त्रियुगा नगरपालिका-१२ मा माओवादीका नविन विजयी
उदयपुर : उदयपुरको त्रियुगा नगरपालिका १२ को वडाध्यक्ष पदमा नेकपा माओवादी केन्द्रका नविनकुमार वान्तवा राई विजयी भएका छन् । सोमबार बिहान सम्पन्न मतगणनामा ९२३ मत ल्याएर माओवादीका राई विजयी भएका हुन् ।
उनका निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका लक्ष्मीनारायण चौधरीले ६०८ मत पाए । त्यसैगरी नेपाली काँग्रेसका संजिव काफ्लेले ३५१ मत ल्याएका छन् ।
यसअघि उक्त वडामा कांग्रेसबाट चूँडाराज काफ्ले वडाध्यक्षमा निर्वाचित भएका थिए । उनको निधन भएपछि भएको उपनिर्वाचनमा माओवादीले जित निकालेको हो ।
त्रियुगामा ६५ दशमलव ६८ र बेलका ९ मा ६० दशमलव १० प्रतिशत मत खसेको थियो । तीन हजार ८४७ मत रहेको त्रियुगामा दुई हजार ५२७ मत खसेको थियो ।