सुर्खेतमा बन्दै नेपालकै लामो ३ मुखे पुल
वीरेन्द्रनगर : सुर्खेतको गुर्भाकोट नगरपालिका–८ खटाङ क्षेत्रमा नेपालकै लामो तीनमुखे झोलुंगे पुल निर्माण हुने भएको छ। भेरी नदीले घेरिएको खटाङ टापुमा मुख्य पिलर स्थापना गरेर गुर्भाकोट नगरपालिका–८, १० र १२ नम्बर वडा जोड्ने तीनमुखे पुल मंगलबार सिलान्यास गरिएको हो।
पुलको शिलान्यास गर्दै नेपाली कांग्रेसका उपसभापति एवं सुर्खेत क्षेत्र नं. २ बाट प्रतिनिधिसभा सदस्य पूर्णबहादुर खड्काले धार्मिक एवं पर्यटकीय क्षेत्र खटाङमा निर्माण हुने उक्त पुलले कर्णालीको पर्यटन प्रवर्द्धनका साथै समग्र देशको अर्थतन्त्रमा सकारात्मक प्रभाव पार्ने बताए।
उनले भने, ‘यो तीन मुखे झोलुंगे पुलले गुर्भाकोटका तीनवटा वडालाई मात्रै जोड्दैन, पूर्वबाट उत्तर तिर बगेको भेरी नदी अर्थात् उत्तरगंगा र खटाङ पर्यटकीय क्षेत्रलाई पर्यटकको हबका रूपमा विकास गर्ने छ। जसबाट समग्र देशकै अर्थतन्त्रको उन्नति र विकासका लागि सहयोग पुग्नेछ।’
पूर्वउपप्रधानमन्त्रीसमेत रहेका कांग्रेस उपसभापति खड्काले नदी उत्तरतर्फ बग्ने स्थानलाई पवित्र तीर्थस्थल मान्ने गरिएकाले यसलाई धार्मिक आस्थाको केन्द्रका रुपमा लिन सकिने बताए।
कार्यक्रममा सस्पेन्सन ब्रिज डिभिजन पुलचोकका इन्जिनियर गोपाल थापाले खटाङमा नेपालकै लामो तीनमुखे पुल बन्ने बताए। उनले २०८३ असारभित्र निर्माण सम्पन्न गर्ने गरेर काम भइरहेको बताए। उनका अनुसार उक्त पुल १ दशमलव ६० मिटर चौडाइ र ६५४.६० मिटर लम्बाइको हुनेछ। नेपालमा निर्माण सम्पन्न भएका र निर्माण भइरहेका तीनमुखे पुलहरूमध्ये यो सबैभन्दा लामो हो।
उक्त पुल निर्माणको काम २१ करोड १९ लाख ५ हजार ८५ रुपैयाँमा गीता कन्सट्रक्सनले पाएको छ। निर्माण कम्पनीले मुख्य टावर निर्माण हुने खटाङ क्षेत्रमा फाइण्डेशन निर्माण सम्पन्न गरिसकेको छ।