गौरीशंकरको उपाध्यक्षमा एमालेकी उमा लुङ्गेली विजयी
दोलखा : दोलखाको गौरीशंकर गाउँपालिकामा उपाध्यक्ष पदको उपनिर्वाचनमा नेकपा एमालेकी उम्मेद्वार उमा लुङ्गेली मगर शेर्पा विजयी भएकी छिन्। उनले २ हजार ८ सय ५ मत ल्याएर विजयी भएकी हुन्। उनका निकटतम् प्रतिस्पर्धी माओवादी केन्द्रकी नीमलेकी शेर्पाले २ हजार ६ सय मत ल्याएकी थिइन्।
उनी २ सय ५ मतान्तरले विजयी भएकी हुन्। नेपाली कांग्रेसको तर्फबाट उम्मेद्वार बनेकी स्वर्गीय श्यामसुन्दरको धर्मपत्नी पासदीकी शेर्पा तामाङले १ हजार ७ सय २७ मत ल्याएकी थिइन्।
निर्वाचनमा नेकपा एकीकृत समाजवादीकी रविना खड्काले ९० मत , राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाकी गोमा श्रेष्ठले १ सय मत, राप्रपाकी मनकुमारी श्रेष्ठले १ सय १८ मत, जनाता समाजवादी पार्टीकी उम्मेद्वार सपना कार्कीले २३ मत प्राप्त गरेका जिल्ला निर्वाचन कार्यालय दोलखाले जनाएको छ।
गौरीशंकरमा १२ वटा मतदानस्थलको २१ वटा मतदान केन्द्रमा जम्मा ७ हजार ५ सय ८९ मत खसेको थियो भने ८० मत बदर भएको थियो। जम्मा ९ वटा वडामा १५ हजार ७ सय १८ मतदाता रहेका थिए। गौरीशंकरमा उपाध्यक्ष पदका लागि भएको निर्वाचनमा ७ राजनीतिक दलसहित १६ जना उम्मेद्वार चुनावी मैदानमा रहेका थिए।
२०७९ को निर्वाचनमा उपाध्यक्ष पदमा कांग्रेसबाट श्यासुन्दर तामाङ निर्वाचित भएका थिए। गत वर्ष हृदयघातका कारण उनको मृत्यु भएपछि आइतबार उक्त पदमा निर्वाचन भएको हो।