कथा चन्द्रसूर्य अंकित राष्ट्रध्वजको

राष्ट्रिय झन्डा दिवस

कथा चन्द्रसूर्य अंकित राष्ट्रध्वजको

राष्ट्रिय झन्डा अर्थात् राष्ट्रध्वज। जुन देशको पहिचान, देशको सर्वोच्चता, अन्तर्राष्ट्रिय परिचय हो। अझै भनौं, देशको सर्वोच्च पहिचान हो। विश्वका सबै राष्ट्रको राष्ट्रध्वज हुन्छ। हरेक देशको आफ्नो इतिहास, पहिचान र सार्वभौमसत्तामा आधारित रहेर राष्ट्रिय झन्डा प्रयोग गरिएको हुन्छ। नेपालका छिमेकी मुलुक भारत तथा चीन पनि ब्रिटिस शासकको अधिनमा कैयौं वर्ष रहे। जसकारण त्यस देशका पहिचान र सार्वभौमसत्ता समाप्त हुन गयो। त्यहाँका मौलिकता, धर्म–संस्कृति, चाडपर्व, इतिहाससमेत नष्ट भएको इतिहासमा पढ्न पाइन्छ।

नेपालका छिमेकी मुलुक भारत तथा चीनसमेत अंग्रेजको शासनको प्रभावमा आज पनि ईस्वी सम्वत्को प्रयोग गर्छन् भने विक्रमादित्य सम्वत्को प्रयोग गर्दैनन्। शक्तिशाली देशको जहाँ–जहाँ प्रभाव र झन्डा गाडियो, त्यहाँ–त्यहाँका इतिहास नष्ट भएको पाइन्छ। नेपाल एक त्यस्तो देश थियो, जसलाई कसैको गिद्धे नजर लगााउन सकेन। केही अंग्रेजसँगको युद्धमा पनि नेपालले हार बेहोर्न परेन। त्यसैका कारण नेपालको राष्ट्रध्वजलाई कसैले च्यात्न वा अधिनमा राख्न सकेन। ब्रिटिस शासकहरूसँग नेपालका शासकहरूको सुमधुर सम्बन्ध रहनु पनि नेपाल स्वतन्त्र र अपराजित राष्ट्र रहनुको एक कारण हो। कुनै पनि युद्धमा पराजित नहुनाले आजसम्म पनि हामी नेपाली हाम्रो वीरताको गाथाले छाति चौडा पार्दछौं। यसै विरताको प्रतिविम्ब चन्द्रसूर्य अंकित हाम्रो राष्ट्रध्वज हो।

राष्ट्रिय झन्डाको सुरुवातकर्ता को हुन् ?   कुन राजा हुन् वा कुन वंश या कालमा भयो ?   लिखित दस्तावेज, ताम्रपत्र, शिलापत्र या कुनै स्पष्ट अभिलेख आजसम्म भेटिँदैन। विभिन्न धर्मशास्त्रमा नेपालको झन्डा चन्द्रसूर्यको विश्लेषण र महत्वबारे दर्शाइएको भए तापनि यसको वास्तविक सत्य यही नै हो भन्ने सत्यता प्राप्त गर्न सकेको छैन। नेपाल राज्यको उत्पत्ति या यहाँको शासनकाल र राज्यसत्ताको सुरुआतसँगै यहाँ राजा, रजौटाहरूले नै राष्ट्रध्वजको सुरुवात गरेको हुनसक्ने आकलन भने गर्न सकिन्छ। आफ्नो जमिन र आफ्नो क्षेत्रको पहिचान र रक्षार्थ झन्डाको प्रयोग भएको हुनुपर्छ। त्यसै अनुरूप आज पनि कुनै पनि राष्ट्रको पहिचान झन्डामा गएर ठोकिन्छ।

ईशापूर्वमा गोपाल वंश, महिषपाल वंश, किरात वंश, लिच्छिवी वंश, मल्ल वंश, तत्पश्चात् शाह वंशका राजाहरू एकै झन्डामुनि राज्य गर्थे। अथवा, हरेक वंशमा छुट्टै झन्डाको प्रयोग गरिन्थ्यो त्यो भने यसै हो भन्न सम्भव छैन। झण्डाको स्थापना वा संस्थापक यिनै हुन् भन्ने पुष्ट सबुत प्रमाण छैन। कतै चन्द्रवंशी त कतै सूर्य वंशीको बेलामा चन्द्र र सूर्यको प्रयोग भएको भन्ने छ। तथापि आजको बैज्ञानिक समयमा विश्लेषण गर्ने हो भने चन्द्रसूर्यअंकित पाँचकुने रातो झन्डा विश्वको पृथक आकृति भएको झन्डा नेपालको भएकाले यसको छुट्टै मनोविश्लेषण गर्न सकिन्छ। बैदिक सनातन धर्ममा पाँच तत्व (पृथ्वी, जल, तेज, आकाश र वायु)ले यो ब्रम्हाण्ड बनेको छ। पञ्चमहाभूतले नै जीवात्माको सृष्टि हुन्छ, जसमा पञ्चप्राण, पञ्च ज्ञानेन्द्रीय, पञ्च कर्मेन्द्रीय आदिलाई आधार मानिन्छ। त्यसैले झन्डाका पाँचकोण राखिनु यिनै पञ्चतत्वलाई विम्बित गरेको हुनसक्ने अनुमान लगाउन सकिन्छ।

