यस्तो होस् अबको पर्यटन
नेपालमा पर्यटन उद्योगको विकास योजनाबद्ध तरिकाबाट गर्नुपर्ने आवश्यकतामा निकै जोड दिइएको छ।
पर्यटन मुख्य रूपमा तीन आधारबाट तयार हुन्छ, यातायात, स्थानविशेष र सर्वसुविधा। स्वदेश वा विदेशमा छोटो अवधिका लागि यात्रा गर्ने उद्देश्यमा कोही घर वा देशबाहिर भ्रमण गर्छ, त्यो पर्यटन हो। उसले कमाउने उद्देश्य नराखी मनोरञ्जन, स्वास्थ्य, अध्ययन वा अन्य भिन्न परिवेशको अनुभव बटुल्छ। पर्यटन प्राचीनकालदेखि नै मानवको लोकप्रिय विषयको रूपमा छ। मानिस सभ्यताको सुरुआतदेखि नै टाढाटाढासम्म यात्रा गर्दै आइरहेछ।
प्राचीनकालमा सबैभन्दा पहिले भ्रमणका लागि निक्लने यात्रीमा फोनेसियनहरू मानिन्छन्। कुकलगायत कयौं यात्रीको प्रयासलाई मध्यनजर राख्दै अठारौं शताब्दीलाई यात्राको सुनौलो युग मानिएको छ। सन् १९६३ देखि सन् १९९३ सम्मको ३० वर्षमा यात्राको क्षेत्रमा भएको प्रगति उल्लेखनीय मानिन्छ। उन्नाइसौं शताब्दीको पहिलो ५० वर्षमा विश्वमा यसले ठूलो वैज्ञानिक र प्राविधिक उन्नति भयो। बीसौं शताब्दीको प्रारम्भसँगै पर्यटनका सम्पूर्ण अवयवमा आमूल परिवर्तन आएको छ।
नेपालमा गगनचुम्बी चुचुराहरू, सांस्कृतिक एवं धार्मिक संयोजनका कारण विश्वका विभिन्न मुलुकबाट बढ्दो मात्रामा पर्यटक आकर्षित भइरहेका छन्। विश्वका उच्च हिमशिखरको आरोहण गर्नेदेखि मानसिक शान्ति प्राप्त गर्न, विश्वशान्तिका अग्रदूत गौतम बुद्धको जन्मस्थल हेर्न तथा अन्य विभिन्न उद्देश्यले यहाँ आउने पर्यटकको संख्यामा प्रतिवर्ष वृद्धि भएबाट आर्जित विदेशी मुद्राको परिमाणमा पनि वृद्धि भइरहेको पाइन्छ। नेपालमा पर्यटन उद्योगको विकासका लागि ठूलो सम्भावना छ। देशमा प्राचीन संस्कृति, कलाकौशलका अनुपम नमुना यत्रतत्र छन्। नेपाल प्राकृतिक दृश्यले त झन् सुशोभित र मनोहर छ। तुलनात्मक दृष्टिले हेर्दा नेपाल स्वीटजरल्याण्ड र काश्मीर जस्तै सुन्दरतम देशको दाँजोमा आउँछ। नेपाल एउटा पहाडी मुलुक भएकाले यहाँ अनेकौं प्राकृतिक दृश्य पाइन्छन्।
विश्वकै सर्वोच्च शिखर सगरमाथा पनि यही छ। कञ्चनजंघा, माछापुच्छ्रे, अन्नपूर्ण आदि उच्च हिमटाकुरा यही छन्। नेपालको पूर्वदेखि पश्चिमसम्म ५०० माइल फैलिएको हिमालय शृंखलाका साथै आफ्नो किसिमको अनुपात देखिन्छ। शीतल जलवायुले नेपालमा पर्यटक भिन्न ढंगले आकर्षित छन्। देशको भव्य र प्राचीन संस्कृति पनि अर्को महत्वपूर्ण तत्व हो। जसले पर्यटन उद्योगको सम्भावनालाई बढाउन सकेको छ। यहाँका प्रत्येक मठ, मन्दिर, देवल र टुँडालहरूमा हिन्दू र बौद्ध धर्मको सुन्दरतम समन्वय देख्न पाइन्छ। अनगिन्ती तीर्थस्थल, मन्दिर प्राचीन महलहरू, शिलालेख, अभिलेख र धार्मिक कुण्डहरू छन्। यस्तै, विभिन्न किसिमका चाडपर्व छन्, जसले गर्दा पनि पर्यटक आकर्षित हुन्छन्।
