दुर्गा प्रसाईंलाई सीआईबीको हिरासतमा सारियो

दुर्गा प्रसाईंलाई सीआईबीको हिरासतमा सारियो
फाइल तस्बिर
सुन्नुहोस्

काठमाडौं : विद्युतीय कारोबार ऐन अन्तर्गतको कसुरमा साइबर ब्यूरोमा रहेका दुर्गा प्रसाईलाई सीआईबीको हिरासतमा सारिएको छ। उनलाई आपराधिक लाभ सम्बन्धी कसुर र संगठित अपराधमा अनुसन्धान गर्नका लागि सोमबार सीआईबीमा सारिएको हो। 

विवादित छविका मेडिकल व्यवसायी दुर्गा प्रसाईलाई गत मंसिर ४ गते नेपाल प्रहरीको साइबर ब्यूरोले पक्राउ गरेको थियो। विद्युतीय कारोबार ऐन अन्तर्गतको कसुरमा उनीविरुद्धको अनुसन्धान सकाएर साइबर व्युरोले जिल्ला सरकारी वकिलको कार्यालयमा प्रतिवेदन बुझाएको छ। साइबर ब्यूरोका प्रवक्ता दीपक राज अवस्थीले दुर्गा प्रसाई विरुद्धको कसुरको अनुसन्धान सकाएर प्रतिवेदन बुझाइएको बताए। 

दुर्गा प्रसाई विरुद्ध आपराधिक लाभ र संगठित अपराध कसुरमा पनि पक्राउ पुर्जी जारी भएको छ। यी दुवै कसुरमा सँगसँगै अनुसन्धान गर्नका लागि उनलाई सीआइबीको हिरासतमा सारिएको हो। सीआईबीका प्रवक्ता होविन्द्र बोगटीका अनुसार सोमबार उनलाई साइबर ब्यूरोको हिरासतबाट सीआईबी ल्याइएको हो। 

प्रहरीसँगको प्रारम्भिक बयानका क्रममा प्रसाईंले विभिन्न व्यक्तिलाई पैसा दिएर व्यापारी तथा व्यवसायीलाई तर्साउन र धम्काउन लगाएको खुलेको छ। उनले आफूलाई लाभका लागि विभिन्न आपराधिक गिरोहसँग मिलेको र सहकार्य गरेको सीआईबीले बताएको छ। 

भाडामा काम लगाएका थिए फुयाँललाई 

गत मंसिर १३ गते नेपाल भारतको सिमानास्थित पानी ट्यांकीबाट झापाका हरिचन्द्र फुयाँल पक्राउ परेका थिए। सीआईबीको टोलीले फुयाँललाई व्यापारीहरूलाइ धम्काएको आरोपमा पक्राउ गरेको थियो। ‘आफूलाई भारतीय गुण्डा लरेन्स विश्नोइका नाममा फुयाँलले भारतमा बसेर भारतीय सिम र दुवईको कार्ड प्रयोग गरेर नेपालका व्यवसायीलाई धम्काउने गर्थे। दुर्गा प्रसाईंलाई आर्थिक सहयोग गर्नुस् भन्दै तर्साउने गर्थे। 

फुयाँलले दुर्गा प्रसाईंँ नेतृत्वको राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ महाअभियानलाई सहयोग नगरे ‘सिध्याउँछु’ भनेर धम्की दिने गरेका थिए। ‘म लरेन्स ग्याङबाट हुँ, दुर्गा प्रसाईंँले हिन्दु धर्म जोगाउन लडेको हुनाले उहाँलाई आर्थिक सहयोग गर्नुस्। भन्दै तर्साउने गर्थे,’ फुयाँलले बयानमा भनेका छन्। 

सीआईबी प्रमुख दीपक थापाका अनुसार फुयाँल माथि अनुसन्धान गर्ने क्रममा प्रसाईंसँग उनको कनेक्शन सार्वजनिक भएको हो। व्यापारी धम्काएको समयमा फुयाँल र दुर्गा प्रसाईंबीच १०० भन्दा धेरै पटक टेलिफोन संवाद भएको रेकर्ड प्रहरीले फेला पारेको छ। दुर्गा प्रसाईंले मान्छे नै खटाएर व्यापारी धम्काउने र संगठित अपराध गर्ने गरेको प्रहरी अनुमान छ। फुयाँलको पृष्ठभूमि पनि विवादित नै देखिन्छ। भारतमा नवीन प्रधानको नामबाट आधार कार्ड बनाएका फुयाँल बेलाबेला आर्थिक अपराधमा मुछिने गरेका थिए।
 
व्यवसायी धम्काउन दुर्गाले दिएका थिए ५ लाख नगद

सीआईबी प्रवक्ता बोगटीका अनुसार पक्राउ परेका फुयाँलले प्रहरीसँगको बयानमा आफूलाई पाँच लाख रकम दिएर दुर्गा प्रसाईंले खटाएको बताएका छन्। प्रसाईंले फुयाँललाई पैसा दिन पनि अन्य व्यक्ति खटाएका थिए। विभिन्न ठूला व्यापारी, व्यवसायी तथा बैंकका प्रमुखहरूको नाम लिस्ट दिएर प्रसाईंले रकम माग गर्न लगाएका थिए। उनले व्यापारीलाई फोन गरेर दुर्गा प्रसाईंलाई सहयोग नगरे व्यापारीको विस्तृत विवरण आफूसँग रहेको भन्दै धम्की दिने गरेका थिए। 

अनुसन्धानका क्रममा प्रहरीले भारतीय नम्बरबाट १४१ वटा धम्कीपुर्ण कल आएको प्रमाण फेला पारेको छ। विभिन्न ४ जनाले सीआईबीमा उजुरी दिएका छन्। उजुरीका विषयमा अनुसन्धान भइरहेको छ। प्रवक्ता बोगटी भन्छन्, ‘दुर्गा प्रसाईं विरुद्ध दुई वटै कसुरमा सँगसँगै अनुसन्धान हुनेछ। 

दुर्गा प्रसाईंले प्रधानमन्त्री केपी शर्मा ओलीको मानमर्दन हुने गरी झुटो र भ्रामक समाचार सम्प्रेषण गरेका थिए। प्रसाईंले व्यक्तिगत फेसबुक पेज र अपडेट सेरोफेरो नामक फेसबुक पेजबाट सम्माननीय प्रधानमन्त्रीज्यूको कम्बोडियामा ठूलो लगानी छ भन्दै भ्रामक सूचना सार्वजनिक गरेका थिए। सार्वजनिक गरिएको पोस्टमा प्रसाईंले प्रधानमन्त्रीको नागरिकताको प्रतिलिपि समेत नक्कली देखाएका थिए। विभिन्न साइटबाट गलत विल विजक निकालेर लगानी रहेको भन्दै विश्वास दिलाएका थिए। 

गलत सूचना फैलाई, सार्वजनिक नैतिकता, शिष्टाचारमा असर पार्ने गरी घृणा, द्वेष फैलाउने कार्य गरेकाले दुर्गा प्रसाद प्रसाईंलाई यस अघि नै पक्राउ गरेको थियो। प्रहरीसँगको बयानका क्रममा प्रसाईंले प्रधानमन्त्री सम्बन्धी सूचना झुटो र बनिबनाउ रहेको बताएका थिए। 


 


 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.