हरेक कोणले एक तत्वलाई प्रतिविम्बत गराउँछ। झन्डामा भएका चन्द्रसूर्यले सृष्टिको मूल कारण अर्थात् दिवा र रात्रिलाई जनाउँछ। नेपालको चन्द्रमालाई हेर्ने हो भने खुर्पेटो आकारको अर्धचन्द्रमा र पूर्ण सूर्याकृति, रातो ध्वजा (पृष्ठभूमि), दुई त्रिकोणात्मक पञ्चकोण, नीलो किनारा आदिको समि श्रण हेर्दा नेपालको झण्डा ज्योतिषीय मापदण्डको अझै भनौ ज्योतिषिय पद्धतिको झन्डा हो भनेर सहजै अनुमान लगाउन सकिन्छ। ज्योतिष दर्शनमा चन्द्रमाको ६० विकला, १६ कला, ३० अंश, १ राशि बन्छ। जसबाट नक्षत्र र नक्षत्रबाट जातकको नामाकरण गरिन्छ। चन्द्रमाको १६ कलामध्ये ८ कोणलाई अर्धचन्द्रमाको रूपमा प्रयोग गरिएको हुनाले एक महिनामा चन्द्रमा शुक्ल पक्ष र चन्द्रपक्षको रूपमा रहने हुनाले आधा कोण (कला) अर्थात् ८ कोण प्रयोग भएको पनि हुन सक्छ। तलको अर्को त्रिकोणमा रहेको सूर्यमा १२ कोण छन्, जसको अर्थ १२ राशि, १२ महिना र सूर्यको १२ कलाको प्रतिनिधित्व गर्छ।

चन्द्रमाबाट जातकको नामाकरण भएपश्चात् राशि बन्छ। राशि १२ भएकाले सूर्य हरेक महिना १ राशिमा रहने र हरेक महिना राशिसँगै महिना परिवर्तन गर्छ। जब १२ राशि परिक्रमा गर्छ तब सूर्यको गणितीय मापन अनुसार सम्वत्सर अर्थात् वर्ष परिवर्तन गर्छ। त्यसकारण पनि नेपालको झण्डाको चन्द्रसूर्यको कोणको अवस्थालाई अध्ययन गर्दा पनि नेपालको झन्डा बैदिक, ज्योतिषीय विज्ञानअनुसार तयार पारिएको अवस्था देखिन्छ। नेपालको राष्ट्रध्वजमा रातो पृष्ठभूमि छ। केही विद्वान्को मत रातो विजय, ऊर्जा र शक्तिको प्रतीक हो। केहीले हिन्दु राजाहरू देवीभगवतीका उपासक थिए तथा देवीलाई पूजा गरेर आफ्ना हातहतियार बलीसमेत दिने गरेकाले देवीभक्त हिन्दु राजाहरूले देवीको मनपर्ने रंग कुमकुम (सिन्दुर) जस्तै आफ्नो राष्ट्रध्वज प्रयोग गरेको पनि धारणा छ।

नेपालको राष्ट्रिय झन्डाको किनारा निलो राखिनु चै नीलो आकाश र नीलो सागर दुवैको प्रतीक मानिन्छ। चन्द्रमाले आकाश झैं फराकिलो र सागर झैं शीतल रहनु भन्ने सन्देश दिन्छ। साथै चन्द्रसूर्य यसै आकाशकाबीच रहेकाले पनि किनारा नीलो राखिएको अनुमान लगाउन सकिन्छ। नीलो रंग भ्रातृत्व र एकताको प्रतीक मानिन्छ। यसबाट नेपाली चन्द्रसूर्य रहुन्जेल एक रहने, भ्रातृत्व रहने, प्रेम रहने छ भन्ने पनि विश्लेषण गर्न सकिन्छ। राष्ट्रध्वजको नीलो किनाराले नीलो आकाश, नीलो पानीको प्रतिनिधित्व गर्छ। अनन्त आकाश, अनन्त जल रहेसम्म नेपालको झन्डा रहने विश्वास यहाँबाट लिन सकिन्छ। रक्त रंग विजयको प्रतीक हो। देवीको उपासना र देवीको पूजाआजामा आज पनि रातो रंगको प्रयोग गरिने हुनाले झन्डा पनि दैविक शक्ति जागृत गर्दै बैरीसँग युद्ध जित्न राजा तथा सेनाहरूले प्रयोग गरेकाले यसलाई   श्रीध्वज पनि मानिन्छ।

