रामकलेवा गरी सम्पन्न भयो विवाहपञ्चमी महोत्सव
जनकपुरधाम : साताव्यापी विवाहपञ्चमी महामहोत्सव शनिबार रामकलेवा (जन्ती भोज) गरी सम्पन्न भएको छ। रामसीताको वैवाहिक समारोहमा सहभागि हुन भारतको अयोध्या तथा विभिन्न स्थानबाट आएका सयौं जन्तीहरूलाई भोज खुवाएर स-सम्मान बिदाइ गरी विवाह महोत्सवको समापन भएको छ।
जानकी मन्दिरको परिसरमा बनाइएको वैवाहिक मण्डपमा रामसीता, लक्ष्मण उर्मिलाको स्वरूपमा सजाइएका प्रतीकात्मक स्वरूपलाई ५६ व्यञ्जन पस्किएको थियो। यहाँ सयौं साधुसन्त तथा श्रद्धालुहरूलाई समेत भोज खुवाइएको थियो। मन्दिरले आयोजना गरेको भोजमा प्रशासनिक निकायका व्यक्ति, सञ्चारकर्मी, राजनीतिकर्मी, व्यवसायी तथा समाजसेवीहरू रहेका थिए।
रामसीताको विवाहका लागि आएका जन्तीस्वरुप साधुसन्तहरूलाई भोज खुवाएपछि धोती, पानसुपारी र दक्षिणा दिएर जानकी मन्दिरका महन्थ रामतपेश्वर दास वैष्णव र उत्तराधिकारी महन्थ रामरोशन दास वैष्णवले स– सम्मान बिदाइ गरेका थिए।
रामकलेवाका अवसरमा विभिन्न सांस्कृतिक लोक गीत गाउँदै जन्तीहरूलाई भोजन गराइएको हो। एक सातादेखि जनकपुरमा आयोजित विवाहमहोत्सव अन्तर्गत यसवर्ष लाखौंको संख्यामा देशीविदेशी पर्यटकहरूको सहभागिता रहेको थियो। महोत्सवलाई आकर्षक बनाउनका लागि विभिन्न संघसंस्थाहरूद्वारा सांस्कृतिक कार्यक्रम तथा विभिन्न कलात्मक कार्यक्रमहरूको आयोजना गरिएको थियो।
महोत्सव अवधिभरीका लागि जानकी मन्दिरलाई दुलहीझैं सजाएर भव्य बनाइएको थियो। यस वर्ष तीन लाखभन्दा बढी श्रद्धालुहरूले समारोहमा सहभागिता जनाएको अनुमान गरिएको छ। महोत्सव अवधि भरी शान्ति सुव्यवस्थाका लागि प्रशासनिक निकायले कडा सुरक्षाको बन्दोबस्त गरेको थियो। नगर क्षेत्रमा बिना चेकजाँच सवारी साधन प्रवेशमा समेत रोक लगाइएको थियो। रामकलेवा गरी विवाहमहोत्सव सम्पन्न भएपछि जनकपुर आएका श्रद्धालु पर्यटकहरू घर फर्किन थालेका छन्।