चितवनलाई मेडिकल हवको रुपमा विकास गर्नुपर्छ : मन्त्री सिंह
काठमाडौं : उपप्रधान तथा शहरी विकास मन्त्री प्रकाशमान सिंहले नीजि स्तरबाट खुलेका स्वास्थ्यसंस्थाहरूले जनतालाई केन्द्रबिन्दुमा राखेर काम गर्नुपर्ने बताएका छन्। शुक्रबार चितवनको भरतपुरमा नेशनल सिटी अस्पतालको उदघाटन कार्यक्रममा उनले जनतालाई केन्द्रमा राखि सहज रुपमा सुविधा उपलब्ध गराएर नीजि स्तरबाट खुलेका स्वास्थ्यसंस्थाहरूले काम गर्नुपर्ने बताएका हुन् । निजी क्षेत्रबाट खुलेका अस्पतालबाट जनताले गुणस्तरीय सेवा पाउनुका साथै रोजगारी पनि सिर्जना गर्ने उनले बताए।
त्यस्तै बागमती प्रदेशका स्वास्थ्य मन्त्री किरण थापाले चितवन जिल्लामा बढ्दो शहरीकरणका साथै मेडिकल हवको रुपमा विकास हुँदै गएको भन्दै व्यवस्थित गर्नुपर्नेमा जोड दिए। त्यस्तै बागमती प्रदेशका वनमन्त्री कृष्ण प्रसाद सिलवालले निजी क्षेत्रका अस्पतालहरूको लागि जग्गाको समस्या हुने गरेकाले यस विषयमा उचित निकास निकाल्नुपर्ने धारणा राखे।
नीजि क्षेत्रमा काम गर्दै आएका चिकित्सकहरूले १ सय शैयाको उक्त अस्पताल सञ्चालनमा ल्याएका हुन् । अत्याधुनिक उपकरण र विशेषज्ञ सेवा रहेको उक्त अस्पतालमा करिब १ अर्ब १५ करोड लगानी रहेको बताइएको छ ।