नेपालमा पर्यटन विकासको थालनी प्रथम पञ्चवर्षीय योजनाको सुरुआत अर्थात् २०१३ सालदेखि भएको पाइन्छ। त्यसपछि दोस्रो त्रिवर्षीय योजना, तेस्रो पञ्चवर्षीय योजना, चौथो, पाँचौं, छैटौं सातौं, आठौं र नवौं पञ्चवर्षीय योजना (२०५४–५९), दसौं योजना, तीन वर्षे अन्तरिम योजना, त्रिवर्षीय योजना, चौधौं योजना (२०७३—७६) मा समेत पर्यटन उद्योगको विकासका लागि विभिन्न उद्देश्य, नीति र कार्यक्रम सरकारले समावेश गरेको छ। समग्रमा पर्यटकलाई दुई भागमा विभाजन गर्न सकिन्छः (क) देशीय, जसले देशको सीमाभित्र भ्रमण गर्छ। जसका लागि स्वदेशको पैसा प्रयोग गर्छ र यसले धर्म, भाषा, संस्कृति एवं अन्य विषयमा प्रायः फरकपनको महसुस गर्दैन। (ख) अन्तर्राष्ट्रिय, जो २४ घण्टाभन्दा बढी विदेशमा बस्छ तर उसले स्थायी बसोवास वा कमाउने उद्देश्य राख्दैन र उसले भ्रमण अघि भ्रमण स्थल, भिसा, विदेशी मुद्रा, भाषा, संस्कृति आदिका बारेमा चासो एवं तयारी गर्नुपर्ने हुन्छ।
पर्यटन उद्योगको विकासबाट देशमा नयाँ–नयाँ प्रविधि र सीपको विकास हुन जान्छ। विदेशी प्रविधि, सीप र पुँजीको आयात विदेशी उद्योगपतिहरूको आगमनबाट हुन्छ। यात्रुहरू प्रशस्त मात्रामा आवत–जावत गर्ने भएमा देशको तीर्थस्थल, सांस्कृतिक र ऐतिहासिक स्थल र प्राकृतिक दर्शनीय स्थलहरू र आन्तरिक बजारको विकास हुन्छ। पर्यटकहरूले स्वदेशी वस्तुहरू खपत गर्नुले वाणिज्य र व्यापारको विकासमा धेरै योगदान पुर्याउने गर्छ। नेपालमा पर्यटन उद्योगको विकास भएमा दुर्गम क्षेत्रको विकास हुन्छ। दुर्गम क्षेत्रमा भएको पर्यटकीय स्थलहरूको विकास हुन्छ। दुर्गम क्षेत्रमा पनि विभिन्न पर्यटकको भ्रमण भएपछि स्थानीय बजारको विकास हुन्छ, स्थानीयले रोजगारी पाउँछन् र स्थानीय साधनहरूको विकास हुन जान्छ।
नेपालमा पर्यटन उद्योगको विकास योजनाबद्ध तरिकाबाट गर्नुपर्ने आवश्यकतामा निकै जोड दिइएको छ। नेपालमा चालु व्यवस्थित उद्योगमध्ये पर्यटन धेरै महत्वपूर्ण सिद्ध भएको छ। पर्यटन उद्योग सञ्चालन भएबाट विभिन्न देशका पर्यटक नेपाल आउँछन् र नेपाललाई चिन्ने मौका पाउँछन्। फलस्वरूप नेपालको नाम विश्वको हरेक कुना–कुनामा फैलिइरहेछ। हरेक देशमा नेपाल पर्यटकीय स्थलहरूको प्रचारप्रसार भइरहेछ। यसले विदेशी पर्यटकहरू नेपाल भ्रमण गर्न रुचाउँछन्। जति विदेशी पर्यटक नेपाल आउँछन्, त्यति नै बढी मात्रामा पर्यटन उद्योग फस्टाउने गर्छ। दुर्गम स्थानमा रहेका मनोरम दृश्यहरूको अवलोकन गर्नका निमित्त पर्यटन व्यवसायको माध्यमबाट यातायातको विकास भएको हुन्छ। पर्यटन उद्योगको विकासबाट यातायात र सञ्चारको विकास गराउनमा मद्दत पुर्याउँछ। पर्यटकीय स्थलहरूकोे विकास गर्न यातायात र सञ्चारको विकास गरिनुपर्ने हुन्छ। यसले विचारहरूको आदान–प्रदान गर्न सहयोग पुर्याउँछ। मानिसको चेतनामा समेत वृद्धि हुन्छ।
