‘पश्चिमका नाम चलेकाभन्दा हिमालय खण्डका विश्वविद्यालय हजारौं वर्ष पुराना हुन्’

‘पश्चिमका नाम चलेकाभन्दा हिमालय खण्डका विश्वविद्यालय हजारौं वर्ष पुराना हुन्’

‘गुरुत्वाकर्षणको सिद्धान्त न्युटनले भन्दा सयौं वर्ष पहिला नालन्दा विश्वविद्यालयका प्राध्यापक आर्यभटले पत्ता लगाएका थिए ।’

काभ्रे : प्रधानमन्त्री केपी शर्मा ओलीले विकसित देशका पुराना र ख्यातिप्राप्त विश्वविद्यालयभन्दा हिमालय खण्डमा धेरै पहिले विश्वविद्यालय स्थापना भइसकेको बताएका छन् । ‘नालन्दा र आसपासका १० वटा विश्वविद्यालय हिमालय खण्डमा हजार वर्षभन्दा अघि नै थिए’, ओलीले भने, ‘पश्चिममा देशहरूमा हजार वर्ष पुगेकै छैनन् ।’ 

उनले अक्स्फोर्ड, क्याम्ब्रिज, हार्डवर्ड, कोलम्बियाजस्ता प्रसिद्ध विश्वविद्यालयको स्थापनासँग नालन्दाको इतिहासलाई दाँजे । भारतको प्रख्यात नालन्दा विश्वविद्यालय सन् ४२७ मा स्थापना भएको थियो । जब कि अक्स्फोर्ड सन् १०९६, क्याम्ब्रिज १२०९, हार्डवर्ड १६३६ र  कोलम्बिया १७५४ मा स्थापना भएका थिए । 

‘हामीले हामी को हौं ? भनेर चिन्नुपर्छ । खोज र अनुसन्धान गर्ने पूर्खाका सन्तान हौं, बुझ्नुपर्छ विद्यार्थीले’, धुलिखेलस्थित काठमाडौं विश्वविद्यालयको ३०औं दीक्षान्त समारोहलाई शनिबार सम्बोधन गर्दै कुलपतिसमेत रहेका प्रधानमन्त्री ओलीले भने, ‘नालन्दा विश्वविद्यालयका प्राध्यापक आर्यभटले पाँचौं शताब्दीमा गुरुत्वाकर्षणको सिद्धान्त पत्ता लगाएका थिए । जब कि त्यही कुरा न्युटनले १६औं शताब्दीमा पत्ता लगाएको भनिने गरिन्छ । हामी नबुझेर ग्राभिटेसन थ्यौरी न्यूटनले पत्ता लगाएका हुन् भनिरहेछौं ।’ 

प्रधानमन्त्री ओलीले विश्वका धेरै देश र त्यहाँका नाम चलेका व्यक्तिले गरेका काम त्यो समयभन्दा हजारौं वर्षअघि हिमालय खण्डमा रहेका हाम्रा पितापूर्खाले गरिसकेको उल्लेख गरे । उनले भने, ‘आर्यभट्टले पत्ता लगाएको पाँच सय वर्षपछि भाष्कराचार्यले पत्ता लगाएका थिए । उनले ११५० मै पृथ्वी कस्तो छ, यसको गोलाइ कत्रो छ ? पृथ्वीबाट सूर्यको दूरी कति छ ? पृथ्वीको तौल कति छ ? सबै पत्ता लगाइसकेका रहेछन् । आज विज्ञानले त्यसलाई सही प्रमाणित गरेको छ ।’

