नवलपुरमा ट्रमा सेन्टर निर्माणमा अलमल, बजेटको स्रोत सुनिश्चित अझै भएन

नवलपुरमा ट्रमा सेन्टर निर्माणमा अलमल, बजेटको स्रोत सुनिश्चित अझै भएन
सुन्नुहोस्

रमेश बस्ताकोटी

नवलपुर : नवलपुर जिल्लाको देवचुली १७ मा बन्ने भनिएको बहुप्रतिक्षित ट्रमा सेन्टर निर्माणको प्रक्रिया अलमलमा परेको छ। सरोकारवाला निकायहरूले गर्नुपर्ने काममा ढिलासुस्ती हुँदा निर्माण प्रक्रिया अलमलमा परेको हो। बजेटको स्रोत सुनिश्चितता, रुख कटान, सट्टाभर्ना लगायतका काममा ढिलासुस्ती भएको हो।

सघन सहरी विकास तथा भवन निर्माण आयोजना भरतपुरका प्रमुख झपट थापाले बजेटको स्रोत सुनिश्चित नहुँदा ठेक्का आह्वान गर्न नसकिएको बताए। ‘हामीले बजेटको सुनिश्चित गर्न अर्थमन्त्रालयमा लेखी पठाएका छौं, अहिलेसम्म स्रोत सुनिश्चित भएको छैन। स्रोत सुनिश्चित नभई ठेक्का लगाउन मिल्दैन’ थापाले भने। उनले बजेटको स्रोत सुनिश्चित हुनासाथ ठेक्का प्रक्रिया अगाडि बढ्ने बताए। ‘डीपीआर, नक्सा लगायत सबै काम पूरा गरेर बसेका छौं, रुखहरू काट्नुपर्ने कामसम्बन्धित निकायले गर्नुपर्छ, स्रोत निश्चित भएपछि काम अगाडि बढ्छ, कहिले स्रोत सुनिश्चित हुन्छ मैले भन्न सक्दिनँ’, उनले भने। उनले बजेटको स्रोत सुनिश्चित गर्ने प्रक्रिया अर्थमन्त्रालयमा रहेकाले त्यसको पर्खाइमा आफूहरू रहेको बताए।

नवलपुर क्षेत्र नम्बर १ बाट निर्वाचित संघीय सांसद डा. शशा‌ंक कोइरालाले बजेटको स्रोत सुनिश्चित गर्न ढिला गर्न नहुने बताए। ‘बजेटमा प्रष्ट उल्लेख छ, निर्माणका लागि जग्गाको भोगाधिकारको समेत निर्णय भइसक्यो, अब अर्थ मन्त्रालयले छिटो स्रोत सुनिश्चित गरिदिनुपर्छ’, डा कोइरालाले भने। उनले निर्माण प्रक्रिया छिटो सुरु गर्न आफूले निरन्तर पहल गरिरहेको बताए। ‘स्रोत सुनिश्चित गर्न भनिरहेको छु, अब छिट्टै होला। यो जिल्लाकै गौरवको आयोजना हो, छिट्टै काम सुरु हुन्छ’, उनले भने।

नेपाल सरकार मन्त्रिपरिषद्को गत साउन १४ गते बसेको बैठकले नवलपुरको देबचुली नगरपालिका वडा नम्बर १७ झराही खोला किनारको राष्ट्रिय वन क्षेत्रमा २ हेक्टर जग्गा ट्रमा सेन्टर निर्माण गर्ने गरी जग्गा भोगाधिकार दिने निर्णय गरेको थियो। देवचुली नगरपालिकाले जग्गाको सट्टाभर्ना दिनुपर्ने भए पनि त्यो अहिलेसम्म दिएको छैन। देबचुली नगरपालिकाका प्रमुख हरिप्रसाद न्यौपानेले सट्टाभर्ना वापतको रकम बुझाउने अन्तिम तयारीमा नगरपालिका रहेको बताए। ‘हामीले जग्गाको क्षतिपुर्ती तिर्नका लागि अन्तिम तयारीमा छौं, नगरसभाबाट पास गर्नुपर्ने भएकाले त्यसको तयारीमा छौं’, उनले भने। न्यौपानेले पुस १० गतेभित्र नगरसभा बस्ने र दोस्रो सातासम्ममा आफूहरूको तर्फबाट सबै काम सक्ने बताए। देबचुली नगरपालिकाले १ करोड ६० लाख क्षतिपूर्तिबापत बुझाउनुपर्ने न्यौपाने बताए।

ट्रमा सेन्टर निर्माण गर्ने भनिएको स्थलमा रहेको वन क्षेत्रमा कुल ६ सय ४६ थान रुख कटान गर्नुपर्ने अवस्था रहेको डिभिजन वन कार्यालय नवलपुरले जानकारी दिएको छ। रुख कटानका लागि सबै प्रतिवेदन डिभिजन वन कार्यालयको तर्फबाट वन विभागमा पठाइसकिएको डिभिजनल वन अधिकृत वसन्त केशव अधिकारीले बताए। ‘हामीले सबै प्रतिवेदन तयार गरेर विभागमा पठाइसक्यौं, कटान सहमती आउन काँकी छ। त्यो आएपछि रुख कटान लगायतका काम हुन्छन्’, अधिकारीले बताए। उनले कटान सहमति आउनका लागि नगरपालिकाले सट्टाभर्नालगायतका काम सक्नुपर्ने बताए। ‘सट्टाभर्ना लगायतका काम सक्नुपर्छ, ती सबै कागजात पछि मात्र कटाउन सहमति आउँछ, हामीले आफ्नो काम सकेर पठाएका छौं’, अधिकारीले भने।

देबचुली १७ मा रहेको झराही खोला किनारको वन क्षेत्रमा ट्रमा सेण्टर निर्माणका लागि १२० थान ठूला रुख, ४ सय ४६ थान बल्लाबल्ली, ८० थान लाछा तथा बिरुवा गरी जम्मा ४ सय ४६ थान कटान गर्नुपर्ने वन कार्यालयले जनाएको छ।

नेपालकै मध्यभागमा पर्ने नवलपुर जिल्लामा ट्रमा सेन्टर बन्ने भएपछि स्थानीयहरू उत्साहित छन्। देबचुली नगरपालिका– १७ का वडाध्यक्ष गणेश शर्मा चालिसेले भवन निर्माणको काम छिटो सुरु गरेर जनतालाई सकारात्मक सन्देश दिनुपर्ने बताए। ‘कतिपय कानुनी जटिलताहरू हुने रहेछन्, यसलाई छिट्टै समाधान गरेर निर्माणको काम सुरु गर्नुपर्छ। जनताको उत्साहलाई निराशामा बदल्न हुँदैन’, उनले भने। चालिसेले राष्ट्रिय प्राथमिकताको आयोजना भएकाले सबै सरोकारवाला निकायहरूले अलमल गर्नुभन्दा पनि छिट्टै कानुनी उल्झन सकेर अघि बढ्नुपर्ने बताए।

सरकारले बजेटमार्फत नवलपुर जिल्लाको देबचुली नगरपालिकामा ट्रमा सेण्टर निर्माण गर्ने घोषणा गरेको थियो।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.