१५ सय विद्यार्थीको आँखा परीक्षण
नुवाकोट : ग्रामीण भेगमा रहेका विद्यार्थीको सुविधाका लागि नुवाकोटको पूर्वी भेगमा रहेको तादी गाउँपालिकास्थित विभिन्न विद्यालयमा पुगेर विद्यार्थीको आँखा परीक्षण गरिएको छ।
सामुदायिक आँखा केन्द्र नुवाकोट, रेडक्रस नुवाकोट शाखा, रेडक्रस खरानीटार उपशाखा, युवा रेडक्रस सर्कलको सहयोग र सहजीकरणमा तिलगंगा आँखा प्रतिष्ठान काठमाडौंको प्राविधिक सहयोगमा आयोजित निःशुल्क विद्यालय आँखा कार्यक्रम सम्पन्न भएको हो। आँखा प्राविधिकहरू तादी गाउँपालिकाको विभिन्न माविमा पुगेर विद्यार्थीको आँखा परीक्षण गरेका हुन्।
विभिन्न विद्यालयमा अध्ययनरत एक हजार चार सय ६८ जना विद्यार्थीको आँखा परीक्षण गरिएको छ। ७६ जना विद्यार्थीले चस्मा लगाउनु पर्ने सिफारिस भएको आयोजक रेडक्रस नुवाकोटका सभापति हरि श्रेष्ठले जानकारी दिए। विद्यालयमा पुगेर विद्यार्थीको आँखा जाँच कार्यक्रमलाई निरन्तरता दिन तादी गापा अध्यक्ष सन्तमान तामाङले आग्रह गरेका छन्।