विद्यार्थीलाई निःशुल्क कम्प्युटर शिक्षा
रुकुमपूर्व : रुकुमपूर्वको भूमे गाउँपालिकाले पालिकाभित्र एसइई र कक्षा १२ को परीक्षा दिएर बसेका विद्यार्थीका लागि ३ महिने निःशुल्क आधारभूत कम्प्युटर कक्षा सम्पन्न गरेको छ। पालिकाले गत भदौ ५ गते बुधबारदेखि सुरु गरेको निःशुल्क आधारभूत कम्प्युटर शिक्षा कोर्स सम्पन्न भएको हो।
पछिल्लो समय विद्यार्थीले निजी कम्प्युटर कक्षा सदरमुकाम गएर सिक्दा महँगो शुल्क तिनुपर्ने वाध्यतालाई मध्य नजर गरेर पालिका भित्र रहेका सबै विद्यार्थीलाई प्राविधिक धार तर्फ दक्ष जनशक्ति उत्पादन गर्ने उद्देश्यले गाउँपालिकामा निःशुल्क कम्प्युटर कक्षा सञ्चालन गरिएको हो।
गाउँपालिकाले शिक्षामा गुणस्तर सुधार गर्दै, गुणस्तरीय शिक्षाको पहुँच विस्तार तर्फ आधुनिक सिकाई ज्ञान, सीप, अनुभव प्रणालीको प्रक्रियागत निःशुल्क कम्प्युटर कक्षा सञ्चालन गरिएको गाउँपालिका अध्यक्ष होम प्रकाश श्रेष्ठले बताए। अध्यक्ष श्रेष्ठले आजको आवश्यकता नयाँ खोज, अनुसन्धान, आविष्कार मानवीय सभ्यताको विकास रहेकोले गाउँपालिकाले सकारात्मक कदमका साथ निःशुल्क कम्प्युटर कक्षा सञ्चालन गरिएको बताए । निःशुल्क कम्प्युटर कक्षा मात्रै सञ्चालन नभई निमावि र मावि तहका सम्पूर्ण विद्यालयमा कम्प्युटर ल्याब सुविधा सञ्चालन गरिएको बताए।
विद्यार्थीहरूले सदरमुकाम रुकुमकोट र प्रदेश राजधानी दाङ गएर बेसिक कम्प्युटर कक्षा लिँदा धेरै खर्च हुने गरेको बताएका छन्। गाउँपालिकाले यस्ता कार्यक्रमहरू सञ्चालन गर्दा युवाको मर्म र भावना बुझेको बताएका छन्।