आर्थिक सर्वेक्षण, आर्थिक वर्ष २०८०/८१ अनुसार पर्यटन विकास कार्यक्रमअन्तर्गत विशिष्ट प्रकृतिका पर्यटकीय गन्तव्य र उपजका कारण नेपाल विश्वकै प्रमुख गन्तव्य मुलुकको रूपमा छ। भूकम्पबाट क्षतिग्रस्त अधिकांश सांस्कृतिक एवं पर्यटकीय सम्पदाको पुनर्निर्माण सम्पन्न हुनुका साथै नयाँ पर्यटकीय गन्तव्यको समेत विकास हुँदै गएको छ। दुई अन्तर्राष्ट्रिय विमानस्थलको निर्माण सम्पन्न भई सञ्चालनमा छन्। पर्यटन प्रबद्र्धनका लागि सन् २०२३—२०३२ लाई पर्यटन दशकको रूपमा मनाई प्रतिपर्यटक प्रतिदिन खर्च १२५ अमेरिकी डलर पुर्याउने लक्ष्य सरकारसँग छ।
कोभिड–१९ महामारीबाट शिथिल बनेको पर्यटन क्षेत्र कोभिड पूर्वको अवस्थामा आइपुग्दै छ। पर्यटन क्षेत्रले गति लिदै गएसँगै होटल व्यवसाय चलायमान हुँदै छन् भने पर्यटकबाट प्राप्त हुने आम्दानीसमेत उल्लेख्य रूपमा बढेको छ। पछिल्लो दशकमा विनाशकारी भूकम्प र कोभिड–१९ महामारीको बाबजुद ६६ लाखभन्दा बढी पर्यटकले नेपाल भ्रमण गरेका छन्। पछिल्लो दशकमा प्रतिवर्ष औसत पर्यटक आगमन ६ लाख ६१ हजार देखिन्छ। २०८१÷८२ को बजेट वक्तव्यमा उल्लेख गरिएअनुसार यस आवमा पर्यटन प्रबद्र्धनअन्तर्गत आर्थिक वर्ष १६ लाख पर्यटक भिœयाउने गरी पर्यटन प्रवर्धनका कार्यक्रम सञ्चालन गरिने नीति लिइएको छ। नयाँ गन्तव्यको पहिचान तथा मौजुदा गन्तव्यको विकास र प्रवर्धनका लागि पर्यटकीय गन्तव्यको प्रोफाइल तयार गरिने कार्यक्रम राखिएको छ। पर्यटकलाई एकद्वार प्रणालीमार्फत सेवा प्रवाह गर्ने व्यवस्था मिलाइने नीति लिइएको छ। पर्वतारोहण अनुमति प्रणालीलाई स्वचालित प्रविधिमा आधारित बनाइने कार्यक्रम राखिएको छ।
सोह्रौं योजना (२०८१÷८२–२०८५÷८६) मा पर्यटनको विकास कार्यक्रमअन्तर्गत : पर्यटन क्षेत्रबाट मूल्य अभिवृद्धिमा सुधार गर्दै आम्दानी बढाएर कुल गार्हस्थ्य उत्पादनमा यस क्षेत्रको योगदान बढाउने, दिगो विकासको मर्मअनुरूप नेपालको पर्यटन उद्योगलाई पर्यापर्यटनसँग जोड्ने, स्वदेशी तथा विदेशी लगानी आकर्षित गरी पर्यटकीय पूर्वाधारको विकास एवं विस्तार गर्ने लक्ष्य सरकारको छ। पर्यटन प्रबद्र्धनका लागि क्षेत्रगत रूपमा कृषि पर्यटनको विकास तथा विस्तार गर्ने, स्थानीय स्तरमा उत्पादन भएका पर्यटकीय उपजहरूको व्यावसायीकरण गर्ने, पर्यटनबाट प्राप्त लाभको समन्यायिक वितरणका लागि