उपल्लो मुस्ताङमा नदी र धाराको पानी जम्यो
जोमसोम : उपल्लो मुस्ताङमा केही दिन यता अत्यधिक चिसो बढेको छ। चिसो बढेसँगै उपल्लो मुस्ताङको जनजीवन प्रभावित बन्न थालेको छ।
उपल्लो मुस्ताङमा दिउँसोको समय घाम लाग्दा केही न्यानो महसुस भएपनि बिहान र बेलुकीपख अत्यधिक चिसो हुने गरेको स्थानीय बताउँछन्। उपल्लो मुस्ताङमा बिहान र बेलुकीपखको समयमा तापक्रम माइनस २० डिग्रीसम्म पुग्ने गरेको छ। उपल्लो मुस्ताङमा चिसो अत्यधिक रुपमा वृद्धि भइरहेकाले स्थानीयको दैनिकी समेत प्रभावित बन्दै जान थालेको छ।
उपल्लो मुस्ताङको लोमान्थाङ गाउँपालिका र लोघेकर दामोदरकुण्ड गाउँपालिकामा अत्यधिक चिसोका कारण शाखा नदी, सिँचाइ कुलो, खानेपानीका धारा र घरका सेफ्टी ट्यांकी बरफ बनेर जम्ने गरेको छ। चिसोले शाखा नदी बरफ बनेर जम्न थालेपछि स्थानीय नागरिकको दैनिक जीवनमा प्रतिकूल असर पुगेको छ।
शाखा नदी जमेपछि उपल्लो मुस्ताङ आउजाउ गर्ने सवारी साधनलाई समस्या उत्पन्न हुने गरेको छ। सिँचाइ कुलो जमेकाले नागरिकको खेतीयोग्य जमिनलाई सिञ्चित गर्न अप्ठ्यारो परेको छ। उपल्लो मुस्ताङमा घरका धारा र शौचालय जान सेफ्टी ट्यांकी नै जमेर बसेकाले समेत स्थानीय जनजीवन कष्टप्रद बनेको हो।
उपल्लो मुस्ताङमा चिसोले पानीका श्रोतहरू बरफ बनेर जम्न थालेपछि दैनिक खानपान पकाउन र पशु आहाराका लागि कुँडो पकाउन समेत पानीको समस्या देखिएको हो। अहिले उपल्लो मुस्ताङमा घर र पशुचौपाया रेखदेखका लागि कुरुवा भएर बसेकाले शाखा नदी र सिँचाइ कुलोका बरफलाई तताएर खाने र पशुलाई दिने गरेको लोघेकर दामोदरकुण्ड गाउँपालिका-१ चराङका वडाध्यक्ष टै ढिन्डुक ठकुरीले बताए।
हिउँदयामको चिसोले उपल्लो मुस्ताङमा पानीका श्रोत सबै बरफ जमेर ठप्प रोकिएको छ। बर्खायाममा निरन्तर बग्ने शाखा नदी र सिँचाइ कुलो सबै सेताम्मे भएर जमेर बसेकाले नदीको बहाव चल्न छाडेको वडाध्यक्ष ठकुरीको भनाइ छ।
जलवायु परिवर्तनका कारण यस वर्ष हिउँदयाम सुरु भइसक्दासमेत हिउँ परेको छैन। तथापि अत्यधिक मात्रामा चिसो बढिसकेकाले त्यहाँका नागरिकलाई दैनिक जीवनयापनमा निकै समस्या र चुनौती सिर्जना भएको छ। केही वर्ष अघि उपल्लो मुस्ताङमा कात्तिक महिनामै हिउँ पर्थ्यो। यसपालि पुस लाग्दा बल्ल हिउँ पर्ने देखिएको छ। अनुकूल मौसममा हिउँ नपर्ने हो भने स्थानीय किसानको स्याउ लगायतका अन्नबालीमा असर पुग्ने निश्चित नै छ।
हिउँदयामको मौसमसँगै उपल्लो मुस्ताङका दुई पालिका नागरिकविहीनको अवस्थामा रहेको छ। अत्यधिक चिसो बढेसँगै त्यहाँका स्थानीय नागरिक मंसिर अगावै जाडो छल्न बेसी झरिसकेका छन्। उपल्लो मुस्ताङको लोमान्थाङमा प्राय घरधुरीहरूमा ताल्चा लगाएको छ। होटलहरू समेत लगभग पुरै बन्द अवस्थामा रहेको लोमान्थाङ गाउँपालिकाका प्रशासन प्रमुख विकास केसीले जानकारी दिए।