वैदेशिक रोजगारमा विभिन्न देश पठाइदिन्छु भन्दै ठगी गर्ने दुई जना पक्राउ
काठमाडौं : वैदेशिक रोजगारमा आकर्षक तलबको प्रलोभनमा पारी विभिन्न देश पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जनालाई मंगलबार प्रहरीले पक्राउ गरेको छ।
पक्राउ पर्नेहरूमा धनकुटाको पाख्रिवास नगरपालिका-८ घर भई काठमाडौंको गोकर्णेश्वर नगरपालिका-९ जोरपाटी बस्ने ४९ वर्षीय पूर्ण बहादुर गिरी र खोटाङको दिक्तेल रूपाकोट मझुवागढी नगरपालिका-६ घर भई भक्तपुर सूर्यविनायक नगरपालिका-५ सल्लाघारी बस्ने २० वर्षीय मिसन गुरुङ रहेका छन्।
पक्राउ मध्ये पूर्ण बहादुरले अमेरिका पठाइदिन्छु भन्दै ३ जना पीडितहरूबाट २४ लाख रूपैयाँ र मिसनले माल्टा पठाइदिन्छु भन्दै १ जना पीडितबाट ३ लाख ५ हजार रूपैयाँ लिई सम्पर्कबिहीन भएको भन्ने पीडितहरूको उजुरीको आधारमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले उनीहरूलाई काठमाडौं टेकुबाट पक्राउ गरेको हो।
उनीहरूलाई आवश्यक अनुसन्धान तथा कारवाहीको लागि वैदेशिक रोजगार विभाग ताहाचल काठमाडौं पठाइएको छ।