अहिले जेनेभामा अन्तरिक्ष अध्ययनसम्बन्धी रिसर्च सेन्टरमा भाष्कराचार्य द्वितीयको नाम महागणितीज्ञ, महावैज्ञानिक भनेर लेखिएको ओलीको भनाइ छ । उनका अनुसार, हाम्रा पितापूर्खाहरूले धेरै अगाडि त्यस्ता आविष्कार गरेका थिए । ‘तर, ती कुरा विस्तार हुन सकेनन्, ओझेलमा परे । हो, त्यसैले हामीपछि पर्‍यौं, अगाडि बढ्न सकेनौं’, कुलपति ओलीले थपे, ‘शिक्षाको सुरुआत भएको ठाउँ । योगको सुरुआत भएको ठाउँ । ज्ञान र ध्यानको सुरुआत भएको ठाउँ । तिनको विस्तार र फैलावट भएको ठाउँ हो यो ।’

ओलीले महर्षि चरक यहीँका थिए जो स्वास्थ्य विज्ञानका प्रणेता मानिन्छन् भन्दै चरकले तीन हजार वर्षअघि नै चरकसंहिता नामको किताब लेखेको दाबी गरे । ज्योतिश शास्त्र, गणित सबैका महाविद्वान् भएको उनको भनाइ छ । ‘२८ सय वर्षभन्दा अगाडि सुस्रुत भन्ने ऋषि थिए सुनसरीको चतारामा विश्वामित्रका छोरा । उनैले हो पहिलो शल्यक्रिया गरेको तर जनसंख्या कमीले यहाँ प्रयोगमा ल्याइरहन सकेनन्’, ओलीले भने, ‘अनि वनारस गएर शल्यक्रिया विज्ञानको प्रयोग गरे । यी कुरा धेरैलाई थाहा छैन । जतिबेला विश्व अन्धकारमा थियो, त्यतिबेला यहाँ प्रकृति, दर्शन, जीवन र विज्ञानका बारेमा खोज अनुसन्धान भइसकेको थियो ।’ सृष्टि कसरी हुन्छ ? यसको अन्त्य कसरी हुन्छ ? 

अध्ययन, बहस, चिन्तनमनन यहीँ हुन्थ्यो भन्दै प्रधानमन्त्री ओलीले झन्डै चार हजार वर्षअघि जनकपुरमा यस्ता विविध विषयमा शास्त्रार्थ हुने गरेको पनि दाबी गरे । ‘त्यसबेलाका ग्रन्थहरू छन् । त्यसैले तपाईं विद्यार्थीहरूले हामी को हौं ? थाहा पाउनुपर्छ भनेर भनेको हुँ’, उनले भने, ‘अरूका गल्तीले नेपाल मरुभूमि बन्दै छ भनेर थाहा पाउनुपर्छ विद्यार्थीले ।’ उनले आफूले काठमाडौं विश्वविद्यालयले अध्ययन र अनुसन्धानमा धेरै सफलता प्राप्त गरिरहेको साथै अन्य विश्वविद्यालयसँग सहकार्य पनि गरिरहेको भन्दै खुसी प्रकट गरे ।

रोजगारी खोज्ने नभई रोजगारी सिर्जना गर्ने आत्मनिर्भरतामा आधारित शिक्षा दिने ढंगले सरकार अघि बढ्ने ओलीले बताए । उनले प्रमाणपत्रले मात्रै दक्ष नहुने भएकाले कस्तो नागरिक हो भन्ने विषय चरित्र र नैतिकताले प्रष्ट्याउने पनि प्रष्ट पारे । ओलीले नेपालको शिक्षा व्यावहारिक र प्राविधिकसहित जीवनोपयोगी बनाउन पाठ्यक्रम निर्माण गर्न विश्वविद्यालयलाई सुझाव दिएका थिए । विद्यार्थीले नेपाल र नेपालीका लागि राष्ट्रियता, आवश्यकता र आयआर्जन उन्मुख कार्यमा सहभागी हुनुपर्नेमा जोड दिँदै कुलपति ओलीले विद्यार्थीलाई अनुरोध गरे ।

