सर्वाधिक विकेट लिनेमा कुगुइलेन अगाडि
काठमाडौं : सुदूरपश्चिम रोयल्सका स्कर्ट कुगुइलेन नेपाल प्रिमियर लिग (एनपीएल) मा सर्वाधिक विकेट लिने खेलाडीको शीर्ष स्थानमा छन्। एनपीएलको लिग चरणका २८ खेल सकिँदा न्युजिल्यान्डका अलराउन्डर कुगुइलेन १५ विकेटसहित शीर्ष स्थानमा छन्। उनले सात खेलमा १५ विकेट लिएका हुन्।
आइतबार पोखरा एभेन्जर्सविरुद्धको खेलमा पाँच विकेट लिएका उनले सोमबार कर्णाली याक्सविरुद्धको खेलमा पनि दुई विकेट लिएका थिए। चार ओभर बलिङ गरेका उनले २९ रन खर्चिंदै दुई विकेट लिएका हुन्। कुगुइलेनले कर्णालीका कप्तान सोमपाल कामी र बाबर हयातको विकेट लिएका थिए।
कुगुइलेन एनपीएलमा पाँच विकेट लिने चौथो बलर हुन्। यसअघि चितवन राइनोजका सोहेल तनभिर, सुदूरपश्चिम रोयल्सका नरेन साउद र जनकपुरका हर्ष थाकरले पनि एकै खेलमा पाँच विकेट लिएका थिए। तनभिर एनपीएलमा पाँच विकेट लिने पहिलो खेलाडी हुन्। कुगुइलेनले जनकपुर बोल्ट्ससँगको खेलमा एक, चितवन राइनोजसँग दुई, लुम्बिनी लायन्ससँग दुई र विराटनगर किङ्ससँगको खेलमा तीन विकेट लिएका थिए। काठमाडौं गोर्खाजसँगको खेलमा भने उनले कुनै विकेट लिन सकेका थिएनन्।
कुगुइलेनपछि सर्वाधिक विकेट लिने खेलाडीमा जनकपुर बोल्ट्सका ललितनारायण राजवंशी छन्। उनले सात खेलमा १३ विकेट लिएका छन्। चितवन राइनोजका रिजन ढकालले पनि सात खेलमा १३ विकेट नै लिएका छन्। सर्वाधिक विकेट लिने खेलाडीको सूचीमा चितवन राइनोजका सोहेल तनभिर १२ विकेटसहित चौथो र काठमाडौं गोर्खाजका कप्तान करण केसी पनि १२ विकेटसहित पाँचौं स्थानमा छन्।