अग्र र पृष्ठ सम्बन्ध विकासको माध्यमबाट पर्यटनको लाभ स्थानीय समुदायसम्म पुर्याउने छ। पर्यटन क्षेत्रमा दक्ष जनशक्तिको उपलब्धता सुनिश्चित गर्न विश्वविद्यालय तथा शैक्षिक प्रतिष्ठानहरूसँग सहकार्य गरी यस क्षेत्रमा आवद्ध जनशक्तिको सीप र क्षमता विकास गर्ने, रणनीतिक महत्वका मुलुकलाई लक्षित गरी पर्यटन प्रबद्र्धनको कार्यक्रम सञ्चालन गर्ने र स्रोत बजारमा देशका पर्यटकीय गन्तव्य तथा सेवाको प्रवद्र्धन गर्ने र तिनको सुरक्षा सुनिश्चित गर्ने आदि नीति तथा रणनीति छन्।
नेपालमा यातायात साधन र सडकहरूको निकै कमी छ। जसले पर्यटकलाई कतिपय मनोरम क्षेत्रमा पुर्याउन कठिनाइ परेको छ। पैदल यात्रा गर्ने बाटोहरू पनि बढी जोखिमपूर्ण छन्। विमान व्यवस्थाको कमीले गर्दा पनि पर्यटकलाई बढी संख्यामा भित्र्याउन सकिएन। पर्यटकहरूको बसाईलाई लामो र आकर्षक बनाउन विभिन्न प्रकारका मनोरञ्जनका साधनको व्यवस्था मिलाइनु पर्दछ। नेपालमा यस्ता मनोरञ्जनका लागि आवश्यक क्लब, नाचघर, सिनेमा, पसल, पार्क आदिको अभाव छ। केबुलकार स्किइङ जस्ता साधन त छँदै छैनन्। सांस्कृतिक कार्यक्रमहरूका साथै मनोरञ्जन कार्यक्रमको व्यवस्था गर्न सकेमात्र हालको औसत पर्यटक बसाइँ दिनलाई १३ दिनबाट बढाउन सकिन्छ। पर्यटकहरूको रहन सहनसँग मिल्ने र नभई नहुने वस्तुहरू हामीले पर्याप्त व्यवस्था गर्न सकेका छैनौं। जसले पर्यटकबाट प्राप्त हुने विदेशी मुद्राको ठूलो अंश पुनः आयातमा खर्च गर्नुपरेको छ। हाम्रा
पर्यटन स्थलहरू अधिकांश जीर्ण र संरक्षणको अभावमा अस्तव्यस्त छन्। यस्ता स्थलको स्याहार र मर्मत कार्य नहुनाले फोहोर र अनाकर्षक देखिन्छन्।
ऐतिहासिक, सांस्कृतिक र पुरातात्विक महत्वका मठ, मन्दिर संस्कृति र परम्पराको संरक्षण र संवद्र्धनका माध्यमबाट नेपाललाई सांस्कृतिक, गन्तव्य स्थलका रूपमा विकसित गरी आधिकाधिक मात्रामा पर्यटकलाई आकर्षित गर्नु महत्वपूर्ण आवश्यकता हो। नयाँ खोलिएका पर्यटकीय स्थलहरूको पर्याप्त विकास नहुनु र पर्यटकलाई उपलब्ध गराउने सेवासुविधा ग्रामीण क्षेत्रतर्फ अभिमुख हुन सकेको छैन।
पर्यटन क्षेत्रबाट आर्जितमध्ये मुलुकभित्रै रहने रकम लाभ तथा लागत, मूल्यमा आधारित गुणस्तरीय पर्यटनको विकासका निम्ति प्रत्यक्ष तथा अप्रत्यक्ष रोजगारी र जनशक्तिको व्यवस्था, पर्यटनको गुणात्मक लाभको स्थिति, निर्मित पूर्वाधारहरूको उपयोगको स्तर र लगानीको लेखाजोखा हुन सकेको छैन। कलाकौशललाई व्यावसायिक प्रयोग गर्ने र सम्पदा स्थलको व्यवस्थापन आत्मनिर्भर बनाउने गरी स्थानीय समुदायलाई संलग्न गराउने कार्य सुस्त गतिमा छन्।
- हाडा अर्थशास्त्र विषयका सहप्राध्यापक हुन्।