बझाङको सुर्मा-४ मा नेपाली काँग्रेसका पुजारा विजयी
बझाङ : बझाङको सुर्मा गाँउपालिका वडा नम्बर ४ को वडाध्यक्षमा नेपाली काँग्रेसका धिरेन्द्र पुजारा १७० मतान्तरले विजयी भएका छन् । काँग्रेस उम्मेदवार पुजाराले ६ सय ५७ मत प्राप्त गरि विजयी भएका हुन् ।
उनका निकटतम प्रतिद्वन्दी नेकपा एमालेका लखिचन्द्र बोहराले ४ सय ८७ मत प्राप्त गरेका छन् भने नेकपा माओवादी केन्द्रका उम्मेदवार पुस्कर बोहराले जम्मा १७ मत मात्रै प्राप्त गरे।
कुल एक हजार ५ सय ५४ मतदाता रहेको सो वडामा आइतवार भएको उपचिर्वाचनमा एक हजार १ सय ७८ मत खसेको थियो । यो वडामा यस अघिको निर्वाचनमा एमालेले जितेको थियो । वडाध्यक्ष सर्जन बोहराको निधन भएपछि रिक्त रहेको वडाध्यक्ष पदमा उपनिर्वाचन भएको हो । यसअघि यहाँ एमालेका सर्जन बहादुर बोहरा ६२९ मतसहित निर्वाचित हुँदा कांग्रेसका लोकबहादुर बोहराले ६०४ मत पाएका थिए ।