विचारले जन्माउने नेतृत्व
संसारमा हरेक वस्तुको आयु हुन्छ– सजीव होस् कि निर्जीव। समयको एउटा हद पार गरेपछि वस्तुको विलय भएर जान्छ र अर्को कुनै जन्मिन्छ। यहाँ वस्तुको मात्र होइन, विचारको समेत आयु हुन्छ। फोर्बस् पत्रिकामा छापिएको एउटा लेख ‘विचार सधैंभरि रहँदैन’मा बिल फिश्चरले पनि विचारको आयुलाई जोड दिएका छन्। विचारको आयु सकिएपछि त्यसको विलय हुन्छ र अर्को विचार जन्मिन्छ।
अहिलेसम्मको इतिहास हामीले हे¥यौं भने कुनै पनि एउटा मात्र विचारले शासन गरिरहेको छैन। एकपछि अर्को अनि अर्कोपछि अर्को गरेर थेसिस, एन्टीथेसिस हुँदै यहाँसम्म आइपुगेको समय हो यो। कुनै विचारको महत्व र सान्दर्भिकता केही हदसम्म सदाबहार हुनसक्ला, लाग्नसक्ला तर सम्पूर्णतामा त्यही विचारको सधैंभरि सबै ठाउँमा महत्व रहिराख्छ भन्ने हुँदैन। त्यही भएर विचार एकपछि अर्को जन्मिए, जन्मिरहेका छन्। प्लेटो, अरस्तु, हाइडेगर, माक्र्स, डार्बिन हुँदै आइपुगेको अवस्था हो यो। विश्व हाँक्ने विचारले हो। समाज र देश सुन्दर बनाउने विचारले हो अनि भ्रष्ट बनाउने पनि त्यही विचारले हो।
जसरी परिवर्तनशील हुन्छ समय, एउटै विचारले त्यो परिवर्तनशील समयको जिम्मा लिइराख्न सक्दैन। त्यो परिवर्तनशील समयसँग कामयाबी हुन्। अस्तित्वमा रहे राखेको विचार मर्नुपर्छ र अर्को विचार जन्मिनुपर्छ कि अस्तित्वमै रहिरहेको विचारको परिमार्जन र संशोधन गरिनुपर्छ समयसापेक्ष। एउटै विचारले वर्षौंवर्ष पार्टी–सत्ता जमाउन खोज्यो भने त्यसले न कुनै अर्थ राख्छ न त्यसले अर्थपूर्ण परिणाम दिन सक्छ। तसर्थ त्यस्तो विचार केवल घातक सिवाय केही हुन्न र त्यसले समाजलाई अगाडि बढाउनुको सट्टा गलत दिशातिर लान्छ।
अहिले नेपालको राजनीतिमा विचारको खडेरी छ। वर्षौं भयो एउटै विचारमा, झुटो भ्रम र आश्वासनमा नेताहरूले देशमाथि शासन गरिरहेछन्, पालैपालो। जब बिचारको खडेरी लाग्छ वा पुरानो विचारले काम गर्न छोड्छ र अर्को नयाँ विचारको जन्म हुन सक्दैन अनि नेताहरूले गर्ने भनेको षड्यन्त्रकारी भाष्यको प्रवाह हो। अरूलाई नराम्रो र गलत देखाएर आफूलाई राम्रो, नैतिक र जिम्मेवार देखाउने भ्रम पैदा गर्नु।
अहिलेसम्म भएका सत्ता परिवर्तन, क्रान्ति, व्यवस्था परिवर्तन, समाज विकास विचार परिवर्तन सँगै जन्मिएका हुन्, त्यसमा दुई मत छैन। तर, जनतालाई के महसुस भइसकेको छ भने त्यो विचार परिवर्तन केवल व्यक्तिगत र पदीय लाभका लागि मात्र गरिएका हुन् र त्यसको अर्थ समाज र राष्ट्र परिवर्तनसँग जोडेर गरिएको छैन। त्यही भएर यी परिवर्तन हात्तीका देखाउने दाँत सिवाय अरू केही हुन सकेको छैन।
हाम्रो देश नेपाल विश्वको तुलनामा माथि नउठ्नु पछाडि पनि यही व्यक्तिगत लाभ र पदका लोभमा केन्द्रित विचारको कारणले भएको हो। देश र जनताका लागि मनैबाट सबै मिलेर अगाडि बढ्ने साझा विचारको परिकल्पना कहिल्यै भएन। यस्तो वैचारिक खेलमा हाम्रा नेताहरू लागिरहे जसले एउटै मात्र कुरालाई केन्द्रमा राखिरह्यो– त्यो हो कसले कसलाई लडाउने, अर्कोलाई झारेर आफू माथि कसरी पुग्ने, उसको नराम्रो देखाएर आफूलाई राम्रो कसरी देखाउने ?
कसैले राम्रो गर्न लाग्यो भने त्यसलाई कसरी खसाल्ने र बाचुन्जेल आफैंले मात्र सत्ताको बागडोर सम्हाल्ने ? त्यसको सेखी कसरी झार्ने ?
