लुम्बिनी प्रदेशस्तरीय सुरक्षा गोष्ठी सम्पन्न
काठमाडौं : एक दिवसीय लुम्बिनी प्रदेशस्तरीय सुरक्षा गोष्ठी रूपन्देहीको भैरहवामा सम्पन्न भएको छ। गृह मन्त्रालय र लुम्बिनी प्रदेश आन्तरिक मामिला तथा कानुन मन्त्रालयद्वारा संयुक्त रूपमा उक्त गोष्ठी आयोजना गरिएको हो।
उक्त अवसरमा गृहमन्त्री रमेश लेखकले गोष्ठी परिणाममुखी हुनुपर्नेमा जोड दिँदै गोष्ठीबाट प्रदेशको शान्ति सुरक्षाको स्थिति विश्लेषण गरेर प्रत्येक जिल्लामा शान्ति सुरक्षामा देखा परेका चुनौतीहरू र ती चुनौतीहरूलाई सम्बोधन गर्दै प्रदेशमा शान्ति सुरक्षाको स्थितिलाई पूर्णरूपले सुनिश्चित गर्नुपर्ने बताए।
राजश्व चुहावट, तस्करी नियन्त्रण एवम् सीमा नाकामा हुने अपराधजन्य गतिविधि नियन्त्रणमा परिणाममुखी ढंगले देखिने गरी कार्यसम्पादन गर्न समेत उनले निर्देशन दिए। साथै प्रदेशमा चुनौतीको रूपमा देखिएका आर्थिक अपराध, साइबर अपराध, ठगी, लागूऔषध, आत्महत्या, सवारी दुर्घटना जस्ता समस्यालाई नियन्त्रण तथा न्यूनीकरण गर्न विशेष सक्रियताका साथ कार्यसम्पादन गर्नुपर्नेमा उनले जोड दिए।
गृहमन्त्री लेखकले शान्ति सुरक्षा नै लोकतन्त्रको पूर्व सर्त भएको उल्लेख गर्दै शान्ति सुरक्षा मार्फत देशमा आर्थिक विकास एवम् विकास निर्माणका काम अगाडि बढ्ने बताए। शान्ति सुरक्षा नागरिकले प्राप्त गर्नुपर्ने पहिलो आधारभूत अधिकार भएको र संविधानको रक्षाको सर्त पनि भएको बताउँदै शान्ति सुरक्षाको सुनिश्चितताले नागरिकले आफ्नो हक अधिकारहरू निर्वाध रूपले उपभोग गर्न पाउने समेत भएकोले यसलाई गम्भीरतापूर्वक बुझ्न जरुरी रहेको उनले उल्लेख गरे।
गोष्ठीमा प्रहरी महानिरीक्षक बसन्त बहादुर कुँवरले प्रदेशमा देखिएका सुरक्षा र अपराध सम्बन्धी समस्या तथा चुनौतीहरूको पहिचान तथा विश्लेषण गर्न एकीकृत र समन्वयात्मक रूपमा आयोजना गरिएको यस गोष्ठी निकै महत्वपूर्ण र उपलब्धिमूलक भएको बताए।
सुरक्षा सम्बन्धी मुद्दाहरूमा छलफल, सबै आवश्यक सुरक्षा उपायहरू र जोखिम मूल्यांकन, विभिन्न अपराध, घटना प्रतिक्रिया र प्रतिकार्य योजनाहरूको समीक्षा र सो वस्तुस्थितलाई अद्यावधिक गर्दै परिमार्जित रणनीतिको रूपरेखा निर्माण गरी प्रदेशको सुरक्षा व्यवस्थापन गर्ने संवेदनशील विषयमा राज्यका सबै अंगहरूबीच समन्वय र सहकार्य अपरिहार्य हुने हुँदा यस गोष्ठीद्वारा एकीकृत कार्यप्रणालीको सुदृढिकरणमा नयाँ आयाम थप हुनेमा विश्वस्त रहेको उनले उल्लेख गरे।
सो अवसरमा नेपाली सेनाका रथी प्रदीप जंग केसी, सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्याल, राष्ट्रिय अनुसन्धान विभागका मुख्य अनुसन्धान निर्देशक हुतराज थापा, गृह मन्त्रालयका सुरक्षा तथा समन्वय महाशाखाको तर्फबाट सह-सचिव ऋषिराम तिवारी र लुम्बिनी प्रदेश आन्तरिक मामिला तथा कानुन मन्त्रालयका सचिव रेखा कँडेलले आ-आफ्नो मन्तव्य व्यक्त तथा प्रस्तुतीकरण गरेका थिए।
गोष्ठीमा लुम्बिनी प्रदेश अन्तर्गत १२ वटै जिल्लाका प्रमुख जिल्ला अधिकारीहरूले आ-आफ्नो जिल्लाको विद्यमान शान्ति सुरक्षाको अवस्था, समस्या तथा चुनौती, समाधानका उपाय एवम् आगामी कार्यक्रम लगायत विविध विषयमा प्रस्तुतीकरण गरेका थिए। गोष्ठीमा लुम्बिनी प्रदेशको विद्यमान सुरक्षाको अवस्था, समस्या तथा चुनौती, अपराध नियन्त्रण, सीमा सुरक्षा र आगामी कार्यभार लगायतको विषयमा विस्तृत छलफल भएको थियो।
गोष्ठीमा लुम्बिनी प्रदेश अन्तर्गत १२ वटै जिल्लाका प्रमुख जिल्ला अधिकारीहरू, प्रदेश सुरक्षा निकायका प्रमुख तथा पदाधिकारीहरू, जिल्ला सुरक्षा समितिका पदाधिकारीहरूको सहभागिता रहेको थियो।