‘मान्छे नमरेसम्म उसको अध्ययनको काम सकिन्न, बाचुँन्जेल अध्ययनको काम चलिरहन्छ’, ओलीले थपे, ‘मान्छेले आफूलाई व्यावहारिक रूपमा अघि बढाउँदै लैजानुपर्छ ।’ युवालाई रोजगारी दिने हैन, रोजगारी सिर्जना गर्ने शिक्षा दिनुपर्ने जोड दिए । जनवायु परिवर्तन लगायतका कारण नेपालका हिमालहरू कालापत्थरमा परिणत हुँदै गएको बताउँदै वातारणीय न्यायका लागि सरकार लागिरहेको ओलीको भनाइ छ ।

‘अब जागिर दिने शिक्षा दिने हैन, जागिर सिर्जना गर्ने खालको शिक्षा, आत्मनिर्भर ढंगले जब दिने शिक्षातर्फ अघि बढेका छौं, यसका निम्ति केयूलगायतका विश्वविद्यालय नमुनाका रूपमा अघि बढिरहेका छन्’, प्रधानमन्त्री ओलीले भने । उनले विद्यार्थीलाई पढाईसँगै रोजगारीमा जोड्दै आत्मनिर्भर बनाउन देशका नमुना विश्वविद्यालयसँग सहकार्य र समन्वय गर्दै जाने उल्लेख गरे । उनले भने, ‘सर्टिफिकेट रोजगारीको एउटा आधार हो, दक्ष नागरिक हुन आचरण, व्यवहार, शैली र बोलीचालीले निर्धारण गर्छ ।’ उनले सीप र उत्तरदायित्वबाट विद्यार्थीले देश र नागरिकको पहिचान कायम 
राख्नुपर्नेमा जोड दिए ।

भारतको पटनास्थित इन्डियन इन्स्टिच्युट अफ टेक्नोलोजीका निर्देशक प्रा. त्रिलोकनाथ सिंहले नेपाल–भारतको इतिहास र भूगोलमा असाधारण सम्बन्ध रहेको बताएका थिए । ‘व्यापार, शिक्षा र अनुसन्धानका क्षेत्रमा भएको पारस्परिक सम्बन्ध र नवप्रवर्तनका क्षेत्रमा दुई देशको साझेदारीले साझा प्रगति र दीगो विकासका मार्ग प्रशस्त गरेको छ’, उनले भने, ‘दुई देशबीचका उदाहरणीय परियोजनाले पनि राष्ट्रबीचको विश्वास र साझेदारीको गहिरो भावनालाई पनि उत्प्रेरित गर्न सक्छ भन्न सकिन्छ ।’

काठमाडौं विश्वविद्यालयका उपकुलपति भोला थापाले सही सीप, प्रतिष्ठित डिग्री र बलियो मानसिकताबाट सुसज्जित भएकाले उच्च शिक्षामा न्याय र समानताका लागि काठमाडौं विश्वविद्यालय कोसेढुङ्गा बनिरहेको बताए । 

शैक्षिक उत्कृष्टता, नवप्रवर्तन, सामाजिक प्रभाव र वैश्विक पहिचान निर्माण गर्न सम्पूर्ण ऊर्जा केन्द्रित गरेको उपकुलपति थापाले बताए । लक्ष्य हासिल गर्नका लागि स्थानीय र विश्वव्यापी बजारका बदलिँदा मागहरूलाई ध्यानमा राखी विशेष रूपमा तयार पारिएका कार्यक्रमहरू सञ्चालन गरेको उनले बताए ।

ज्ञानलाई लोकतान्त्रीकरण गर्ने काठमाडौं विश्वविद्यालयको लक्ष्यअनुरूप हामीले उन्नत डिजिटल प्लेटफर्मद्वारा समर्थित सुलभ शैक्षिक विकल्प प्रदान गर्दै पहुँच बढाउने काम गरेको उपकुलपति थापाले बताए । 

वैश्विक रूपमा काठमाडौं विश्वविद्यालयको ब्रान्ड मूल्यलाई बलियो बनाउन हामीले दृश्यात्मक र अनलाइन उपस्थिति निर्माण गर्दै आएको बताए । अनुसन्धानमा नवप्रवर्तन, शिक्षा र उद्योग, अन्तर्राष्ट्रिय सहकार्य र पहुँच गर्ने कार्यक्रमहरू अघि बढाइएको थापाले बताए । 