अर्को भाषणमा कुन भाष्य प्रयोग गर्ने ? कुन ‘स्ट्राटेजी’ लगाएर जनताको मत तान्ने ? उनीहरूको विचार र दैनिकी खाली यिनै विषयमाथि घुमिरह्यो। जुन सदियौंदेखि यसरी नै चलिरह्यो अर्को कुनै नयाँ विचार जुन समाज र राष्ट्रका लागि हितकर हुन्छ, त्यो कहिल्यै अगाडि आउन सकेन। भएका आन्दोलन र बलिदानी पनि केवल व्यक्तिगत लाभ र स्वार्थपूर्तिका लागि मात्र भए।
त्यही भएर आजका दिनसम्म आइपुग्दा हामीले कस्तो नेता पायौंभन्दा पनि कस्तो विचारको नेता पायौं भन्ने कुरा सोच्नु जरुरी छ। जहानियाँ राणा शासनको अन्त्य पछाडि र खास गरी पञ्चायतीव्यवस्थापछि जति पनि नेतालाई हामीले चुनेर माथि पठायौं, उनीहरू विचारको एउटा तहभन्दा माथि उठ्न सकेका छैनन्। जो त्यही एउटा भ्रममा बाँचिरहेका छन् कि यो देश चलाउन सक्ने उनीहरू मात्र हुन् किनकि उनीहरूले पञ्चायती व्यवस्थाविरुद्ध लडे, देशमा प्रजातन्त्र ल्याए, वर्षौं जेल बसे आदि इत्यादि तर उनीहरूले यो बुझ्न सकेका छैनन् कि उनीहरूको त्यो सिद्धान्त र विचारको अवसान देशमा प्रजातन्त्र आएकै दिन मृत भइसक्यो।
पछि माओवादी जनयुद्ध आयो र अर्को विचारले राजतन्त्र ढाल्यो। त्यसपछि त्यो बिचारको अन्त्य त्यही भइसक्यो। जुन विचारले जुन परिवर्तन आयो वा आउँछ, त्यही विचारले परिवर्तन पछि समयलाई सम्बोधन नगर्न सक्छ, न त्यो बिचारले देशको नेतृत्व नै गर्न सक्छ। विचार मात्र होइन, ती बिचार जन्माउने नायकहरू पनि स्वतः विचारको अवसान सँगै नालायक हुन पुग्छन्। यदि ती नायक सत्तामै रहने यदि हो भने कि नयाँ विचार जुन देश र जनाको हितमा समय सापेक्ष हुन सकोस्, लाई बोकेर मैदानमा उत्रिनु प¥यो कि नयाँ विचार लिएर अगाडि बढेका वर्गहरूलाई साथ दिनुप¥यो।
तिनै पुराना थोत्रा आदर्श र पुराना बिचार बोकेर म देशको परिवर्तन गर्छु, जनताको सेवा गर्छु भन्दै जनतासामु भ्रम छर्नु उनीहरूको नालायकीपन सिवाय अर्को केही हुन सक्दैन। अहिले देशमा भएको अवस्था नै यही हो। हिजो पञ्चायती व्यवस्था ढाल्न जो थिए तिनैले आजको २१औं शताब्दीको नेपाललाई चलाउन सक्दैनन्। उनीहरूसँग अनुभव होला तर आजको नेपाल हाँक्ने विचार प्रायः स्खलित भइसकेको छ। सत्तामा हुँदा एउटा वा दुइटा राम्रा काम गरेर आजको युगको नेपाल धानिँदैन, त्यो त फगत सत्तामा रहँदा होस् वा बाहिर, उनीहरूले गरेका कुकर्म र भ्रष्टाचारलाई छेकथुन गर्ने र अर्को चुनावमा भोट माग्न जाने आधार सिवाय अरू केही हुन्न। जुन यथार्थ जनतालाई थाहा भइसकेको छ कि अब तिनीहरूले यो देशको सानलाई जोगाउन सक्दैन। यो प्रस्ट हुन्छ जब हामी सडक र सोसल मिडियामा आफ्नो आक्रोश लिएर आएका जनता देख्छौं, भेट्छौं।
हामीलाई त एउटा यस्तो बलियो बिचारले गर्ने नेतृत्व चाहिएको छ जसको कारण यो नेपालमै बसेर रोजीरोटी गर्न सक्ने हैसियत सबै नेपालीले राखुन्। २१औं शताब्दीको नेपाल न त लरिबरिएको विचारले धान्न सक्छ, न भाषणबाजीले। नेपालको सन्दर्भमा मोनोरेल र कीर्तिपुरको डाँडोमा ल्यापटप चलाउने सपना देखाउने होइन, अब काम गरेर देखाउने नेतृत्व चाहिएको छ। जुन भ्रष्ट मति होइन, प्रस्ट विचार जुन सिधै देश र जनताको हितसँग जोडिएको छ, त्यसले मात्र काम गर्न सक्छ। देशको विकास कहिले हुन्छ ? (व्यवस्था परिवर्तन, अक्षर र शब्दमा होइन काम र व्यवहारमा) भनेर आस गरेको नेपाली जनताले वर्षौं भयो तर हामी सत्तामा तिनै पुराना बासी नेता र बासी बिचारलाई बेहोरेका बेहोरेकै छौं।
एउटा बाध्यता झैं केही पाउने आसमा र लोभमा उनीहरूको पछि कुदेर, आसेपासे भएरै उनीहरूकै मरिसकेको बिचारको मक्काएको डोरी समातेर उसैको प्रचार–प्रसार र विज्ञापनमा हाम्रो ओझपूर्ण समय, जवानी र बौद्धिकताको क्षय गरिराखेका छौं। यो नेपाल र नेपालीका लागि दुःखद् र दर्दनाक अवस्था हो। यी विचार र ती विचारलाई बोकेर हिँड्ने यो देशका नेता भनाउँदालाई नगल्हत्याउने हो भने हाम्रो अवस्था अझै पछिसम्म यस्तै ज्युँका त्युँ हुनेछ।