'वातावरण प्रदूषण रोक्न योजना बनाएका छौं'
काठमाडौं : वन तथा वातावरण मन्त्री ऐनबहादुर शाही ठकुरीले वातावरणलाई प्रदूषित हुन नदिन इन्धनको गुणस्तर सुधार र औधोगिक प्रदूषण नियन्त्रणमा जोड दिएको बताएका छन्।
राष्ट्रिय मानवअधिकार आयोगले बिहीवार काठमाडौंमा आयोजना गरेको वातावरणीय मानव अधिकार रक्षकको दोस्रो सम्मेलन उद्घाटन गर्दै मन्त्री ठकुरीले वायु प्रदर्शन मापन यन्त्रहरुद्वारा तथ्याङ्क संकलन गरी वातावरणलाई प्रदूषित हुन नदिन इन्धनको गुणस्तर सुधार र औधोगीक प्रदूषण नियन्त्रणको योजना बनाएको बताएका हुन्।
काठमाडौं उपत्यकाका लागि वायु गुणस्तर व्यवस्थापन कार्ययोजना कार्यान्वयनका लागि विभिन्न निकायको समन्वय आवश्यक रहेको उनले बताए। मन्त्री ठकुरीले वायु गुणस्तर व्यवस्थापनका लागि भएका प्रयासहरूलाई स्थायी र दिगो बनाउनका लागि अझै धेरै कदमहरू चाल्न आवश्यक रहेको धारणा राखे।
वायु प्रदुषणका स्रोत पहिचान गरी त्यसको नियन्त्रणमा कडा निगरानी राख्न आवश्यक रहेको उनको भनाइ छ । मानवअधिकार आयोगका अध्यक्ष तपबहादुर मगरले नागरिकको स्वच्छ, स्वस्थ र सुरक्षित वातावरणीय अधिकारको लागि संवैधानिक दायित्व बमोजिम क्रियाशील रहेको जानकारी दिए।