प्रसिद्ध दुप्चेश्वर मेलामा पौने ९ लाख भेटी
नुवाकोट : नुवाकोटको प्रसिद्ध तीर्थस्थल दुप्चेश्वर मन्दिरमा यस वर्षको मेलामा भक्तजनहरूले चढाएको भेटी गणना गरिएको छ।
दुप्चेश्वर गाउँपालिका–६ रामतीस्थित ठूलो पहरामा रहेको दुप्चेश्वर महादेव मन्दिरमा साताव्यापी रुपमा लागेको मेलामा भेटी संकलन गरी गणना गरिएको हो।
मेलामा देश तथा विदेशबाट सर्वसाधारण मन्दिर पुगी दर्शन गर्दै दुप्चेश्वमा गाइको दूधको साथै भेटी चढाएका थिए। धान्यपूर्णिमाका अवसरमा यस वर्षको मेलामा आठ लाख ६४ हजार दुई सय १२ रुपैयाँ भेटी संकलन भएको छ।
यस वर्ष धान्य पूर्णिमाका अवसरमा लागेको मेलामा भक्तजनले चढाएको तथा दान गरेको उक्त रकम बराबर भेटी संकलन भएको हो। दुप्चेश्वर क्षेत्र विकास कोषले समुन्द्रटार प्रहरी चौकीमा लगेर गणना गरेको हो।
सो भेट गत वर्षको भन्दा तीनलाख ७० हजार तीनसय ४७ रुपैयाँ धेरै हो। गत वर्ष सोही मेलामा दुप्चेश्वरको भेटी ४ लाख ९३ हजार ८ सय ६५ रुपैयाँ मात्र संकलन भएको थियो।