‘नेपालले सबै छिमेकीसँग राम्रो सम्बन्ध राख्नुपर्छ’
काठमाडौं : अमेरिकी सहायक विदेशमन्त्री डोनाल्ड लुले नेपालले चीनलगायत सबै छिमेकी राष्ट्रहरूसँग राम्रो सम्बन्ध राख्नुपर्ने धारणा व्यक्त गरेका छन्। दक्षिण एवं मध्यएसिया मामिला हेर्ने लुले सोमबार अमेरिकी दूतावासमा सञ्चारकर्मीसँग कुराकानी गर्दै छिमेकीसँगको उक्त सम्बन्ध पारस्परिक सम्मान, नेपालको सार्वभौमसत्ता र देशको स्वतन्त्रताको सम्मानका आधारमा हुनुपर्ने बताए।
हालै चीनसँग नेपाल सरकारले गरेको बीआरआई सम्झौताको विषयमा बोल्दै उनले आफूले उक्त सम्झौताको विस्तृत दस्तावेज अहिलेसम्म हेर्न नपाएको सुनाए। नेपाली जनताले जस्तै आफूले पनि निकट भविष्यमा नै यस सम्झौताको विस्तृत विवरण हेर्न चाहेको र यसमा पारदर्शिता अपनाइनेछ भन्नेमा उनले विश्वास व्यक्त गरे। भारत, श्रीलंका र नेपाल भ्रमण गर्ने क्रममा सहायक विदेशमन्त्री लु आइतबार काठमाडौं आएका हुन्।
नेपालमा संक्रमणकालीन न्याय पारित भएकोमा सरकार र विभिन्न दलका नेताहरूलाई बधाई दिएको उनले बताए। यस प्रक्रियामा अगाडि बढ्दै जाने क्रममा धेरै कठिन र चुनौतीपूर्ण चरणहरू पार गर्नु परे तापनि सरकार र विपक्षी दलका नेताहरू मिलेर शान्ति प्रक्रियालाई टुंगोमा पु¥याउन गरेको प्रयासको उनले प्रशंसा गरे। सत्य निरुपण तथा मेलमिलाप र बेपत्ता छानबिन आयोगका पदाधिकारीका लागि सिफारिस समितिले गरेको सर्ट लिस्टका विषयमा उनले पत्रकारसँग जिज्ञासासमेत राखेका थिए।
एमसीसी कम्प्याक्टको कार्यान्वयन, यूएसएडको पोर्टफोलियोमा वृद्धि, पिस कोर्प स्वयंसेवक कार्यक्रममा वृद्धिलगायतका द्विपक्षीय सम्बन्धमा भएका प्रगतिका लागि उनले नेपाललाई बधाई दिए।
नेपालमा महिला सशक्तीकरणका क्षेत्रमा काम गर्न पाउँदा अमेरिकी सरकार उत्साहित रहेको उनले बताए। नेपाल, भारत र बंगलादेशमा हरित ऊर्जामा स्टार्टअपहरू सुरु गर्न अमेरिकी सरकार राज्य विभागले इसिमोडलाई ९ लाख डलर उपलब्ध गराएको उनले जानकारी दिए।
उक्त परियोजनाको हस्ताक्षर समारोहमा आफू सहभागी हुन पाउँदा खुसी लागेको उनले जनाए। साथै विश्वव्यापी रूपमा बढेको जलवायु परिवर्तनका विषयमा पनि काम गर्न पनि अमेरिकी सरकारलगायत सबैले भूमिका निर्वाह गर्नुपर्ने उनले बताए।
नेपाल र अमेरिकाबीचको मित्रता ७७ वर्ष पुरानो भइसकेकाले नेपाल र अमेरिकी जनताबीचको न्यानो सम्बन्ध पनि अझै प्रगाढ हुँदै गएको उनले जनाए। नेपालमा अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) पारितको चरणमा पटक–पटक नेपाल आएका लीले आफ्नो कार्यकालमा नेपालमा यो अन्तिम भ्रमण भएको जनाए।