रोल्पाको रुन्टिगढी गाउँपालिका ४ नम्बर वडाध्यक्षमा कांग्रेसका भुपमणि विजयी
रोल्पा : रोल्पाको रुन्टीगढी गाउँपालिका-४ को अध्यक्षमा नेपाली कांग्रेसका उमेदवार ५७ वर्षीय भुपमणि पुनमगर विजयी भएका छन्। ६ सय ४३ मत लिएर पुनमगर विजयी भएका हुन्।
उनका निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका उमेदवार बेगम पुनले ५३५ मत लिए। १ सय ८ मतान्तर सहित कांग्रेसबाट उमेदवार बनेका भुपमणी विजयी भएको नेपाली कांग्रेसका जिल्ला सचिव शेरबहादुर थापाले जानकारी दिए। माओवादी केन्द्रका उमेदवारले ७०, राष्ट्रिय स्वतन्त्र पार्टीका उमेदवारले १०, मंगोल नेशनल अर्गनाइजेसनका उम्मेदवारले ७ र राप्रपाले ७ मत पाएका छन्।
१ हजार ९ सय मतदाता रहेको ४ नम्बर वडामा १ हजार २ सय ९७ मत खसेको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ। खसेको मत मध्ये २१ मत बदर भयो। विजयी पुनमगरले २०४६ सालदेखि नेपाल विद्यार्थी संघबाट राजनीति गर्दै आएका थिए।
पूर्व शिक्षक समेत रहेका उनी २०७० सालको निर्वाचनका बेला कांग्रेसबाट समानुपातिक संविधान सभा सदस्यमा सिफारिस समेत भएका थिए। २०७४ तिर एमाले प्रवेश गरेका पुनमगर कांग्रेसमा फर्किएपछि पार्टीले उनैलाई उमेदवार बनाएपछि वडा अध्यक्षमा विजयी भएका हुन्।
२०७९ को चुनावमा पनि यस वडाको वडाध्यक्षमा कांग्रेसकै उमेदवार टंक पुन विजयी भएका थिए। त्यसबेला कांग्रेसले ४ सय ८८ र एमालेका उमेदवारले ४ सय ८० मत ल्याएका थिए। उतिबेला ८ मतको मतान्तर थियो। वडा अध्यक्ष टंकको स्क्रब टाईफसका कारण मृत्यु भएको थियो।