चन्द्रमा शितलता र करुणा तथा मनको कारक हो भने सूर्य विरता, बुद्धि तथा ज्ञानको कारक हो। जब सूर्यभित्रको रौद्र रूप जब चन्द्रमाको करुणासँग मेल खान्छ, तब ज्ञान र विवेक अनि धैर्यतासँग युक्ति हुन्छ अर्थात् विजय स्वरूपमा परिणत हुन्छ भनेर वरिष्ठ इन्जिनियर शंकरनाथ रिमालको बुझाइ छ। यति पुरातन इतिहास बोकेको नेपालको झन्डा राजाको वा राज्यको प्रतिनिधित्व गथ्र्याे। राजा तिर्थाटन वा भ्रमण गर्दा वा युद्धका समयमा यसको प्रयोग गरिन्थ्यो। पहिले २२–२४ सै राज्य हुँदा यसै चन्द्रसूर्य अंकित झन्डा प्रयोग गरिन्थ्यो भन्ने अनुमान मात्र लगाउन सकिन्छ। हाल नेपालको झन्डा पाँचकोणे, ८ चन्द्रकोण, १२ सूर्यकोण, ४ः३ को अनन्त अनुपात, ४५ डिग्रीको कोण, रक्तवर्ण पृष्ठभूमि, स्वेतवर्ण चन्द्रसूर्य निलवर्ण किनाराले सुशोभित अदितीय स्वरूपमा फर्फराएको छ।

नेपालको झन्डाको इतिहासलाई विभिन्न इतिहासकार, विद्धान्हरूले अनेकौं मत दिएका छन्। नेपाली झन्डालाई यदि उध्र्वभागमा स्वरूप परिवर्तन गर्ने हो भने हिमालको स्वरूपमा देख्न सकिन्छ। चन्द्रमाको चुचुरो सूर्यको चुचुरोभन्दा केही लामो हुन्छ। त्यसैले चन्द्रमाको भागलाई विश्वशिखर सगरमाथाको रूपमा मनन गर्न सकिन्छ भने सूर्यलाई गौरीशंकर हिमाल अर्थात् नेपालको सूर्योदय मापन गर्ने हिमालको रूपमा पनि मान्न सकिन्छ। यसै पनि नेपाललाई हिमालयको देश भनिन्छ किनभने विश्वका १० अग्ला हिमालमध्ये ८ हिमाल नेपालमै छन्। त्यसैले यस झन्डालाई हिमालय ध्वजाभन्दा पनि फरक नपर्ला। देशको विजय, प्रगति, देशको विकास, सिमानामा झण्डाको प्रयोग हुन्छ। जब नेपालले पूर्वमा टिस्टा तथा पश्चिममा अल्मोडासम्म विजय प्राप्ति गर्‍यो, तब त्यस सिमानामा राष्ट्रध्वजा गाड्यो। पछि विभिन्न युद्ध, सम्झौतामा नेपालका भूभाग खुम्च्याउनु पर्‍यो।

नेपालको हाल रहेको राष्ट्रिय झण्डा २०१९ पुस १ गते संयुक्त राष्ट्रसंघमा अंगीकार भयो। तत्पश्चात नेपालको राष्ट्रिय झन्डाले संसारभर पहिचान र मान्यता पायो। तसर्थ नेपालको राष्ट्रिय झन्डाको गर्विलो इतिहास आजको दिनमा ६२ वर्ष पूरा गरी ६३ वर्षमा प्रवेश गरेको छ। राष्ट्रिय धरोहर संरक्षण प्रतिष्ठान नेपालका अध्यक्षका हैसियतमा पंक्तिकारकै पहलमा नेपालमा जनस्तरबाट राष्ट्रिय झन्डा दिवसको स्थापना २०७५ पुस १ गतेका दिनबाट औपचारिक रूपमा स्थापना भयो। हाल अभियान ७ वर्षमा प्रवेश गरेको छ।

२०७० पुस १७ गते अन्तर्राष्ट्रिय नयाँ वर्षको दिन पारेर संसारभरका नेपालीलाई नेपाली पोशाकको महत्व र पहिचान जागृत गर्ने तथा नेपालका सरकारी कामकाजसहित औपचारिक सभा, कार्यक्रममा अनिवार्य दौरासुरुवाल, टोपी, गुन्युचोली पहिरन लगाउने उद्देश्यले स्थापना भएको हो, राष्ट्रिय पोसाक दिवस । १२औं वर्षमा प्रवेश यसले नेपालको मौलिकता, कला, संस्कृतिको रक्षार्थ काम गरेको छ । जनस्तरबाट मनाइने यस्ता महत्वपूर्ण कार्यक्रमले पक्कै पनि नेपाली तथा नेपाली मूलका नागरिकलाई राष्ट्र, राष्ट्रियता तथा पहिचान जीवन्त राख्नेछ।
- माण्डव्य झण्डा दिवसका संस्थापक हुन्।
 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.