केन्द्रमा ४५८ मत खसेको छ। त्यस्तै ७२८ मतदाता रहेको शिवशक्ति आधारभूत विद्यालय ‘क’ केन्द्रमा ४६९ र ७७३ मतदाता रहेको सोही विद्यालयको ‘ख’ केन्द्रमा ४४६ मत खसेको कार्यालयका सूचना अधिकारी रविलाल सुवेदीले जानकारी दिए।
गण्डकी प्रदेशभर गोरखा नगरपालिका–५ मा मात्र उपनिर्वाचन भएको हो। वडाअध्यक्ष पदका लागि आइतबार बिहानैदेखि मतदात सुरु भई साँझ ५ बजे सम्पन्न भएको थियो। यसअघिका वडाध्यक्ष स्व. खिलबहादुर रानाको २०७९ कात्तिक १० गते निधन भएपश्चात रिक्त रहेको वडाध्यक्ष पदमा उपनिर्वाचन भएको हो। चुनावमा नौ दलका उम्मेदवार बीच प्रतिस्पर्धा भइरहेको छ।