दक्षिण एसियाकै पहिलो दाबी गरिएको सुरुङमार्ग सर्वसाधारणका लागि खुला
हेटौंडा : हेटौंडा उपमहानगरपालिका र बागमती प्रदेश सरकारले दक्षिण एसियाकै पहिलो दाबी गरेको चुरियामाई सुरुङ मार्ग सर्वसाधारणका लागि खुला भएको छ।
हेटौंडा उपमहानगरपालिका १५ स्थित ऐतिहासिक चुरियामाई सुरुङ पुनर्निर्माणपछि बागमती प्रदेश सरकारले हेटौंडा उपमहानगरपालिकालाई हस्तान्तरण गरेको छ। सोमबार बागमती प्रदेशका मुख्यमन्त्री बहादुर सिं लामाको उपस्थितिमा भएको एक कार्यक्रमका बीच सुरुङमार्ग प्रदेश सरकारले उपमहानगरपालिकालाई हस्तान्तरण गरेको हो।
सुरुङ हस्तान्तरण कार्यक्रममा बोल्दै मुख्यमन्त्री लामाले सुरुङलाई पर्यटकीय क्षेत्र बनाउन र यसको संरक्षण गर्न प्रदेश सरकारले सहकार्य जारी राख्ने बताए। हेटौँडा उपमहानगरपालिकालाई हस्तान्तरणसँगै लामो समयपछि सुरुङमार्ग सर्वसाधारणका लागि खुला गरिएको छ। बागमती प्रदेश सरकारको यातायात पूर्वाधार निर्देशनालय, हेटौंडामार्फत पुनर्निर्माण गरिएको हो।
मर्मत, सम्भारको अभावमा पुरिएर अवरुद्ध बनेको सुरुङमार्ग बागमती प्रदेश सरकारले मूल्य अभिवृद्धि करसहित ३ करोड ६५ लाख ८२ हजार ४१५ रुपियाँको लागतमा जीर्णोद्धार गरेको हो। निर्देशनालय र उपमहानगरपालिकाबीच पुनर्निर्मित चुरियामाई सुरुङमार्गको हस्तान्तरणसँगै सञ्चालन र व्यवस्थापनसम्बन्धी सम्झौतापत्रमा हस्ताक्षर गरी साँचो हस्तान्तरण गरिएको थियो।
हेटौंडा हुँदै तराईसँग जोड्ने गरी चुरे पर्वतमा निर्माण गरिएको १०७ वर्ष पुरानो सुरुङमार्ग दक्षिण एसियाकै पहिलो दाबी गरिएको छ। २०७९ वैशाख १९ गतेसम्म निर्माण सक्ने सम्झौता सहित निर्माण कम्पनी माउन्टेनइन्फ्रा कम्पनी स्युचारटार काठमाडौंले निर्माण कार्य अघि बढाएको थियो।
तर, उसले समयमा नै काम नसक्दा डेढ वर्ष थप समय लागको थियो। उपमहानगरपालिका र प्रदेश सरकार बीच हस्तान्तरण र सञ्चालन प्रक्रियाबारे अन्यौलता हुँदा सर्वसाधरणका लागि खुल्ला गर्न थप समय लागेको हो। सुरुङ पुनर्निर्माणको लागि भौतिक पूर्वाधार तथा विकास मन्त्रालयमार्फत निर्देशनालयले चार करोड ५७ लाख रुपैयाँको बोलपत्र आब्हान गरेको थियो। इतिहास नयाँ पुस्तालाई हस्तान्तरणसँगै पर्यटन प्रवर्द्धनको लक्ष्यसहित बागमती प्रदेश सरकारले पुर्ननिर्माणको काम अघि बढाएको थियो।
सिभिल इन्जिनियर बिग्रेडियर जनरल डिल्लीजंग थापाले सुरुङमार्गको डिजाइन गरेका थिए। सुरुङको दुई सय २५ मिटर लम्बाइ, दुई दशलव ५ मिटर चौडाइ र तीन मिटर उचाइ रहेको छ। बारा र मकवानपुर जोड्ने विशाल चुरे पहाडलाई प्वाल पारेर निर्माण गरिएको सुरुङमार्ग २०१८ सालपछि प्रयोगमा आउन छाडेको थियो। सुरुङमार्ग २०७२ सालको भूकम्पपछि थप जीर्ण बनेको थियो। पर्यटन प्रबद्र्धनसँगै इन्जिनियरिङका विद्यार्थीहरूलाई अध्ययन केन्द्रको रुपमा सुरुङमार्ग प्रयोग गरिने लक्ष्य रहेको भौतिक पूर्वाधार विकासमन्त्री अमनकुमार मास्केले बताए।
विसं १९७३ मा पाँचौं राणा प्रधानमन्त्री चन्द्रशमशेरको पालामा बाराको अमलेखगञ्जबाट मकवानपुरको हेटौंडा छिचोल्न उक्त सुुरुङमार्ग निर्माण गरिएको थियो। त्यस समय भारतबाट बाराको अमलेखगञ्जसम्म रेल आउँथ्यो। सुरुङमार्ग जिर्ण र जोखिमपूर्ण हुँदा चुरियामाई मन्दिर आउने श्रद्धालुहरू उक्त सुरुङमार्ग बाहिरबाटै हेरेर फर्कने गरेका छन्।
चुरे पर्वत शृंखलामा पहाड काटेर कालोपत्रे सडक निर्माणसँगै उक्त सुरुङमार्ग प्रयोगविहीन बनेको थियो।