काठमाडौं विश्वविद्यालयको इतिहासमा पहिलोपटक स्कुल अफ आर्ट्सको मास्टर इन अर्वान स्टडिजमा ५ जना, मास्टर इन मिडिया स्टडिजमा १ जना र मास्टर अफ फाइन आर्टसमा २१ जनालाई पहिलोपटक उपाधि प्रदान गरिएको छ ।

त्यसैगरी स्कुल अफ एजुकेसनको मास्टर इन इनडिजाइनस एजुकेसन एन्ड डेभलपमेन्टमा १९ जना र मास्टर इन टे«ेनिङ एन्ड डेभलपमेन्टमा १२ जनालाई पहिलो पटक उपाधि प्रदान गरिएको छ । स्कुल अफ इन्जिनियरिङको मास्टर इन हेल्थ इन्फरमेटिक्समा २ जना एम टेक इन इनर्जी सिस्टम ४ जनालाई पहिलो पटक उपाधि प्रदान गरिएको छ ।

स्कुल अफ मेडिकल साइन्सेजको ब्याचलर अफ साइन्स मेडिकल इमाइजिङ टेक्नोलोजीमा ८ जना र ब्याचलर अफ साइन्स इन ल्याबोटरी मेडिसिनमा १० जनालाई पहिलो पटक उपाधि प्रदान गरिएको हो । तीसौं दीक्षान्त (पहिलो चरण) सम्ममा काठमाडौं विश्वविद्यालयबाट ४६ हजार ६ सय ९३ जना दीक्षित भएका छन् । तीमध्ये ५७ देशका ५ हजार ५ सय ४२ जना विदेशी विद्यार्थी छन् । दीक्षान्त समारोहअघि काठमाडौं विश्वविद्यालय सभाको ९८ औं बैठक प्रधानमन्त्री तथा कुलपति केपी शर्मा ओलीको अध्यक्षतामा विश्वविद्यालय परिसरमा बसेको प्रवक्ता एक्कुमाया पुनले जानकारी दिइन् । 

समारोहमा विश्वविद्यालयका आर्ट्स, एजुकेसन, इन्जिनियरिङ, ल, म्यानेजमेन्ट, मेडिकल साइन्सेज र साइन्स संकायका पीएचडी तहका ३ जना, पीजीडी तहका ५१ जना, एमफिल तहका ३३ जना, स्नातकोत्तर तहका ३ सय ८५ जना, स्नातक तहका ७ सय ८४ जनासहित जम्मा १ हजार २ सय ५६ जना विद्यार्थी दीक्षित हुने छन् । तीमध्ये आर्टसका १११ जना, एजुकेसनका २५३ जना, इन्जिनियरिङका ७७ जना, लका ३९ जना, म्यानेजमेन्टका ४६५ जना, मेडिकल साइन्सेजका १८१ जना र साइन्सका १३० जना रहने छन् ।

दीक्षित हुने विद्यार्थीमध्ये पुरुषको संख्या ६ सय १५ (४८.९६ प्रतिशत) र महिलाको संख्या (६ सय ४१) ५१.०४ प्रतिशत रहनेछ । दीक्षित हुनेमध्ये विदेशी विद्यार्थीहरू ६ प्रतिशत छन् । तीमध्ये भारत, चीन, श्रीलंका, बंगलादेश, बेलायत, संयुक्त राज्य अमेरिका, फ्रान्स, इरान र भुटान गरी ९ देशका ७५ जना विदेशी विद्यार्थी रहने छन् । तीमध्ये स्कुल अफ आर्ट्सका १७ जना, स्कुल अफ एजुकेसनका ५ जना र स्कुल अफ मेडिकल साइन्सेजका ५३ जना छन् ।


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.